‘श्वेतपत्र’ चुनौती, कमजोरी र जिम्मेवारी

‘श्वेतपत्र’ चुनौती, कमजोरी र जिम्मेवारी


sport‘श्वेतपत्र’ जारी गर्नु आफैँमा चुनौतीपूर्ण मानिन्छ । चुनौती यस अर्थमा हुन्छ कि यसले सकारात्मक मात्र नभई नराकात्मक पक्षको पनि पर्दाफास गर्छ । त्यसका लागि ठूलोे आँट र साहस चाहिन्छ । त्यसैले श्वेतपत्र जारी गर्नुभन्दा विगतमा भएका कमी–कमजोरीलाई ढाकछोप गरेर अगाडि बढ्नुलाई नै बुद्धिमानी ठानिन्छ । श्वेतपत्र गोपनीयताको त्यस्तो गम्भीर दस्तावेज हो जसले सकारात्मक मात्र नभई नकारात्मक पक्षलाई समेत उजागार गर्छ र भएका सम्पूर्ण क्रियाकलापलाई छताछुल्ल पारिदिन्छ । सरकारी निकाय र मातहतमा रहेका कुनै त्यस्तो संस्था र व्यक्ति छैन जसले शतप्रतिशत कार्य गरेको होस् । त्यस्तोमा राष्ट्रिय खेलकुद परिषद् अछुतो रहने सवालै उठ्दैन । यहाँ कोही दूधले नुहाएको छैन र भविष्यमा पनि दूधले नुहाउने प्रयास गर्नेछैन । यसर्थमा इमानदार व्यक्ति पनि विभिन्न दबाबको सिकार बन्नुपरेको दृष्टान्त हाम्रोसामु छ । सबैका आ–आफ्ना कमीकमजोरी हुन्छ, त्यसमाथि राजनीतिक दबाब र स्वार्थका कारणले नचाहँदा–नचाहँदै पनि गलत कार्य र निर्णय गर्नुपर्छ । यस्तो अवस्थामा राजनीतिक नियुक्ति पाएको व्यक्तिले दलीय स्वार्थलाई किनारा लगाएर हिँड्न सक्ने अवस्था पनि रहँदैन । जसको सिकार पूर्वसदस्यसचिव युवराज लामा बनिसकेका छन् । तेक्वान्दो युनियनको जन्म युवराज लामाको चाहनाले भएको होइन, त्यो एमाओवादीको दबाबका कारणले भएको थियो । यो त सानो उदाहरण मात्रै हो, यस्ता विधानविपरीत र ऐन–कानुनविपरीत कार्य गराउनमा राजनीतिक दल कति उद्यत् र सक्रिय छन् त्यसको फेरिहस्त खेलकुदका हरेक सङ्घसंस्थामा सजिलै भेट्टाउन सकिन्छ ।
यस्तो वास्तविकताको बोध हुँदाहुँदै पनि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले ‘श्वेतपत्र’ जारी गर्ने जोखिम किन मोले त्यो अहिले चर्चाको विषय बनेको छ । विष्टले चर्चा कमाउन श्वेतपत्र जारी गरेका हुन् कि सामथ्र्य प्रदर्शन गर्न ? त्यो अहिले बुझिनसक्नु भएको छ । श्वेतपत्र जारीसँगै उनीमाथि थप चुनौती पनि थपिएको छ । के विष्ट यसमा सफल होलान्, त्यो भन्न सकिने अवस्था छैन । यसर्थमा कि श्वेतपत्र तयार गर्ने समितिमा पूर्वसदस्यसचिव युवराज लामाको कार्यकालमा विभिन्न विभागको प्रमुखको जिम्मेवारी सम्हालेर बसेका व्यक्ति छन् । ती विभागीय प्रमुखले गरेको निर्णयकै आधारमा लामाले हरेक क्रियाकलापलाई अन्तिम निर्णय दिन्थे । यहाँ सोचनीय कुरा के छ भने विष्टको कार्यकालमा पनि यिनै व्यक्तिहरू विभागीय प्रमुखको रूपमा रहेका छन् अर्थात् महत्वपूर्ण पदमा यिनै छन् । यस्तो अवस्थामा ‘गंगा आए गंगाराम जमुना आए जमुनाराम’को भूमिका निर्वाह गरिरहेकाहरू भोलि विष्टको कार्यकालको समाप्तिसँगै पुनः श्वेतपत्र तयारी समितिमा रहने पक्का छ । त्यसैले श्वेतपत्र खुद सदस्यसचिव विष्टका लागि चुनौतीपूर्ण बन्नेमा सायदै कसैको शङ्का र दुईमत होला । अहिले जारी गरिएको श्वेतपत्र युवराज