शक्तिको आडमा ‘झोले’ सङ्घको बिगबिगी

शक्तिको आडमा ‘झोले’ सङ्घको बिगबिगी


sportयतिबेला चर्चाको विषय बनेको छ ‘झोले सङ्घ’ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले झोले सङ्घलाई छिट्टै विघटन गर्ने अभिव्यक्ति बारम्बार दोहो-याएपछि अहिले झोले सङ्घहरूको अस्तित्व सङ्कटमा परेको छ । तर, सदस्यसचिव विष्टले झोले सङ्घको रूपमा कसलाई निसाना बनाउन लागेका हुन् त्यो भने प्रस्ट भएको छैन । दशरथ रंगशालाको पुनर्निर्माणपछि केही राष्ट्रिय सङ्घबाहेक सबै सङ्घ झोले सङ्घको रूपमा परिणत भएका छन् । साँचो रूपमा भन्नुपर्दा अहिले ती सङ्घहरूको पहिचान भनेको ‘झोला’ नै बनेको छ । त्यही झोलाबाट उनीहरूले सम्पूर्ण सङ्घलाई चलाइरहेको अवस्था छ । दशरथ रंगशालाबाट लखेटिएपछि आफ्नो सङ्घको कार्यालय खोल्नु त परै जाओस् सम्बन्धित खेलको विकास र विस्तारका लागि सिन्कोसमेत भाँच्न सकेका छैनन् । वास्तविक रूपमा भन्नुपर्दा अहिले केही राष्ट्रिय सङ्घबाहेक अत्यधिक सङ्घहरू प्रायः मृत अवस्थामा पुगेका छन् । जसको उठानका लागि पुनः दशरथ रंगशालाको निर्माण छरितो रूपमा गर्नुबाहेक अर्को विकल्प छैन । यसर्थमा ती सङ्घहरूलाई जीवित पार्न राखेपले नै दशरथ रंगशालामा कोठा उपलब्ध गराउनुपर्ने बाध्यता छ ।
वर्तमान अवस्थामा राखेपमा दर्ता भएका अत्यधिक सङ्घहरू सम्बन्धित खेलको विकासभन्दा पनि विदेश घुम्न र मेनपावरको रूपमा सक्रिय छन् । शक्तिको आडमा दर्ता भएका त्यस्ता सङ्घका पदाधिकारी अहिले पनि आफ्नो स्वार्थ पूरा गर्न समग्र खेलकुदलाई बद्नाम गरिरहेका छन् । उनीहरू खेलाडीसँग मोटो रकम असुलेर विदेशमै खेलाडी र गैरखेलाडीलाई लुकाउने र भगाउने कार्यमा समेत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न रहेको पाइएको छ । तर, यस्तो गैरकानुनी कार्यको सञ्चारमाध्यमले पटक–पटक उजागार गर्दासमेत शक्तिको आडमा उनीहरूले आफ्नो धन्दा चलाउँदै आएका छन् । यो कार्यमा अहिले पनि थुप्रै सङ्घ संलग्न रहे पनि खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले मौनता साँध्नु विडम्बनाको विषय बनेको छ । राजनीतिक शक्तिको आडमा गरिखान देऊ भन्ने आशीर्वाद पाएकाहरूले खेलकुदलाई दुर्गन्धित बनाउने क्रममा खेलकुदको अस्मितालाई बिकाउ बनाइदिएको तीतो सत्य हाम्रोसामु छ । बत्तीमुनिको अँध्यारोमा जति सत्यता छ त्यति नै सत्यता यी नाम मात्रका खेलकुद सङ्घमा छ । कहिल्यै खेलकुदका गतिविधि नगर्ने, राखेपको सहयोग पनि नलिने यस्ता सङ्घहरू राखेपबाट टाढै रहन चाहन्छन् । पछिल्लो समयमा यस्ता सङ्घहरूलाई अङ्कुश लगाउने निहुँमा सम्बन्धित निकायका पदाधिकारीहरू नै आर्थिक प्रलोभनमा परेपछि यस्ता गैरकानुनी क्रियाकलाप खेलकुदमा अझै मौलाउँदै र फस्टाउँदै गएको तीतो सत्य हाम्रोसामु छ ।
