प्रधानमन्त्रीले कारबाही गरे अदालत जाने

प्रधानमन्त्रीले कारबाही गरे अदालत जाने


sportअख्तियारले गलत गरेको दाबी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई कारबाहीका लागि प्रधानमन्त्री सुशील कोइरालालाई पत्राचार गरेपछि अहिले खेलकुदमा नौलो तरङ्ग उत्पन्न भएको छ । अख्तियारले सदस्यसचिव नियुक्तिमा स्वेच्छाचारी र गैरकानुनी कार्य गरेको भन्दै मन्त्री पौडेललाई कारबाही गर्न प्रधानमन्त्रीलाई सिफारिस गरेको हो । गत असार १० गते सदस्यसचिवको नियुक्ति गैरकानुनी भएको भन्दै मन्त्री पौडेलविरुद्ध अख्तियारमा उजुरी परेको थियो । त्यसपछि अख्तियारका कर्मचारीले तीन दिनसम्म राष्ट्रिय खेलकुद परिषद्मा छानबिन गरी महत्वपूर्ण फाइलहरू लिएर गएका थिए । सो क्रममा अख्तियारका कर्मचारीले १७औँ एसियाली खेलकुद प्रतियोगिता कार्यसम्पादन समितिले गरेको निर्णयको फाइलसमेत लगेका थिए । उक्त फाइल गत वर्ष दक्षिण कोरियाको इन्चोनमा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा हराएका खेलाडी र सम्बन्धित खेलका म्यानेजरलाई गरिएको कारबाहीको निर्णय थियो । सो कार्यसम्पादन समितिको अध्यक्ष स्वय् खेलकुदमन्त्री पौडेल थिए । सुनिनमा आएअनुसार उक्त कार्यसम्पादन समितिले कोरियामा हराएका खेलाडीलाई दश वर्षसम्म कुनै पनि खेल खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो भने म्यानेजरलाई एक वर्ष । तिनै म्यानेजरमध्ये एक सदस्यसचिव केशव विष्ट पनि परेका थिए । विष्ट इन्चोनमा सेपाकताक्रो म्यानेजरको रूपमा गएका थिए ।
त्यस्तै अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले मन्त्री पौडेलले पदीय आचरणको दुरुपयोग गरेको बताउँदै सदस्यसचिवको नियुक्ति गैरकानुनी भएको ठोकुवा गरेका छन् । सदस्यसचिवको नियुक्तिमा पौडेलले स्वविवेक प्रयोग गरेको र कानुनबमोजिम जसलाई सदस्यसचिव बनाउनु हुँदैनथ्यो उसैलाई सदस्यसचिव बनाइएको प्रवक्ता पुष्करले बताएका छन् । साथै मन्त्री पौडेल आफ्नो पदीय दायित्व बिर्सिएर अर्कै उद्देश्यवाट प्रेरित भई नियम–कानुनको समेत अपहेलना गरेको अख्तियारको ऐनअनुसारको अनुचित कार्य गरेको पुस्टि हुन आएकाले पौडेललाई कारबाहीका लागि प्रधानमन्त्रीकहाँ पत्राचार गरिएको प्रवक्ता पुष्करले बताएका छन् । तर, अख्तियारले यो मुद्दालाई प्रधानमन्त्रीको साटो अदालतमा कारबाहीका लागि किन पठाएन त्यो रहस्यको विषय बनेको छ । तसर्थ अख्तियारको यो कार्यलाई कसैले राजनीतिक खेलको संज्ञा दिएका छन् भने कसैले नाङ्लो ठटाएर हात्ती तर्साउने खेल भएको टिप्पणी गरेका छन् । अख्तियारले कारबाहीका लागि अदालतमा मुद्दा पेस गर्नुको साटो प्रधानमन्त्रीलाई कारबाहीका लागि पत्राचार गर्नुले पनि अहिले अख्तियारको नियतमाथि नै शङ्का गरिन थालेको छ । सदस्यसचिव नियुक्ति गर्दा पार्टीलाई बाइपास गरेका मन्त्री पौडेललाई त्यसैबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले रातो झन्डा देखाएका थिए । तर, अहिले यो बल प्रधानमन्त्री सुशील कोइरालाको कोर्टमा पुगेको छ । अख्तियारले विपरीत मौसममा फ्याँकेको यो बललाई कोइरालाले कसरी आत्मसात् गर्छन् र हरियो झन्डा देखाउँछन् कि देखाउँदैनन् त्यो अहिले अहम् विषय बनेको छ । प्राप्त जानकारीअनुसार आफ्नो मन्त्रिमण्डलमा मन्त्री पौडेल कोइरालाका प्रिय पात्रको रूपमा चिनिन्छन् । यस्तो अवस्थामा अख्तियारको फ्याँकेको बललाई कोइरालाले लात्ताले हान्दै पोस्ट बाहिर पठाए भने अन्यथा मान्नुपर्ने छैन । यदि कोइरालाले गोल गरे भने मन्त्री पौडेल अदालत जाने पक्का छ ।
