घात–अन्तर्घात सँगै
बजारमा हल्ला चलेको थियो– ‘जीवनराम श्रेष्ठले चुनाव जित्ने भए ओलम्पिक कमिटीको चुनाव नै हुँदैन । तर, हालै सम्पन्न नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा त्यस्तो कुनै दृश्य देखिएन । ओलम्पिक कमिटीको निर्वाचन शान्त, हार्दिकता, लोकतान्त्रिक र पारदर्शिताका साथ सम्पन्न भयो । विभिन्न पदका लागि उम्मेदवारी दिएकाहरूबीच देखिएको आपसी मित्रतालाई विश्लेषण गर्ने हो भने ओलम्पिक कमिटीको निर्वाचन उदाहरणीय बनेको थियो । सत्य के हो भने ओेलम्पिक कमिटीको निर्वाचनमा एमाले पार्टीकै सदस्यहरू दुई गुटमा विभाजित भएका थिए । उनीहरूले निर्वाचनमा एक–अर्कामा हाबी हुने प्रयत्न पनि गरेका थिए । तर, लोकतान्त्रिक अभ्यासमा एउटाको मात्र विजय सम्भव हुने भएकाले त्यसमा जीवनराम श्रेष्ठले बाजी मारे । उनको गुटले ओलम्पिकमा कब्जा जमाउन सफल भयो । त्यसमा जीवनरामका निकै विश्वासपात्रमा चिनिने नेपाल टेबुलटेनिस सङ्घका अध्यक्ष चतुरानन्द वैद्य कसरी असफल भए त्योचाहिँ निकै चासो विषय बनेको छ । ओलम्पिक निर्वाचनअघि सर्वाधिक मत ल्याउने उम्मेदवारका रूपमा वैद्यलाई हेरिएको थियो । तर, वैद्य घात–अन्तर्घातको सिकार बन्न पुगे, उनलाई उनकै गुटले ओलम्पिकबाट लखेटिदियो । अन्यथा जीवनराम र टेन्डीको १७ भोट आउँदा वैद्यको कसरी १३ भोट मात्रै आयो सोझै अनुमान लगाउन सकिन्छ ।
ओलम्पिक कमिटीको निर्वाचन गत महिना प्राविधिक कारण स्तगित भएपछि भदौ १७ गते हुने कुरामा समेत शङ्का उत्पन्न भएको थियो । एक महिनाभित्रमा भएको राजनीतिक चलखेलले एक महिनाअघि अध्यक्ष पदका लागि एक्लो उम्मेदवारको रूपमा रहेका जीवनराम श्रेष्ठकोे विरुद्धमा सौता हालेको थियो । अर्थात् जीवनरामका विरुद्धमा उनकै पार्टी एमालेका सदस्य अर्थात् सहकर्मी उमेशलाल श्रेष्ठले उम्मेदवारी दिई चुनौती पेस गरेका थिए । पहिले उपाध्यक्ष पदमै आफ्नो स्थान सुरक्षित देखेका उमेशलालले किन अध्यक्ष पदमा आफूलाई उभ्याए त्यो अहिले बुझिनसक्नुभएको छ । पहिले जीवनरामलाई अध्यक्षमा सहयोग गर्ने र आफू उपाध्यक्ष बन्ने कुरामा सहमति भइसकेको अवस्थामा उमेशलालको उम्मेदवार किन र कसरी प-यो त्यसको पोस्टमार्टम भविष्यमा अवश्य हुनेछ । तर, अहिले उमेशलालले पाएको नौ मतको भने विशेष चर्चा भएको छ । १८ मत प्राप्त गर्ने र ओलम्पिक कमिटीको कुर्सीमा विराजमान हुने सपना देखेका उमेशलालको सपना कसले चकनाचुर पा-यो त्यो खुद उमेशलालले बुझ्न सकेका छैनन् । तर, परिणाम भने ठीक उल्टो आयो, उमेशलालले जुन अड्कल र अनुमान गरेर ढुक्क बनेका थिए त्यसमा उनी असफल भए । निर्वाचनको अन्तिम परिणाममा जीवनरामले १७ मत पाए भने उमेशलाल नौ भोटमै सीमित रहे । सुनिनमा आएअनुसार एमालेको हाइकमान्डको दबाबका बाबजुद आफू एनओसीको निर्वाचनमा असफल भएपछि यतिबेला उमेशलाल मुखले मात्रै जीवनरामलाई रामराम भन्ने अवस्थामा पुगेको थाहा भएको छ । र पनि उमेशलालले निर्वाचनमा हारजित भइहाल्छ, दुर्भाग्यवश म हारँे भन्दै आएका छन् । साथै ओलम्पिकको निर्वाचन हुनुपथ्र्यो, त्यो भएको छ भन्दै प्रशंसा र खुसी व्यक्त गर्नसमेत पछि परेका छैनन् ।