यही कुरालाई दृष्टिगत गर्दै राखेपका सदस्यसचिव केशव विष्टले यस्ता नाम मात्रका राष्ट्रिय सङ्घहरूलाई जरैबाट उखेलेर फाल्ने प्रण लिएका छन् । विष्टले राखेपमा खेल सङ्घ दर्ता गरेर कुनै खेलकुद गतिविधि नगर्ने र खेलको नाममा मनपरि गर्ने सङ्घलाई छिट्टै विघटन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । विष्टले सर्वप्रथम कुन उद्देश्यले यस्ता सङ्घ गठन भएका हुन् त्यसको औचित्य पुष्टि गर्नुपर्ने अन्यथा कारबाहीको भागीदार बन्नुपर्ने खुलासासमेत गरेका छन् । झोलामा सङ्घलाई बोकेर हिँड्नेहरूले अन्तर्राष्ट्रिय सम्बन्ध र अङ्गे्रजी बोल्न जानेकै भरमा ब्रह्मलुट गरिरहेको खुलासासमेत विष्टले गरेका छन् । अब खेलको नाममा खेलकुदमा यस्तो गैरकानुनी धन्धा नचल्ने भन्दै यसको समाधानका लागि आफूले चाँडै यस्ता सङ्घको पहिचान गरी विघटन गर्ने विष्टले बताएका छन् । विष्टले यो कार्य सहज छैन भन्दै यसका लागि ठूलो आँट र साहस चाहिने प्रस्ट पारेका छन् । यसका लागि आफू मानसिक रूपमा तयार भएको भन्दै शक्तिकेन्द्रबाट दबाब आउने पक्का छन् । जुन कुराको पनि हद अर्थात् सीमा हुन्छ, त्यो सीमा काटे त कारबाही गर्नुपर्छ भने यहाँ त सीमा मात्र होइन सबै कुराको उल्लङ्घन भएको छ, त्यसैले कारबाही गर्नुपर्ने बाध्यता भएको छ ।
राष्ट्रिय खेलकुद सङ्घमा देखिएको विवादलाई मध्यनजर गर्दै आफ्नो नियुक्तिसँगै विष्टले त्यस्ता विवादित सङ्घहरूलाई मिलेर आउन तीन महिनाको समय दिएका थिए । अहिले विष्टको हनिमुन पिरियड पनि सकिन लागेको अवस्था छ । तर, अहिलेसम्म विवादित सङ्घहरू मिलेर आउने कुनै सङ्केत देखिएको छैन । यस्तो अवस्थामा अब सदस्यसचिव विष्टले कस्तोखाले कारबाही अगाडि बढाउलान् र समस्याको समाधान गर्लान् त्यो हेर्न लायक भएको छ । जुन सङ्घमा विवाद छ अर्थात् जसका दुईवटा सङ्घ छन् तिनमा निकै शक्तिशाली व्यक्तित्वको पहुँच र आशीर्वाद छ । अन्य खेललाई थाँती राख्दा पनि तेक्वान्दो, कराँते, फुटबल र क्रिकेटको विवाद राखेपका लागि सधैँ टाउको दुखाइ बनेको कसैबाट छिपेको छैन । यी सङ्घलाई चलाउँदा सीधै शक्तिकेन्द्रसँग ठोक्किनुपर्ने भएकाले अहिलेसम्म कसैले यस्तो दुस्साहस गर्न सकेको छैन । कसैको अख्तियार प्रमुखको, कसैको प्रचण्ड, कसैको ओलीको, कसैको कोइराला र कसैको अन्तर्राष्ट्रिय पावरले गर्दा यी विवादित सङ्घलाई कसैले हल्लाउन सकेका छैनन् । यस्तो अवस्थामा सदस्यसचिव विष्टले दिएको तीन महिनाको समयसीमाले उनीहरूका लागि आए राम गए राम भन्दा कुनै अर्थ राखेको छैन । साँचो अर्थमा भन्नुपर्दा काग कराउँदै छ पिना सुक्दै छ भन्ने विश्वासमा उनीहरू छन् । यसरी सदस्यसचिवले जस्तोसुकै लक्ष्मणरेखा कोरे पनि उनीहरूले टेरपुच्छर लगाउने सङ्केत देखिएको छैन । यस्तो विषम परिस्थितिमा अटेरीलाई मिलेर आउनु भन्नु र नआए कारबाहीका लागि तयार हुनु भन्नुले जग हसाउने कार्यबाहेक केही गर्दैन । तसर्थ विष्टले जुन युद्ध छेडेका छन् र जुन आत्मविश्वास र साहस देखाएर छन् त्यसमा खरो उत्रिन उनले यस्ता विवादित सङ्घहरूलाई भाषण गरेर होइन विघटन गरेर देखाए मात्र खेलकुदकर्मीले विश्वास गर्लान् । अन्यथा उनी पनि कानै चिरेका सदस्यसचिवमा गणना हुने पक्का छ ।