असार १० गतेको निवेदनको आधारमा अख्तियारले छानबिन गरी मन्त्री पौडेललाई कारबाहीका लागि प्रधानमन्त्रीका सिफारिस गरेपछि मन्त्री पौडेलले अख्तियारको निर्णयप्रति असन्तुष्टि प्रकट गरेका छन् । मन्त्री पौडेलले सत्यतथ्य आधार र प्रमाणबिना नै कुनै निर्णय हुनु र त्यसलाई सार्वजनिक गरिनु अत्यन्तै दुःखको कुरा भएको बताएका छन् । साथै मन्त्री पौडेलले राखेपको सदस्यको अयोग्यतासम्बन्धी खेलकुद विकास ऐन २०४८ को दफा ७ मा व्यवस्था भएको बताउँदै आफूले त्यसलाई विशेष रूपमा अध्ययन गरी सदस्यसचिवको नियुक्ति गरेको प्रस्ट पारेका छन् । त्यस्तै, माथि उल्लेखित ऐनको कुनै पनि व्यवस्थाले राखेपको सदस्य र सदस्यसचिवमा केशव विष्टलाई नियुक्ति गर्न बाधा नगरेको पुष्टि गर्दै अख्तियारले अनुचित कार्य भनी निर्णय गर्न नमिल्ने बताएका छन् । अख्तियारले राखेप, राष्ट्रिय खेल सङ्घ सहजीकरण कार्यविधि २०७० को परिच्छेद १० को दफा १०.४ अनुसार निलम्बन वा खारेजीमा भएको राष्ट्रिय सङ्घ र सङ्घको पदाधिकारी तथा सदस्यले कुनै खेलकुद गतिविधि सञ्चालन गर्न, सहभागी हुन र सरकारी सुविधा प्रयोग गर्न पाउनेछैन भनी स्पष्ट किटानी व्यवस्था गरेको हुँदा एक वर्षका लागि जिम्मेवारीबाट मुक्त भई कारबाहीमा परेको व्यक्तिलाई सदस्यसचिवजस्तो मर्यादित एवम् गरिमामय पदमा नियुक्ति गरेको देखिँदा भनि निर्णय गरेको देखिन्छ जुन शतप्रतिशत गलत भएको मन्त्री पौडेलले जानकारी गराएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्लाई उक्त कार्यविधिको नियम ११.६ बमोजिम सम्बन्धित सङ्घको समन्वयमा अन्तिम कारबाही गर्ने अधिकारको व्यवस्था भएको मन्त्री पौडेलले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ । जसअनुसार राखेपमा विष्ट र उनी सम्बन्धित खेलकुद सङ्घलाई कुनै कारबाही भएको छैन । कार्यविधिकै नियम १०.३ मा सङ्घ विघटन वा खारेजी गर्नुभन्दा पहिले सफाइ पेस गर्न मौका दिइनेछ भन्ने पनि व्यवस्था गरिएको छ । तर, परिषद्बाट यस्तो कुनै प्रक्रिया अगाडि नबढाएको मन्त्री पौडेलले खुलासा गरेका छन् । त्यस्तै अख्तियारले राखेपले २०७१/७/२० मा व्यवस्थापकहरूलाई एक वर्षका लागि सङ्घको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको उल्लेख गरे पनि सो समयमा कुनै पनि बैठक नबसेको र सो सरासर गलत भएको मन्त्री पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा जनाईएको छ । त्यस्तै राखेपलाई निर्देशिकाले कारबाही गर्न दिएको अधिकारलाई कुनै व्यक्तिले टिप्पणी सदर गरेको भनी अख्तियारले आधारको रूपमा ग्रहण गर्नु गैरकानुनी हो जसलाई मन्त्री पौडेलले दुर्भाग्यको संज्ञासमेत दिएका छन् । तसर्थ कानुनबमोजिम अख्तियारी पाएको निकायबाट कुनै कारबाही नै नभएको व्यक्तिलाई कारबाही भएको भनी निर्णय हुनु आफैँमा दुःखद् कुरा भएको मन्त्री पौडेल बताएका