त्यस्तै, महासचिव पदका लागि छिमी उर्केन गुरुङ, लामा टेन्डी शेर्पा र दीपराज गुरुङको उम्मेदवारीले ओलम्पिक कमिटीको निर्वाचनमा ‘नौलो राजनीतिक रङ’ प्रस्तुत गरेको थियो । यसअघि लामालाई उपाध्यक्ष, छिमीलाई महासचिव बनाउने चर्चा चले पनि दीपराज गुरुङको भने कुनै चर्चा थिए । गुरुङको उम्मेदवारीले महासचिवको पद रोमाञ्चक मोडमा पुगेको थियो, अर्थात् यसका लागि कडा टक्कर हुने विश्वास गरिएको थियो । तर, निर्वाचनको परिणामले त्यस्तो केही देखाएन । अनुमान र अड्कल सबै गलत सावित भए । गुरुङ मात्र आफ्नो एक भोटमा सीमित भए । गुरुङले मात्र एक भोट मात्र प्राप्त गरेपछि उनले के प्रयोजनका लागि महासचिवमा उम्मेदवारी दिएका थिए त्यसमाथि गम्भीर प्रश्न खडा भएको छ । अन्यथा दीपराज गुरुङको आफ्नो एक भोट मात्र पाउने व्यक्तित्वचाहिँ पक्कै होइन । अर्को कुरा उनी नेपालको सबैभन्दा सफल खेल नेपाल तेक्वान्दो सङ्घका महासचिव पनि हुन् । त्यस्तै ओलम्पिक कमिटीमा स्वच्छ छवि बनाएका र अध्यक्ष ध्रुवबहादुर प्रधानले समेत लबिङ गरेका छिमी उर्केन गुरुङको पराजय पनि एनओसीमा चर्चाको विषय बनेको छ । छिमीले मात्र आठ मत पाएका थिए भने प्रतिद्वन्द्वी लामा टेन्डी शेर्पाले १७ मत पाएका थिए । जुन आफैँमा अविश्वसनीय र अपत्यारिलो थियो । यसर्थमा छिमी नै निर्वाचनअघि महासचिवमा विजयी हुने अड्कल गरिएको थियो । तर, निर्वाचनको परिणामले छिमीलाई ओलम्पिक कमिटीको कार्यसमितिबाट बाहिर धकेलिदिएको छ । उनी अहिले भूपू ओलम्पिक पदाधिकारी बनिसकेका छन् । उनी घात–अन्तर्घातको सिकार भए–भएनन् त्यसको कुनै पुष्टि नभए पनि आफ्नो पराजयप्रति छिमी अवाक भने अवश्य भएका छन् । त्यस्तैै भाग्यले साथ दियो भने डोकामा दूध दुह्यो भने पनि अडिन्छ भनेझैँ यो निर्वाचन लामा टेन्डीका लागि त्यस्तै बनेको छ । विभिन्न हर्कत गरेर विवादको घेराबाट कहिल्यै बाहिर उम्कन नसके पनि लामाले पाएको सफलता आफैँमा उदारणीय, कीर्तिमानी र ऐतिहासिक बनेको छ । भाग्यमा भएपछि जस्तै विरोध अवरोधले पनि केही बिगार्न नसक्ने वास्तविकता उनमा लागू भएको छ । उनले कसरी जितेभन्दा पनि भाग्य बलियो भएरै जितेका हुन् भदा फरक नपर्ला । अन्यथा लामाको व्यक्तिव्यदेखि खेलकुदमा को परिचित थिएन र ? यसै सहमहासचिवका लागि निकै कमजोर आँकिएका नेपाल बक्सिङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठले ‘लक्की ड्र’मा लक्की सावित भएपछि अहिले ओलम्पिकमा खैलाबैला मच्चिएको छ । उनको जितलाई कसैले पनि आत्मसात् गर्न सकेका छैनन् । सबै चकित भएका छन् । यस्तो कसरी भयो भनेर ।