लामाको चार वर्षीय कार्यकालमा सीमित छ । जसले युवराज लामाले आफ्नो कार्यकालमा गरेका चौधवटा बुँदालाई सकारात्मक पक्षको रूपमा लिएको छ भने सत्रवटा बुँदालाई नकारात्मक पक्षमा लिएको छ । आफ्नो चारवर्षे कार्यकाल पूरा गरेपछि लामाले आत्मसमीक्षा गर्दै गरेको पत्रकार सम्मेलनमा आफ्नो कार्यकाल सत्तरी प्रतिशत सफल रहेको बताएका थिए । तर, हालै राखेपले जारी गरेको श्वेतपत्रमा लामाको कार्यकाललाई उनले दिएको प्रतिशतभन्दा बढी प्रतिशत दिएर उनको कार्यकाल सफल भएको लालमोहर लगाइदिएको छ । यस्तो अवस्थामा राखेपले श्वेतपत्र जारी गर्नुको औचित्य के हो ? त्यो पुष्टि हुनुभन्दा पनि विष्टले नदुखेको टाउको मात्र दुखाएको प्रस्ट भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले श्वेतपत्र जारी गर्ने क्रममा सदस्यसचिव विष्टले अधिल्लोे चार वर्षमा भएका सकारात्मक र नकारात्मक कामहरू श्वेतपत्रबाट सार्वजनिक गरेको बताएका थिए । विष्टले यो कसैको आग्रह पूर्वाग्रह राखेर नभई कसरी जिम्मेवारी पूरा गरिएको थियो त्यसको फेहरिस्त मात्र भएको टिप्पणी गरेका थिए । त्यस्तै विष्टले यो परम्परा आफूले थालनी गरेको र यसले निरन्तरता पाउनुपर्नेमा जोड दिएका थिए । उनले आफ्नो कार्यकालको पनि आउने व्यवस्थापनले श्वेतपत्र जारी गर्नुपर्ने बताएका थिए । श्वेतपत्रले आर्थिक पारदर्शिता, प्रशासनिक व्यवस्थापन र सुसूचित हुने अधिकारलाई सुनिश्चित पार्ने बताउँदै व्यवस्थापकीय हिसाबले गरिने निर्णयमा कम त्रुटि हुने निष्कर्ष निकालेका थिए । तर, श्वेतपत्रमा खेलकुदका विभिन्न निकायहरूले दिएको विवरण आफँैमा गोलमोटल देखिएको छ । राखेपले यो श्वेतपत्र ०६८ देखि ७२ सालसम्मको भनिए पनि त्यसमा शरदचन्द्र शाहको पालादेखि आर्थिक बक्यौता देखाएर अन्योलको सिर्जना गरिएको छ । स्मरण रहोस्, राखेपको इतिहासमै पहिलोपल्ट श्वेतपत्र जारी गरिएको हो । सदस्यसचिव विष्टले राखेपमा आगमनसँगै श्वेतपत्र जारी गर्ने घोषणा गरेका थिए । जुन उनले अहिले पूरा गरे पनि त्यही श्वेतपत्र भोलि उनको गलाको हड्डी बन्यो भने अन्यथा मानिने छैन । किनकि राजनीतिले गाँजेको खेलकुद र मुलुकको विषम राजनीतिक परिस्थिति विष्टका लागि निकै चुनौतीपूर्ण हुनेमा सायदै कसैको दुईमत होला ।
श्वेतपत्र जारी गरेर सदस्यसचिव विष्टले अदम्य साहस देखाएका छन् भने अब आउने चुनौतीका लागि तयार रहेको आभास दिएका छन् । तर, उनलाई विवादमा तान्ने खेल जसरी सुरु भएको छ त्यसलाई मध्यनजर गर्दा अगामी दिन विष्टका लागि निकै चुनौतीपूर्ण हुनेछन् भन्दा अतिसयोक्ति नहोला । सदस्यसचिवको नियुक्तिसँगै जसरी विष्टलाई उनकै पार्टीका सहयात्रीहरूले विवादमा तान्ने र अदालतसम्म पु-याउने कार्य गरेका छन्, तिनीहरू अहिले पनि विष्टलाई असफल बनाउन ज्यान छोडेर लागेका छन् । आफ्नै पार्टीको एक गुट विष्टको जहिले पनि विरोधमा थियो, उनको खुट्टा तान्ने खेलमा ऊ जहिले पनि सामेल थियो । तर, अहिले राखेपका उपाध्यक्ष नै गुट परिवर्तन गरेर सदस्यसचिवको खुलेयाम विरोधमा