छन् । त्यस्तै मन्त्री पौडेलले ०७१/७/५ मा खेलकुद मन्त्रालयद्वारा प्रेषित पत्रबारे जानकारी गराउँदै कुनै खेल सङ्घ, कर्मचारी र व्यवस्थापकलाई कारबाही गर्ने निकाय मन्त्रालय नभएको स्पष्ट पारेका छन् । उनले यो अधिकार राखेपमा निहित रहेको खुलासा गर्दै विष्टप्रति यस्तो कारबाही राखेपले नगरेको प्रस्ट पारेका छन् । पौडेलले अख्तियारले मन्त्रालयले कारबाही गरेको व्यक्ति भनेर उल्लेख गरे पनि ती सबै कुरा झुटो भएको दाबीसमेत गरेका छन् । त्यस्तै सबै कुरा ऐनाजस्तै छर्लङ्ग हुँदासमेत कुन उद्देश्यबाट प्रेरित भएर अख्तियारले आफूलाई कारबाही गर्ने निर्णय ग-यो त्यो आफूले बुझ्न नसकेको र जुन लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको विरुद्धमा भएको मन्त्री पौडेलले दाबी गरेका छन् ।
त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टले आफ्नो नियुक्ति कानुनसम्मत भएको प्रस्ट पारेका छन् । विष्टले कार्यसम्पादन समितिले आफूलाई कारबाहीका लागि सिफारिस गरेको हल्ला सुने पनि आफूसँग कुनै स्पष्टीकरण नलिएको बताएका छन् । जब हल्लाको भरमा आरोप लगाइन्छ र उससँग कुनै स्पष्टीकरण सोधिँदैन, त्यो आरोप निराधार हुन्छ– विष्टले भने । सुनिनमा आएअनुसार त्यसबेला मलाई विभागीय कारबाही गर्ने हल्लासमेत चलेको थियो, त्यसबेलाका खेलकुदका पदाधिकारीहरूले मलाई किन कारबाही गर्न सकेनन् त ? उनको प्रश्न थियो । यो सबै मन्त्रीज्यू र मलाई विवादमा तान्ने र बद्नाम गर्ने षड्यन्त्र मात्रै हो । मैले आजसम्म कुनै गलत कार्य गरेको छैन । कोरियामा सेपाकताक्रोका खेलाडी भागे त्यो दुर्भाग्यको कुरा हो । उनीहरूलाई भगाउनमा मेरो कुनै हात छैन । यो कुरा मैले बारम्बार भन्दै आएको छु । मलाई लाग्छ उनीहरू देशकाल, परिस्थितिका कारणले आर्थिक प्रलोभनमा परेर भागेका हुन सक्छन् । तर, सेपाकताक्रोका खेलाडीले देशको बेइज्जत हुने जुन कार्य गरे त्यो क्षमायोग्य भने छैन । त्यस्ता खेलाडीलाई आजीवन प्रतिबन्ध लगाउनुपर्छ । त्यसैले म पुनः दोहो-याउन चाहन्छु– मैले कुनै गल्ती गरेको छैन, म डराउँदिनँ पनि ।
यसरी अहिले अख्तियारको आक्रमणबाट खेलकुद आक्रान्त बनेको छ । एकातिर अख्तियार आफूले गरेको निर्णयलाई लालमोहर लगाउन उद्यत् देखिएको छ भने अर्कोतर्फ अख्तियारको निर्णयलाई गलत सावित गर्न मन्त्री पौडेल ज्यान छोडेर लागेका छन् । यस्तो अवस्थामा अहिले अख्तियार र मन्त्री पौडेलको अस्तित्व दाउमा लागेको छ । भविष्यमा यो युद्धमा कसले विजय पाउँछ त्यो भविष्यकै गर्ममा भए पनि अख्तियार र खेलकुदमन्त्री पौडेलबीच चलेको यो दोहोरीले आमखेलप्रेमीलाई भने निकै जिज्ञासु भने बनाएको छ । उनीहरू पनि यो लडाइँमा कसले बाजी मार्ला भन्ने कुरालाई कुतूहलका साथ नियालिरहेका छन् । नेपालको राजनीति र क्रिकेट खेलबारे केही अनुमान र अड्कल लगाउन नसकिने भएकाले भविष्यमा के होला त्यो प्रधानमन्त्री कोइरालालाई थाहा होला भन्दा अतिसयोक्ति नहोला ।

खेल समाचार
जुनियर खुला लनटेनिस सुरु