बिनाविवाद र हस्तक्षेप गत साता शान्त वातावरणमा नेपाल ओलम्पिक कमिटीको निर्वाचन सम्पन्न भएको छ । निकै पारदर्शिता अपनाइएको उक्त निर्वाचनमा एनओसीको नवअध्यक्षमा जीवनराम श्रेष्ठ विजय भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई पराजित गर्दै चारवर्षे कार्यकाल सुनिश्चित गरेका छन् । त्यस्तैै १७ सदस्यीय नेपाल ओलम्पिक कमिटीको कार्यसमितिमा चारजना उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, धीरेन्द्रकुमार प्रधान, राजेन्द्र वान्तवा र ज्योति राणा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा लामा टेन्डी शेर्पा र सहमहासचिवमा राजीव श्रेष्ठ चुनिएका छन् । कोषाध्यक्षमा नेपाल भारत्तोलन सङ्घका अध्यक्ष रतनकुमार टन्डनलाई निर्विरोध चुनिएको छ । यसैगरी नौ सदस्यका लागि एघारजना प्रतिस्पर्धामा उत्रिए पनि सुनीलकुमार श्रेष्ठ, तेजबहादुर गुरुङ, आङदेन्डी शेर्पा, सञ्जीव तुलाधर, रमेशकुमार श्रेष्ठ, अशोक बज्राचार्य, नीलेन्द्रराज श्रेष्ठ, दीपकहर्ष बज्राचार्य र समिममियाँ अन्सारी चुनिएका छन् ।
नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठले यो विजयलाई स्थायित्व र विकास चाहनेहरूको जित भएको संज्ञा दिएका छन् । श्रेष्ठले पार्टीगत रूपमा नभई खेलकुदको मूल्य र मान्यतालाई आधार बनाएर भविष्यमा अघि बढ्ने बताए । अहिले पनि आफ्नोसामु निकै चुनौती रहेको स्वीकार गर्दै सर्वप्रथम विवादित सङ्घहरूको विवाद मिलाउने बताएका छन् । वर्तमान अवस्थामा एकै खालका दुई सङ्घ रहेको स्मरण गराउँदै जसको प्रत्यक्ष असर खेलाडीमा परेको भन्दै आफ्नो पहिलो प्रयास यसैमा केन्द्रित रहने खुलासासमेत गरे । त्यस्तै ओलम्पिक मूल्य र मान्यताको स्थापना गराउँदै उत्कृष्ट खेलाडी तयार पारेर अन्तर्राष्ट्रियस्तरमा सफलता हात पार्न आफ्नो प्रयास रहने बताएका छन् । ओलम्पिक विवादको समाधान गर्न रुक्मशमशेर राणासँग सहमति भइसकेको र केही दिनमा अन्य कुराको टुङ्गोसमेत लाग्ने बताएका छन् । यसर्थमा कि ओलम्पिक कमिटीको निर्वाचनले ओलम्पिक विवादको समाधानको सङ्केतसमेत गरेको श्रेष्ठको कथन थियो ।
गुरुङलाई गणेशमानको लौरो
हालै सम्पन्न नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा नेपाल तेक्वान्दो सङ्घका महासचिव दीपराज गुरुङलाई गणेशमानको लौरो प्राप्त भएको छ । एनओसीको महासचिवमा उम्मेदवारी दिएका गुरुङले एक मात्र मत प्राप्त गरेपछि उनलाई गणेशमानको लौरो प्राप्त भएको हो । उनले प्राप्त गरेको मत खुद आफैँले आफैँलाई दिएको मत हो । नम्बर एक खेल तेक्वान्दोका नम्बर एक प्रशिक्षक भएकाले ओलम्पिक कमिटीका अन्य उम्मेदवारले गुरुङलाई नम्बर एकमै यथावत् राख्न भोट नदिएको खुलासा भएको छ । गुरुङलाई नम्बर एकमै राख्न अन्य उम्मेदवारहरू किन सहमत भए त्यो खोजीको विषय बने पनि उनले पाएको एक मतले ओलम्पिकमा गुरुङको हैसियतको पर्दाफास भने भएको छ । गत महिना स्थगित भएको ओलम्पिकको निर्वाचनमा कुनै छनकसमेत नदेखाएका गुरुङले एक्कासि भदौ १७ गते सम्पन्न निर्वाचनमा महासचिवमा उठेपछि उनको चर्चा चुलिएको थियो । उनको महासचिवमा उम्मेदवारीसँगै विभिन्न अनुमान र अड्कल काटिन थालिएको थियो । तर, विडम्बना ! निर्वाचनमा परिणामपछि उनको उम्मेदवारी किन र केका लागि थियो त्यसको भेउ पाउन सकिएको छैन । अन्यथा दीपराज गुरुङजस्तो व्यक्तित्व उठ्नकै लागि मात्र महासचिवमा कदापि उठने थिएन । यसमा ठूलो रहस्य छिपेको छ भन्दा अतिशयोक्ति नहोला । अर्को कुरा उनले एक मत पाएर कति सफल वा असफल भए त्यो भविष्यमा अवश्य खुलासा हुने नै छ ।