लागेपछि खेलकुदमा एमालेको राजनीतिसँगै सदस्यसचिव विष्टको चुनौती पनि बढेर गएको छ । अझ मुलुकमा संविधान जारी भइसकेको अवस्था र निकट भविष्यमै बन्ने नयाँ सरकारले विष्टका लागिका अहम् बनेको छ । यदि युवा तथा खेलकुद मन्त्रालय एमालेले पाएन भने त्यो विष्टका लागि निकै दुर्भाग्य सावित हुनेछ । उनका हरेक योजना कोरा कल्पना र सपनामा मात्रै सीमित हुनेछन् । अझ नयाँ बन्ने सरकारमा एमाओवादी पनि समावेश हुने भएकाले यदि खेलकुद मन्त्रालय एमाओवादीको हातमा प-यो भने त्यसको प्रत्यक्ष प्रभाव विष्टमा पर्ने देखिन्छ । यसर्थमा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र सदस्यसचिव युवराज लामाबीचको छत्तीस आँकडा र असहयोगी भावना आमखेलकर्मीले बिर्सेका छैनन् ।
जारी श्वेतपत्रमा खेलकुदको विकास र विस्तारका लागि विभिन्न विषयको उठान गरिए पनि पूर्वसदस्यसचिव युवराज लामाको चारवर्षे कार्यकाललाई विशेष फोकस गरिएको छ । सदस्यसचिव विष्टले यसलाई पूर्वाग्रहभन्दा पनि एउटा पद्धतिको विकासको रूपमा हेरेका छन् । त्यसैले विष्टले आफ्नो कार्यकालको पनि श्वेतपत्र जारी हुनुपर्ने भनेका छन् । जारी श्वेतपत्र तथ्यमा आधारित रहेको दाबी गर्दै विष्टले लामाको चारवर्षे पोस्टमार्टम पनि गरेका छन् । यो पोस्टमार्टम गर्नमा उनले सहयोगीको रूपमा विद्यालय खेलकुद विकास विभागका प्रमुख कमल खनालको संयोजकत्वमा सात सदस्यीय श्वेतपत्र तयारी समितिसमेत गठन गरेका छन् । जसको सदस्यमा तिलकबहादुर राउत, कुलबहादुर थापा, प्रकाशचन्द्र घिमिरे, डा. प्रकाश प्रधान, इन्द्रबहादुर कार्की र सिजु श्रेष्ठ रहेका छन् । यो सात सदस्यीय समितिले तयार पारेको श्वेतपत्र कति तथ्यमा आधारित छ, त्यसको भविष्यमा खोजपड्ताल अवश्य हुनेछ । को–कति पानी छन् त्यसको पनि छिनोफानो अवश्य हुनेछ । तर, पूर्वसदस्यसचिव युवराज लामाले यो श्वेतपत्र तथ्यमा आधारित नभएको र सत्य कुरा के हो त्यसलाई समावेश गर्न चुनौती दिँदै त्यसो नगरे अदालत जाने चुनौती दिएपछि श्वेतपत्र विष्टका लागि भोलि ठूलै घाँडो नबन्ला भन्न सकिँदैन ।

सातौँको लोगो र मस्कट सार्वजनिक
राष्ट्रिय खेलकुद परिषद्ले पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद– २०७२ मा प्रयोग हुने लोगो र मस्कट गत साता सार्वजनिक गरेको छ । सातौँ राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख कमल खनाल संयोजक तथा प्रोफेसर राधेश्याम मुल्मी र रमेश खनाल सदस्य रहेको तीन सदस्यीय छनोट समितिले छनोट गरेको लोगो र मस्कट सार्वजनिक गरिएको हो । छनोट भएको लोगो खिमराज श्रेष्ठ तथा मस्कट सन्तोष विष्टले तयार गरेका हुन् । पारिश्रमिकस्वरूप श्रेष्ठलाई ४५ हजार र विष्टलाई ३५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । राखेप अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको सेमी कभर्डहलमा आयोजित एक कार्यक्रमबीच लोगो र मस्कट सार्वजनिक गरेका थिए ।
