यसकारण शिवनाथ गाउँपालिकाका घरमा पहेँलो र हरियो झण्डा

यसकारण शिवनाथ गाउँपालिकाका घरमा पहेँलो र हरियो झण्डा


बैतडीको शिवनाथ गाउँपालिका–३ का अधिकांश घरको छाना तथा घरनजिकैको आँगनमा झण्डा गाडिएका छन् । गाउँपालिकाको सहयोगमा प्रस्तावित श्रीपुर स्वास्थ्यचौकीको पहलमा स्थानीयवासीको घरमा झण्डा गाडिएको हो ।

सुनौलो हजार दिनका आमा र बच्चा भएको घरमा झण्डा गाडिएको अहेव मोहन कलौनीले बताए । गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने भएकाले उनीहरूलाई सेवा प्रदानमा सहज होस् भनेर झण्डा गाडिएको अहेव कलौनीले बताए । वडामा रहेका गर्भवती महिलाका घरमा पहँेलो र दुई वर्षमुनिका बालबालिका भएका घरमा हरियो झण्डा गाडिएको उनको भनाइ छ । झण्डा गाडिएका घरमा स्वास्थ्य र पोषणका कार्यक्रम केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको कुरा सबैलाई जानकारी दिन पनि सजिलो भएको अहेव कलौनी बताउँछन् ।

वडाभरिका सुनौलो हजार दिनका आमा र बच्चा कोही पनि कुपोषित नहोऊन् र उनीहरूको पोषणमा पहुँच पु¥याउन सजिलो होस् भन्ने हेतुले झण्डाले घर चिनाएको उनको भनाइ छ । घरको छानामा झण्डा राखेदेखि स्वास्थ्यकर्मीले समेत नियमित रूपमा गर्भजाँच गराए–नगराएकोबारे, पोषिलो खानेकुरालगायतका विषयमा सोध्ने गरेको स्थानीयवासी सीता पार्कीले बताइन् । हरियो र पहेँलो झण्डाले चिनाएका घरमा पोषणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत भएको छ ।