अखिल नेपाल लनटेनिस सङ्घको आयोजनामा सातौँ केसा ग्रुप/जेटीआई जुनियर खुला लटेनिस प्रतियोगिता सुरु भएको छ । यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ उमेरसमूहमा ब्वाइज/गल्र्सको सिंगल्समा खेल हुने लनटेनिस प्रशिक्षक सूर्यभूषण बज्राचार्यले जनाएका छन् । १३ वर्ष पूरा गरेका र १७ वर्ष ननाघेका ब्वाइज/गल्र्सको डबल्स पनि हुनेछ । ६ दिनसम्म सातदोबाटोस्थित टेनिस कोर्टमा हुने प्रतियोगिताको कुल पुरस्कार राशि एक लाख रुपैयाँ रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा केसा ग्रुप र सहप्रायोजकमा माथेमादम्पती डा. वसन्त र जाना रहेका छन् । प्रतियोगिता सञ्चालन गर्न करिब चार लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) को प्राविधिक सहयोग रहनेछ । जुनियर टेनिस खेलाडीलाई लक्षित गरी जेटीआई परियोजना नेपालमा २००७ देखि सुरु भएको थियो । अन्तर्राष्ट्रिय टेनिस महासङ्घले जेटीआईलाई आर्थिक सहयोग गरेको छ । प्रशिक्षक बज्राचार्यका अनुसार उपत्यकाका तीन जिल्लामा विभिन्न ११ विद्यालय तथा मोफसलमा पोखरा, हेटौँडा र बुटवलमा जेटीआई परियोजना सञ्चालनमा छन् ।

विश्व पारातेक्वान्दोमा नेपाली टोली
छैटौँ डब्लूटीएफ विश्व पारातेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली टर्कीको साम्सन प्रस्थान गरेको छ । सेप्टेम्बर २७ तारिखमा हुने च्याम्पियनसिपमा पुरुषको के ४३ समूहमा अनित थापा र चिन्ताबहादुर कुँवरले प्रतिस्पर्धा गर्नेछन् । महिलाको के ४४ समूहमा सीता भण्डारीले भाग लिनेछिन् । टिम व्यवस्थापकमा नेपाल तेक्वान्दो सङ्घका सदस्य रवि थापा तथा प्रशिक्षकमा कल्याण कुँवर रहेका छन् ।
त्यस्तै टर्कीमै सेप्टेम्बर १४ देखि १६ तारिखसम्म हुने क्लासिफायर सेमिनारमा नेपालबाट अच्युत्तम लामिछाने र लोकेन्द्र आचार्यले सहभागिता जनाउनेछन् । डब्लूटीएफको बैठकमा सहभागी हुन तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणा र सदस्य कासिम मियाँ पनि टोलीसँग टर्की जाँदै छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिदाइ गरेका थिए । नेपालले विश्व पारा तेक्वान्दोमा दुई पदक जितेको छ । दुवै पदक यादव कुँवरले जितेका हुन् । उनले चौथो र पाँचौँ संस्करणमा क्रमशः कास्य र रजत जितेका थिए ।

स्पोर्टस् अवार्डको तयारी
नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा हालै मञ्चको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा मञ्चका अध्यक्ष अजय फुँयालले सबै खेलपत्रकारलाई शुभकामना दिँदै हरेक वर्ष आयोजना हुने पल्सर स्पोर्टस् मिति चाँडै सार्वजनिक गरिने जानकारी गराए । विनाशकारी भूकम्पका कारण अवार्ड कार्यक्रम ढिलो भए पनि अनुकूल समयमा मितिको घोषणा गर्ने बताए । सो अवसरमा मञ्चका पूर्वअध्यक्ष निरञ्जन राजवंशी, सचिव एवम् नेपाल पत्रकार महासङ्घका सदस्य प्रकाश तिमल्सिना र नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा राष्ट्रिय खेलकुद परिषद्का प्रेस सल्लाहकार रोहित दाहाल आफ्नो धारणा राखेका थिए ।

बुद्धिचालमा नेपाललाई उत्कृष्ट अवार्ड
एसियन चेस फेडेरेसनले नेपाल बुद्धिचाल सङ्घलाई उत्कृष्ट सङ्घको अवार्ड प्रदान गरेको छ । गत वर्ष एसियन मुलुकहरूको तुलनामा उत्कृष्ट खेल तथा चेस खेलको विकासमा सक्रियता देखाएको भन्दै एसियन चेस फेडेरेसनले नेपाललाई उत्कृष्ट अवार्ड प्रदान गरेको हो । यूएईको आबुधावीको नोभोटेल अल बुस्तान होटेलमा भएको भव्य समारोहबीच सो अवार्ड विश्व बुद्धिचाल सङ्घका अध्यक्ष किर्सान इलुम झिनोभले नेपाल खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विस्ट तथा नेपाल चेस एसोसिएसनका अध्यक्ष राजेशहरि जोशीलाई प्रदान गरेका थिए ।