लोगोमा राष्ट्र र राष्ट्रियता झल्किने गरी चन्द्रसूर्यअङ्कित झन्डाको रातो पृष्ठभूमिलाई अर्धगोलाकार रूपमा नीलो रंगले घेरिएको, पूर्वाञ्चलको झलक दिने गरी सगरमाथाको चुचुरो राखिएको, खेलभावनालाई समेट्न शान्तिको प्रतीक परेवाअङ्कित मसाल बोकेको एकता र सद्भावको सन्देश दिने सात खेलाडी दौडिरहेको र सात रंगको संयोजन गरिएको तथा खेलको संस्करण र क्षेत्रको परिचय दिने गरी सातौँ राष्ट्रिय खेलकुद– २०७२ लेखिएको छ । त्यस्तै नेपालको पूर्वीदक्षिण भेग, कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा मात्र पाइने अर्नालाई मस्कटको रूप दिइएको छ । विश्वमा अर्ना नेपालको कोसी टप्पुमा मात्र पाइन्छ । विभिन्न ३५ खेल समावेश सातौँ राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मङ्सिर ११ देखि १८ गतेसम्म हुँदै छ ।

यू–१९ फुटबल टोली पुरस्कृत
युवा तथा खेलकुद मन्त्रालयले साफ यू–१९ फुटबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली टोलीलाई हालै नगदसहित सम्मान गरेको छ । सो अवसरमा २३ खेलाडी, तीन प्रशिक्षक, एक फिजियो र एक टिम व्यवस्थापकसहित २८ सदस्यीय टोली सम्मानित भएका थिए । सम्मानित सबैलाई जनही एक लाख र सम्मानपत्र प्रदान गरिएको थियो ।
सम्मानित हुने खेलाडीमा कप्तान विमल घर्तीमगर, सोजित गुरुङ, रोमन रसाइली, देव लिम्बू, अनन्त तामाङ, अमित तामाङ, छिरिङ गुरुङ, आकाश थापा, दिनेश राजवंशी, सुदन थापा, गौरव बुढाथोकी, हेमन्त थापा मगर, कमल श्रेष्ठ, डोना थापा, तेज तामाङ, किरण सुनार, विश्वास श्रेष्ठ, सुशन लामा, सुनील बल, अञ्जन विष्ट, सुजित गुरुङ, शिव सुवेदी तथा जानोममान लिगल रहेका छन् । त्यस्तै अन्यमा प्रमुख प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक सुनील श्रेष्ठ, गोलकिपङ प्रशिक्षक मृगेन्द्र मिश्र, फिजियो राजु दाहाल तथा टिम व्यवस्थापक दिवाकर घले छन् ।
सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, सभासद् एवम् अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष गणेश थापा र युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले टोलीलाई नगद, टीका, खादा र सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपाली टोलीको सफलताले सारा देशवासीलाई सुखद अनुभूति दिलाएको बताउँदै मन्त्रालयको पहुँचले भ्याएसम्म खेलाडीलाई सम्मान गरिएको बताए । उनले ठूला देशलाई हराउने ताकत खेलकुदमा मात्र भएको बताउँदै फुटबल मात्र नभई पदक जित्ने सबै खेलका खेलाडीलाई सम्मान गरिने बताए । मन्त्रालयका सचिव शर्माले यू–१९ टोलीको सफलताले फुटबलको क्षेत्रमा नयाँ ऊर्जा थपिएको बताउँदै खेलाडीलाई खेलमा ध्यान दिन र बाँकी काम मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, एन्फा र राज्यलाई छाडी दिन आग्रह गरेका थिए । यसैगरी एन्फा अध्यक्ष थापाले रातारात टोलीले सफलता हासिल नगरेको बताउँदै टोलीलाई यो अवस्थासम्म ल्याउन एन्फाले ठूलो मिहिनेत गरेको बताउँदै टोलीको सफलताले अन्य टिमलाई पनि हौसला मिल्ने धारणा राखेका थिए । भदौ १२ गते सातदोबाटोमा भएको च्याम्पियनसिपको पहिलो संस्करणको फाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा हराउँदै २२ वर्षपछि फुटबलमा उपाधि जितेको थियो ।