चतुरा अन्तर्घातको सिकार
नेपाल ओलम्पिक कमिटीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठका विश्वास पात्रको रूपमा परिचित नेपाल टेबुलटेनिस सङ्घका अध्यक्ष चतुरानन्द वैद्यको पराजयसँगै जीवनराम श्रेष्ठको विजय पनि नुन हालेको तरिकारीजस्तै अनिलोे बनेको छ । जीवनरामलाई कसैले साथ नदिएको अवस्थामा पनि हाकहाकी साथ दिएका वैद्यलाई निर्वाचनमा आफ्नै गुटका साथीहरूले विश्वास नगरेपछि उनी अहिले ओलम्पिक कार्यसमितिबाट खेदिएका छन् । निर्वाचनपूर्व वैद्यलाई सार्वधिक मत ल्याएर विजय हुने अड्कल काटिएको थियो । त्यसमा वैद्य पनि ढुक्क थिए । तर, निर्वाचनको परिणाम अविश्वसनीय र अकल्पनीय आएपछि उनको कपालजस्तै अनुहार पनि सफेद भएको थियो । ओलम्पिकको उपाध्यक्षमा बस्न नमानेर सहमहासचिवमा उम्मेदवारी दिएका चतुराले पाएको १३ मत प्रतिद्वन्द्वी राजीव श्रेष्ठको मतसँग बराबरी भएको थियो । त्यसपछि ‘लक्की ड्र’मा चतुरा असफल भएका थिए । आफ्नै गुटका जीवनराम श्रेष्ठ र लामा टेन्डी शेर्पाले १७ मत पाउने, तर वैद्यले मात्र किन १३ मत पाए यहाँ उनीमाथि ठूलो षड्यन्त्र र अन्तर्घात भएको छ । आफ्नै गुटका चारजना जसले वैद्यलाई मत दिएनन् यसको पहिचान गर्नु अध्यक्ष जीवनरामको कर्तव्य भएको छ ।
राजीवलाई भगवान्को भोट
नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा नेपाल बक्सिङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठ भाग्यमानी सावित भएका छन् । ओलम्पिक कमिटीको निर्वाचनअघि सबैैभन्दा कमजोर उम्मेदवारको रूपमा देखिएका राजीव सहमहासचिवमा उठेका थिए । उनको प्रतिद्वन्द्वीको रूपमा चतुरानन्द वैद्य उठेपछि राजीव सहजै पराजित हुने अनुमान गरिएको थियो । तर, निर्वाचनको परिणामले सबै अड्कल र अनुमानहरूलाई गलत सावित गरिदियो । २६ मतमध्ये दुवैले समान १३–१३ मत पाएपछि राजीव मख्ख थिए भने चतुरा ट्वाँ परेका थिए । त्यसपछि भएको ‘लक्की ड्र’मा राजीवले बाजी मारेपछि त ओलम्पिक कमिटीका पदाधिकारीहरूको अनुहार हेर्नलायक बनेको थियो । उनीहरूको कल्पनाबाहिरको परिणाम आए पनि राजीवले ओलम्पिक कमिटीभित्र कति मित्र कमाएका रहेछन् त्यो प्रस्ट भएको छ । अन्यथा राजीवलाई ओलम्पिकबाट लखेट्न साम, दाम, दण्ड, भेद सबै नीतिको प्रयोग गर्नेहरू यसरी असफल हुने थिएनन् । राजीवलाई जिताउन उनका सहकर्मी साथी र शुभचिन्तकहरूले अहम् भूमिका निर्वाह गरेका थिए । यो विजयसँगै राजीवले आफू दुवैजना ‘लुजर’ भएको प्रतिक्रिया दिएका छन् ।
छिमीलाई कलियुगको उपहार