एसियन चेस फेडेरेसनले हरेक वर्ष चेस खेलका विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ । यसपटक नेपालले चेस खेलमा उत्कृष्ट प्रदर्शनसहित राम्रो सक्रियता देखाएको भन्दै फेडेरेसनले नेपाललाई सो अवार्ड प्रदान गरेको नेपाल चेस एसोसिएसनका अध्यक्ष राजेशहरि जोशीले बताए । नेपालले चेसमा अवार्ड जित्नु राष्ट्रको गौरवको कुरा भएको बताउँदै अध्यक्ष जोशीले यो अवार्ड जितेपछि अझ जिम्मेवारी बढेको बताए । नेपालको खेलकुद इतिहासमै नेपालले पहिलोपटक यति ठूलो अवार्ड पाएको चर्चा गर्दै जोशीले छोटो समयमा गरेको ठूलो मिहिनेतले अवार्ड जित्न सफल भएको बताएका छन् । यो अवार्डसँगै नेपालको नाम अन्तर्राष्ट्रिय जगत्मा रोशन भएको पनि भन्दै बुद्धिचाल खेलको विकासको लागि सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद्ले विशेष रूपमा सहयोग गर्नुपर्ने धारणा राखेका थिए । अवार्डसँगै नेपालको चुनौती पनि बढेकाले योभन्दा राम्रो गर्न राखेपले विशेष सहयोग गर्र्नुपर्ने जोशीले बताए ।

ललितपुर जिल्ला बुद्धिचालमा गोपाल
ललितपुर जिल्ला बुद्धिचाल सङ्घको तेस्रो साधारणसभाले गोपाल महर्जन (स्काउट मास्टर)को अध्यक्षतामा नौ सदस्यीय ललितपुर जिल्ला बुद्धिचाल गठन भएको छ । साधारणसभाले उपाध्यक्षमा पुरुषोत्तम थापा, हरिबहादुर महर्जन, सचिवमा मंगल व्यञ्जनकार, कोषाध्यक्षमा सञ्जय महर्जनलाई निर्वाचित गरेको छ । त्यसैगरी सदस्यहरूमा राजभाइ महर्जन, प्रदीप चौलागाईं, गोपाल महर्जन र श्यामकुमार महर्जन रहेका छन् । त्यसैगरी सङ्घको पहिलो बैठकले रोबिन महर्जन र ज्ञानबहादुर खड्गीलाई सदस्यमा मनोनीत गरेको छ । त्यस्तै सल्लाहकारमा चिरिकाजी अवाले, जगतलाल महर्जन, शिरोमणि बज्राचार्य र विकास श्रेष्ठ रहेका छन् ।
यसअघि जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष चिरिकाजी अवालेको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन समारोहमा नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष राजेशहरि जोशी, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष श्याम बजगाईं, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रकाश तिमिल्सिना, दक्षिण एसियाली खेलकुद पत्रकार महासङ्घका अध्यक्ष समज्ञ लाकौलले साधारणसभा सफलताको शुभकामना दिएका थिए । सङ्घका उपाध्यक्ष विदुर गौतमको संयोजकत्वमा गठित निर्वाचन कमिटीले सो कार्यसमिति निर्वाचित गरेको हो ।

ओलम्पिक सङ्ग्रहालय शुभारम्भ
नेपाली खेलकुद जगत्का ऐतिहासिक तस्बिर, पोसाक, सिल्ड, ट्रफी, पदकलगायत विविध वस्तुको सङ्कलन, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ दक्षिण एसियाकै एक मात्र ओलम्पिक सङ्ग्रहालयकोे नेपाल ओलम्पिक सङ्ग्रहालयको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भुइँतलामा विशेष पूजाका साथ मुख्य कार्यालयको सङ्ग्रहालयका संरक्षक तथा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यमा शुभारम्भ भयो ।