शारीरिक सुगठन अशोज तेस्रो साता
हिमालयन किङडम नेप्लिज शारीरिक सुगठन तथा फिटनेस महासङ्घको आयोजनामा असोज २० गते प्रथम राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा ५५ केजीको फ्लाइवेट, ६० केजीको सुपरफ्लाइवेट, ६५ केजीको वेन्टमवेट, ७० केजीको लाइटवेट, ७५ केजीको वेल्टरवेट र ८० केजी र त्योभन्दा माथिको लाइट हेभिवेट गरी कुल ६ तौल समूहमा प्रतिस्पर्धा गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
दुई वर्ष अगाडि काठमाडांै जिल्ला कार्यालयमा दर्ता भएको हिमालयन किङडमले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी तथा एसियन ओलम्पिक कमिटीबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय शारीरिक सुगठन तथा फिटनेस तथा एसियन शारीरिक सुगठन तथा फिटनेससँग आबद्धता प्राप्त गरेको पहिलो मिस्टर नेपाल, महासङ्घका अध्यक्ष एवम् नेपालमा शारीरिक सुगठनका ज्ञाता शिवलाल श्रेष्ठले जानकारी गराए ।
उनले हिमालयन किङडम नेप्लिज शारीरिक सुगठन महासङ्घको जन्म हुनुको बारेमा जानकारी गराउँदै हाल परिषद्मा दर्ता रहेको नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घ विश्व शारीरिक सुगठन महासङ्घसँग आबद्धता रहे तापनि अन्तर्राष्ट्रिय ओलम्पिक तथा ओलम्पिकद्वारा आयोजना गरिने प्रतियोगिताका साथै विश्वमा आयोजना भइरहेको ठूला प्रतियोगिताहरूमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्न नसक्ने भएका कारण यो संस्थालाई पुनर्जीवित गर्नु आवश्यक भएकोसमेत जानकारी गराएका थिए ।
श्रेष्ठले हाल भइरहेको नेपाल शारीरिक सुगठन पनि पहिले यसै संस्थाअन्तर्गत आबद्ध रहेकोमा एसियन शारीरिक सुगठनलाई डोपिङको कारण अन्तर्राष्ट्रिय शारीरिक सुगठनले कारबाही गरेपश्चात् केही एसियन शारीरिक सुगठनका व्यक्तिहरूले विश्व शारीरिक सुगठन र एसियन शारीरिक सुगठन गठन गरी भिन्न महासङ्घको स्थापना गरेको र त्यतिबेलाका नेपाल शारीरिक सुगठनका पदाधिकारीहरूले आफूलाई त्यसैअनुरूप विश्व शारीरिक सुगठनमा आबद्ध गरी कार्यक्रम सञ्चालन गर्दै आइरहेकोसमेत उनले पत्रकारहरूलाई जानकारी गराए ।
श्रेष्ठले प्रतियोगिताबारे जानकारी प्रदान गर्ने क्रममा यो प्रतियोगिता ओलम्पिक मान्यता प्राप्त अन्तर्राष्ट्रिय शारीरिक सुगठन महासङ्घद्वारा नोभेम्बरमा ५ देखि ९ तारिखसम्म स्पेनको एलिकान्टमा आयोजना हुने आईएफबीबी विश्व शारीरिक सुगठन प्रतियोगिताको छनोट र नेपाल शारीरिक सुगठन तथा फिटनेसले असोज २३ गते आयोजना गर्ने १५औँ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता तयारीको रूपमा समेत लिएको जानकारी गराए । यसै प्रतियोगिताद्वारा छनोट हुन सफल खेलाडीलाई यसै वर्ष हङकङमा आयोजना हुने हङकङ एमेच्योर ओलम्पिया शारीरिक सुगठन प्रतियोगिता र भियतनाममा एसियन ओलम्पिक कमिटीद्वारा आयोजना हुने एसियन प्रतियोगिता तथा अन्तर्राष्ट्रिय शारीरिक सुगठन महासङ्घले लन्डनमा आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता गराइने जानकारी गराए ।