ओलम्पिक कमिटीको निर्वाचनमा महासचिव पदमा उठेका नेपाल साइक्लिङ सङ्घका अध्यक्ष छिमी उर्केन गुरुङ निर्वाचनको परिणामपछि चकित परेका छन् । ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानको समेत साथ पाएका छिमीले महासचिवमा जित्ने प्रायः निश्चित थियो । दुर्भाग्य, उनी गुटको सिकार बन्न पुगे । ओलम्पिक कमिटीमा स्वच्छ छवि बनाएका छिमीले साथीहरूको साथ पाउने विश्वास पनि गरेका थिए । तर, स्वच्छ छवि र अस्वच्छ छविबीच भएको प्रतिस्पर्धामा ओलम्पिक कमिटीका पदाधिकारी तथा भोटरहरूले अस्वच्छ छविलाई रोजेपछि उनी चकित परेका हुन् । उनको पराजयसँगै अहिले ओलम्पिक कमिटीको कार्यसमितिमा पुगेकाहरू ओलम्पिक कमिटीलाई कसरी चलाउन चाहन्छन् त्यो पनि प्रस्ट भएको छ ।
आफ्नो पराजयप्रति अवाक बनेका छिमीले लोकतान्त्रिक प्रक्रियालाई स्वीकार गरे पनि यो कलियुग हो भन्नचाहिँ चुकेनन् । कलियुगमा यस्तै छविको दबादबा रहन्छ, राम्रो काम गर्नेहरूलाई अवसर मिल्दैन यो कुरा शास्त्रमा पनि उल्लेख गरिएको छ । उनले शास्त्रको यही कुरालाई आत्मसात् गर्दै आफ्नो पराजयलाई पनि कलियुगको उपहारको रूपमा स्वीकार गरेका छन् । साथै आफूलाई ओलम्पिकबाट बाहिर पठाउन विवेक प्रयोग गरेका साथीहरूलाई धन्यवाद भनेका छन् ।
खेल समाचार
उज्ज्वल भविष्यका लागि मनिता अमेरिका प्रस्थान
चर्चित तेक्वान्दो खेलाडी मनिता शाहीले राष्ट्रिय टिमबाट बिदा लिएकी छिन् । टोलीकी कप्तानसमेत रहेकी तेक्वान्दो स्टार शाहीले व्यक्तिगत कारणले टिम छाडेको बताएकी छिन् । टिम छाडेलगत्तै मनिता अमेरिका प्रस्थान गरेकी थिइन् । तेक्वान्दो राष्ट्रिय टोलीले उनलाई राष्ट्रिय तेक्वान्दो प्रशिक्षण हलमा औपचारिक रूपमा बिदाइ गरेको थियो भने तेक्वान्दो सङ्घले सम्मानपत्र प्रदान गरेको थियो ।
बिदाइ कार्यक्रममा मनिताले ‘तेक्वान्दो नै मेरो जीवन बन्यो, म यसैमा रमाएँ । तर, व्यक्तिगत र स्वास्थ्यका कारणले राष्ट्रिय टोली छाड्दा दुःख लागेको छ । उनले भनिन्, ‘म जहाँ रहे पनि तेक्वान्दोप्रतिको समर्पणमा कमी आउने छैन ।’ बिदाइ कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै तेक्वान्दो सङ्घका उपाध्यक्ष हरिश्वर पोखरेलले मनिता उदाहरणीय खेलाडी भएको भन्दै पछिल्लो पुस्ताले पनि उनलाई अनुशरण गर्नुपर्ने बताए । तेक्वान्दो सङ्घका महासचिव दीपराज गुरुङले मनिताको खेलजीवनको महत्वपूर्ण पाटोबारे प्रकाश पारेका थिए । त्यस्तै तेक्वान्दोका मुख्य प्रशिक्षक ध्रुव गुरुङले मनिताले तेक्वान्दोमा गरेको उच्च प्रदर्शन सधैँ स्मरण गरिने बताएका थिए । मुख्य प्रशिक्षक गुरुङले समग्र तेक्वान्दो खेलको विकासमा मनिताले गरेको योगदान र पाएको सफलता अविष्मरणीयसमेत चर्चा गरेका थिए ।,
वरिष्ठ तेक्वान्दो सहायक मुख्य प्रशिक्षक अर्जुन विकले मनितासँग नेपाली तेक्वान्दोको साथ छुट्नु पीडादायक भए पनि उनको सुखद भविष्यको कामना गरेका थिए । बिदाइ कार्यक्रममा वरिष्ठ तेक्वान्दो प्रशिक्षक मीन थापा, पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवर, तेक्वान्दो सङ्घका सदस्य कविराज खड्गीलगायत राष्ट्रिय टोलीका खेलाडी उपस्थित थिए । प्रशिक्षक हेमन्त डाँगीले कार्यक्रम सञ्चालन गरेका थिए ।
बन्द, हडताल अन्त्य गर्न आग्रह
पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद २०७२ का लागि गठित मूल आयोजक समितिले खेलकुद शान्ति, मैत्री र सहकार्यको पर्याय भएको हुँदा देशको खेलकुदको महोत्सवका रूपमा सञ्चालन हुन गइरहेको सातौँ राष्ट्रिय खेलकुदलाई व्यवस्थित, आकर्षक र स्मरणयोग्य बनाउन देशमा हाल भइरहेको बन्द, हडतालसहितका हिंसात्मक गतिविधिहरू अन्त्य गर्न आग्रह गरेको छ ।
विराटनगरमा गतसाता मूल आयोजक समितिका अध्यक्ष एवम् युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले आफ्ना समस्या शान्तिपूर्ण रूपमा प्रस्तुत गर्न र वार्ताका माध्यमबाट समाधान गर्न सम्पूर्ण सरोकारवाललाई अपिल गरेको छ ।
त्यस्तै राष्ट्रिय खेलकुद भव्यतापूर्वक सम्पन्न गर्न नागरिक समाज, बुद्धिजीवी, उद्योगी, व्यवसायी, व्यापारी, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, खेलाडी, खेलकर्मी, पत्रकारलगायत आमजनसमुदायलाई सहयोग गर्नसमेत अपिल गरिएको छ ।
सदस्यसचिव अबुधावी प्रस्थान
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट यूएईको अबुधावी प्रस्थान गरेका छन् । विश्व चेस महासङ्घको साधारण सभा तथा सोही अवसरमा नेपाल बुद्धिचाल सङ्घलाई एसियन चेस महासङ्घले प्रदान गर्ने एक्सेलेन्स अवार्डमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको नेपाल चेस सङ्घका सचिव हेराकाजी महर्जनले जनाएका छन् । नेपालमा बुद्धिचालको विकास र विस्तार गर्ने क्रममा नेपालमा चेसको गतिविधि एसियामा नै उत्कृष्ट भएको ठहर गर्दै नेपाललाई उक्त अवार्डबाट सम्मान गरिन लागेकोसमेत सचिव महर्जनले जानकारी गराएका छन् ।
सो अवसरमा सदस्यसचिव विष्टले विभिन्न प्रतियोगितामा सहभागिता जनाउन जान लागेका चेस खेलाडी तथा आर्बिटरलाई परिषद्मा बिदाइ गरेका थिए । ब्रुनाईमा आयोजना हुने एसियन एम्योच्योर चेस च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीमा धर्मबहादुर लामा र भूपेन्द्र निरौला रहेका छन् । प्रतियोगिता सेप्टेम्बर ७ देखि १३ सम्म सञ्चालन हुनेछ ।
त्यस्तै मित्रराष्ट्र भारतको सारन्पुरमा सेप्टेम्बर ९ देखि १३ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा सहभागी हुन जाने खेलाडीमा भगवतीप्रसाद शर्मा, विलमलाल श्रेष्ठ, जनार्दन श्रेष्ठ, रामचन्द्र देवकोटा, सञ्जय श्रेष्ठ र विक्रम पिया रहेका छन् । प्रतियोगिताको आर्बिटरमा उमेश केसी रहेका छन् ।
राजधानीबाट सात खेलाडी छानिए
सातौँ राष्ट्रिय खेलकुद– २०७२ अन्तर्गत १५औँ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका लागि काठमाडौंबाट सात पुरुष खेलाडी शनिबार छनोट भएका छन् । ५५ केजीमा रवि महर्जन, ६० केजीमा सुकदेव कार्की, ६५ केजीमा अनिललाल श्रेष्ठ, ७० केजीमा कर्णिक शाक्य, ७५ केजीमा महेश्वर महर्जन, ८० केजीमा नरेश मालाकार तथा ८० केजीमाथि विजयरत्न बज्राचार्य छनोट भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् । राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता असोज १ र २ गते पूर्वाञ्चलको विराटनगरस्थित वीरेन्द्र सभागृहमा हुने महासचिव राजभण्डारीले जानकारी दिएका थिए ।
प्रतिक्रिया