उक्त अवसरमा प्रमुख अतिथि मन्त्री पौडेलले सङ्ग्रहालय कक्ष, लाइब्रेरी, तथा कोठाहरूको निरीक्षण गरेका थिए । उनले सङ्ग्रहालयको कार्यको प्रसंशा गर्दै यसको विकास र विस्तारमा सबै खेल निकायहरू लाग्नुपर्ने र आफूले पनि यसको आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान तथा महासचिव जीवनराम श्रेष्ठ (नवनिर्वाचित अध्यक्ष)को पनि उपस्थिति रहेको थियो । गत भदौ १६ गते नेपाल ओलम्पिक कमिटी नोपाल ओलम्पिक सङ्ग्रहालयबीच मुख्य कार्यालय, लाइब्रेरीलगायत सङ्ग्रहालयलाई अझ व्यवस्थित गर्न सम्झौता भएको थियो । यस सङ्ग्रहालयको त्रिपुरेश्वर दशरथ रंगशालास्थित कार्यालयमा गैरओलम्पिक खेलको सङ्ग्रहालय कक्ष र साग खेलकुद सूचना केन्द्रको सञ्चालन गरिनेछ ।

भोजानन्द र डम्बर सर्वोत्कृष्ट कर्मचारी
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई र कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्ट राखेपको वर्ष २०७१ का सर्वोत्कृष्ट कर्मचारीको पुरस्कारबाट सम्मानित भएका छन् । राई प्रशासन तथा डम्बर प्राविधिकतर्फ सर्वोत्कृष्ट घोषित भएका हुन् ।
त्यस्तै नेपाल खेलकुद विज्ञान प्रतिष्ठानकी प्रशासकीय अधिकृत अनन्तादेवी खनाल (प्रशासन) तथा ललितपुर जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो सहायक प्रशिक्षक बद्रीप्रसाद घिमिरे (प्राविधिक) उत्कृष्ट कर्मचारी चुनिए । गोर्खा जिल्ला खेलकुद विकास समितिका नासु हर्कबहादुर राई (प्रशासन) तथा लनटेनिस प्रशिक्षक रेणुदेवी कोण्डा (प्राविधिक) ले परिषद् सेवा पुरस्कार प्राप्त गरे । सर्वोत्कृष्टले २५ हजार, उत्कृष्टले १५ हजार र परिषद् सेवाबाट पुरस्कृतले १० हजारका दरले नगद पुरस्कारसहित सम्मान पत्र प्राप्त गरे ।
सोही अवसरमा खेलकुद पत्रकार नागरिक दैनिकका ध्रुव तुलाधर, द हिमालयन टाइम्सका महेश आचार्य र गोरखापत्रका प्रजित शाक्य तथा राइजिङ नेपालका फोटो पत्रकार राजेन्द्र चित्रकारलाई पनि सम्मानपत्र र नगद पुरस्कारसहित सम्मान गरियो । त्यसैगरी राखेपमा २० वर्ष सेवा पूरा गरेका खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापा र नासु सूर्यबहादुर श्रेष्ठलाई सेवा पदक प्रदान गरियो ।
२५ वर्ष पूरा गरेका पौडी शाखाकी वरिष्ठ अधिकृत केशरी चित्रकार, तालिम तथा प्रशिक्षण विभागका वरिष्ठ अधिकृत विद्यासागर पोखरेल, लनटेनिस प्रशिक्षक रेणुदेवी कोण्डा, आर्थिक प्रशासन शाखाका लेखा अधिकृत दशरथ सापकोटा, भौतिक पूर्वाधार तथा मर्मत शाखाका अधिकृत राजु श्रेष्ठ, सङ्घसंस्था समन्वय शाखाका प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने, प्रशासन विभागकी नासु जुलुम गिरी, दर्ता फाँटका नासु गम्भीरमान तुलाधर, खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रकी नासु भवानी अधिकारी तथा कार्यालय सहयोगी बद्रीकुमार खत्री, ज्ञानभक्त महर्जन र रत्नबहादुर मगजु दीर्घसेवा पदकबाट सम्मानित भए । राखेपको ५२औँ वार्षिकोत्सव समापन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राखेप सदस्यसचिव केशवकुमार विष्टले उनीहरूलाई सम्मान र पुरस्कृत गरेका थिए ।