‘बिगमर्जर’को आवश्यकता किन देख्छन् अर्थमन्त्री ?

‘बिगमर्जर’को आवश्यकता किन देख्छन् अर्थमन्त्री ?


दुई दिनअघि पूर्वाधार विकास बैंकको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाको संख्या घटाइने संकेत गरेका थिए । धेरै संख्यामा बैंक हुँदा वित्तीय क्षेत्र नियन्त्रणभन्दा बाहिर गएको उल्लेख गर्दै अनिवार्य विगमर्जरको आवश्यकता रहेको बताएपछि मुद्रा तथा पूँजी बजारमा बिग मर्जरको चर्चा चलेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने समयतिर बैंकहरुको बिग मर्जरको विषयले निकै चर्चा पाएको थियो । तर त्यस समयमा बिग मर्जरमा जान बैंकहरुलाई दबाब दिँदा शेयर बजारमा अत्याधिक वृद्धि हुन सक्ने, अर्थतन्त्रका अन्य सूचकहरु प्रभावित हुन सक्ने लगायतका सम्भावना देखाउँदै अर्थमन्त्री खतिवडाले बैंकहरुको मर्जर अनिवार्य नभएर स्वच्छिक हुनुपर्ने धारणा राखेका थिए ।

तर पछिल्लो समय बैंकहरुको संख्या धेरै हुँदा निक्षेपमा अस्वस्थ प्रतिस्पर्धा भएपछि ब्याजदर बढ्न गई उत्पादनमुलक क्षेत्र समेत प्रभावित भएको छ । यसले गर्दा स्वयं अर्थमन्त्री नै आलोचित हुनुपरेको छ । त्यसैले फेरि अहिले अर्थमन्त्री आफैले बैंकहरुको मर्जर आवश्यक भएको बताएका छन् ।

नेपालको अर्थतन्त्रको आकार करिब ३१ खर्बको छ । बैंक तथा वित्तीय क्षेत्रमा निक्षेपको आकार ३१ खर्बभन्दा माथि छ । बैंकहरुको कर्जा लगानी पनि २६ खर्बभन्दा माथि छ । तर बैंकको कर्जा लगानी उत्पादन मुलक क्षेत्रमा निकै कम रहेकाले अर्थतन्त्रको आकार बढन सकेको छैन् ।

यसले गर्दा बैंकहरुबीच निक्षेप तानातानको अवस्था सिर्जना भएको छ । जसको असर ब्याजदरमा परेको छ । ब्याजदरको प्रभाव उद्योग व्यवसायमा परेको छ । त्यसैले पनि अर्थमन्त्री खतिवडाले बिग मर्जरको कुरा उठाएको हुन सक्छ । त्यसैले फेरि अर्थबजारमा बिग मर्जरका सम्बन्धमा चर्चा बढेको छ ।