अब विवादित सङ्घहरूलाई दिएको समयसीमा सकिन केही दिन मात्र बाँकी छ । सदस्यसचिव आफ्नो प्रतिबद्धता र उद्देश्यमा खरो उत्रिन विभिन्न कार्यक्रममा अहिले यही कुरा दोहो-याई, तेहे-याइरहेको अवस्था छ । तर, जसले यो कुरो सुन्नुपर्ने थियो, त्यो शक्तिको आडमा बहिरो बनेर अनसुनी गरिरहेको छ । उसले यो कुरालाई कुनै महत्व नै दिएको छैन । कराउनेले केही गर्न सक्तैन भन्ने कुरामा दृढ छ । यस्तो अवस्थामा समस्याले समाधानको रूप लिनुको साटो उल्टै चुनौती पेस गरेको अवस्था छ । हो, खेलकुदको विधानले सदस्यसचिवलाई असीमित अधिकार दिएको छ । तर, यसो भन्दैमा आगोमा हात हाल्ने काम कति बुद्धिमानी हुन्छ त्यो सदस्यसचिव विष्टले पनि राम्ररी बुझेका छन् । खेलकुदमा सबैको सम्बन्ध अर्थात् एक–अर्काको सम्बन्ध जेरीझैँ घुमेकाले कार्यान्वयन पक्ष जहिले पनि कमजोर पर्दै आएको छ । खेलकुदको वास्तविकताको आत्मबोध हुँदाहुँदै पनि सदस्यसचिव विष्टले जुन आँट र साहस देखाएका छन् त्यो तारिफयोग्य छ । विवाद समाधानका लागि चालेको उनको कदम स्वागतयोग्य पनि छ । तर, यस कार्यमा उनलाई सफलता मिल्छ या मिल्दैन त्यो भने भविष्यकै गर्भमा छ । यो सतीले सरापेको देश हो, राम्रो काम गर्नेको कहिल्यै भलो हुँदैन भन्छन्, यदि सदस्यसचिव विष्ट पनि यसको एउटा पात्र बने भने अन्यथा मानिने छैन । यसपछि कलियुगलाई स्मरण गरिने छ, दानवहरूको वर्चश्वलाई सबैले स्वीकार गर्नु बाध्यता हुनेछ ।

खेल समाचार
राखेपमा ६ सदस्य मनोनीत
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्मा रिक्त रहेको ६ सदस्य पदमा मनोनीत गरेको छ । काठमाडौंका शैलेश कर्माचार्य, सिरहाका उपेन्द्रकुमार यादव, बाँकेकी शान्तिसिंह क्षेत्री, पर्वतकी यामकुमारी गुरुङ (अस्मिता), ललितपुरका वीरेन्द्र श्रेष्ठ र काठमाडौंका उपेन्द्रकुमार पौडेल सदस्यमा मनोनीत भएका हुन् ।
उनीहरूलाई मन्त्रिपरिषद्को असोज ३ गतेको निर्णयानुसार खेलकुद विकास ऐन, २०४८ को दफा ३ को उपदफा (२) को खण्ड (ख) बमोजिम खेलकुद मन्त्रालयले सदस्य पदमा मनोनयन गरेको हो । यससँगै मन्त्रिपरिषद्बाट राष्ट्रिय खेलकुद परिषद्मा आउने सदस्य सङ्ख्याले पूर्णता पाएको छ । मन्त्रिपरिषद्बाट ११ जना राखेप सदस्यमा आउने प्रावधान छ । मनोनीत सदस्यलाई खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।

हिटिङ सिस्टमको पौडीपोखरी बन्ने