एकदिने प्रतियोगिता सोरखुट्टेस्थित लिङक रोड नेवा पार्टी प्यालेसमा आयोजना गरिने र अन्तर्राष्ट्रिय महासङ्घको नियमअनुसार नै एकै दिनमा प्रतियोगिता सम्पन्न गरिने महासङ्घका महासचिव अजय बज्राचार्यले जानकारी गराए । १५ लाखको लागत रहेको प्रतियोगिताका विजयी खेलाडीलाई ट्रफी, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कारबाट सम्मानित गरिनेसमेत महासचिव बज्राचार्यले बताए । पत्रकार सम्मेलनमा महासङ्घका कोषाध्यक्ष रवीन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

सातौँ तयारीबारे छलफल
पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद– २०७२ मा समावेश विभिन्न ३५ खेलका राष्ट्रिय सङ्घका पदाधिकारीहरूसँग राष्ट्रिय खेलकुद परिषद्ले हालै छलफल गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको उक्त कार्यक्रममा विभिन्न खेलस्थान र सम्बन्धित खेलको मिति, खेलाडी, प्रशिक्षक, व्यवस्थापक, निर्णायक, सङ्घ प्रतिनिधि कोटा, खेल सञ्चालन, खेल सामग्रीको व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राखेप सदस्यसचिव केशवकुमार विष्टले प्राविधिक कारणले बाहेक मिल्नेसम्म सबै खेल पूर्वाञ्चलमा हुने बताउँदै आन्दोलनका कारण समस्या भएका जिल्लामा सम्बन्धित पक्षसँग खेल सञ्चालन गर्न अनुकूल वातावरण बनाइदिन आग्रह गर्ने बताएका थिए । सदस्यसचिव विष्टले निकटता, आफू पदाधिकारी रहेको खेल सङ्घ, भनसुन, राजनीतिक आस्था, तर्साउने÷धम्क्याउने आधारमा नभई जिल्लाको वर्गीकरणका आधारमा बजेट विनियोजन गर्ने स्पष्ट पार्दै खासगरी आर्थिक पक्षमा सम्बन्धित सबै इमानदार र पारदर्शी हुनुपर्नेमा जोड दिएका थिए ।

संविधान र शुभकामना
नेपालको संविधान–२०७२ जारी भएपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले शुभकामना दिएका छन् । विष्टले जनताले आफ्ना लागि आफैँ बनाउन चाहेको संविधान जारी भएको बताउँदै साढे ६ दशकदेखिको नागरिकको सपना पूरा भएको क्षणमा नेपाली खेलकुद क्षेत्रका साथै मुलुकभर खुसीयाली छाएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा विष्टले नयाँ संविधानले विभिन्न राजनीतिक परिवर्तनपछिका अप्ठ्यारा र लामो राजनीतिक सङ्क्रमणकालीन अवस्था अन्त्य गर्ने र मुलुक स्थायी शान्तिको बाटोमा अग्रसर हुँदै समृद्धि र विकासमा अघि बढ्ने विश्वास प्रकट गरेका छन् ।
नयाँ संधिवानको आगमनसँगै खेलकुदलगायत सबै क्षेत्र यतिबेला हर्षविभोर भएको देखिन्छ । खेलकुदमा अनुशासन र खेलका नियमले खेलाडीलाई गोलबद्ध बनाएको हुन्छ, त्यस्तै यो संविधानले पनि सबै नेपालीलाई एउटै मालामा गाँस्न सकोस् । यो घडीमा विभिन्न राजनीतिक परिवर्तनका क्रममा सहादत प्राप्त गर्नुभएका ज्ञात–अज्ञात सबै सहिदप्रति सम्मान व्यक्त गर्दै सम्पूर्ण नेपाली नागरिकमा विष्टले शुभकामना व्यक्त गरेका छन् ।