सांसद्ले गरे शङ्का !

सांसद्ले गरे शङ्का !


नेपाली काङ्ग्रेसका युवा नेता एवम् प्रदेश सभाका सदस्य नरोत्तम वैद्यले हेलिकोप्टर दुर्घटना सुनियोजित हुन सक्ने भन्दै पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानबीन आयोग गठन गर्न माग गरेका छन् ।

प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य वैद्यले शुक्रबार (फागुन १७ गते) एक विज्ञप्ति जारी गरी दिवङ्गत सबैमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै भनेका छन्– ‘नेपाल सरकारका एक महत्वपूर्ण मन्त्रालय सम्हालेका मन्त्री सवार हेलिकोप्टर यसरी दुर्घटना हुनुलाई सामान्य रूपमा लिनु गलत हुनेछ । क्याप्टेन र टावरको संवादले मौसम हेलिकोप्टर उडान प्रतिकूल भएका कारण क्याप्टेनले उडाउन सकिँदैन भन्दाभन्दै उनलाई हेलिकोप्टर उडाउन कसले ? किन बाध्यता पाऱ्यो ?

हेलिकोप्टर उडाएदेखि विस्फोटन हुँदासम्मको भिडियो खिच्नुको तात्पर्य के हो ? किन र कसले केका लागि यो भिडियो खिचिएको थियो ? यो पनि रहस्यमय देखिन्छ ।

सडकमा गुड्ने सवारीसाधन चलाउने चालकले त अनेकन प्राविधिक कुरालाई हेक्का राख्छ । ऐन–नियमको पालना गर्छ भने हेलिकोप्टर उडाउन के कुनै नियम पालनाको अनुसरण गर्नुपर्दैन थियो ? यी र यस्तै कारणहरूले यो दुर्घटना भवितव्य नभई सुनियोजित हुन सक्ने आशंका थपिदिएको छ ।

नेपाली राजनीतिका एकजना उदीयमान नेता सरकारको जिम्मेवार मन्त्रीसँगै सातजनाको मृत्यु हुने गरी भएको दुर्घटनालाई सामान्य छानबिन समिति गठन गरेर सरकारले घटनालाई सरासर ढाकछोप गर्न खोजेको देखिन्छ ।

एकातिर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र एक दिन सार्वजनिक शोक बिदा दिने अर्कोतिर घटनाको सत्यतथ्य सार्वजनिक गर्नको लागि बलियो न्यायिक समिति गठन गर्नमा कन्जुस्याइँ गर्नुले यो दुर्घटनालाई अझ रहस्यमयी बनाएको छ ।

यो घटनालाई गम्भीर रूपमा लिँदै वहालवाला अथवा पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नका लागि नेपाल सरकारसमक्ष म जोडदार माग गर्दछु ।’