हिटिङ सिस्टमसहितको पौडीपोखरी निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद् र नेपाल पौडी सङ्घबीच हालै समझदारीपत्रमा हस्ताक्षर भएको छ । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको उपस्थितिमा राखेप सदस्यसचिव केशवकुमार विष्ट र पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । सातदोबाटोस्थित राखेपअन्तर्गत अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको हालको पौडीपोखरीको दक्षिणतर्फ डाइभिङ पुलका लागि राखिएको स्थानमा २५ बाइ २५ मिटरको पुल बन्नेछ । पोखरी निर्माणको कुल लागतको ८० प्रतिशत राखेपले र बाँकी २० प्रतिशत पौडी सङ्घले व्यहोर्ने समझदारी बनेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले मन्त्री भए पनि नभए पनि आफूले प्रतिबद्धता व्यक्त गरेका खेलकुदका योजनालाई पूरा गराउन हरदम प्रयासरत रहने बताए । सदस्यसचिव विष्टले केही समयभित्रै सिङ्गो खेलप्रेमी उत्साहित हुने गरी योजना अगाडि ल्याउने तयारी भइरहेको बताए । उनले सातौँ राष्ट्रिय खेलकुदको तयारीमा व्यस्त हुनुपरेकाले तत्काल योजनाहरू सार्वजनिक गर्न नसकिएको अवगत गराएका थिए ।
नेपाल ओलम्पिक कमिटीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलाडीमा खेलप्रति रुचि र समर्पण हुँदाहुँदै पनि पूर्वाधारको कमीले उनीहरूको प्रतिभा वास्तविक रूपमा प्रस्फुटन हुन नसकेको बताएका थिए । पौडी सङ्घका अध्यक्ष बज्राचार्यले सम्भवतः अर्को सातासम्म पुलको शिलान्यास गरिने जानकारी गराउँदै हिटिङ सिस्टमसहितको पुल बनेपछि बाह्रै महिना खेलाडीलाई अभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज हुने बताए ।

तपाईं–हाम्रो च्यालेन्ज कप हुने
वेस्ट काठमाडौं एफसीको आयोजनामा तपाईं–हाम्रो च्यालेन्च कप फुटबल प्रतियोगता असोज १८ गतेदेखि हुने भएको छ । प्रतियोगतामा करिब ४० पुरुष टिमको सहभागिता रहने प्रतियोगिता संयोजक एवम् पूर्वगोलरक्षक सुन्दर थापाले आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । करिब आठ लाख रुपैयाँ खर्च हुने प्रतियोगिताका खेलहरू चन्द्रागिरी नगरपालिकाको नैकापमा हुनेछन् । विजेताले एक लाख एक हजार र उपविजेताले ५१ हजार पाँच सय नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै सेमिफाइनलमा रोकिने दुई टिमलाई १५ हजारका दरले नगद पुरस्कार दिइनेछ । उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर र गोलरक्षकलाई आकर्षक पुरस्कार दिइने बताइएको छ । प्रतियोगिताको मुख्य प्रायोजक तपाईं–हाम्रो सहकारी लिमिटेड रहेको छ ।

क्षेत्रीय पौडी प्रतियोगिताको तयारी
पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद २०७२ को छनोटका लागि नेपाल पौडी सङ्घले काठमाडौंमा असोज १४ र १५ गते मध्यमाञ्चल क्षेत्रीय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ । जाडो याममा राष्ट्रिय प्रतियोगिता भएका कारण चिसो पानीमा पौडी प्रतियोगिता गर्न नसक्ने भएकाले असोजमै प्रतियोगिता आयोजना गर्नु आवश्यक भएको पौडी सङ्घले जनाएको छ । सातदोबाटोस्थित पौडीपोखरीमा आयोजना हुने प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगिताका लागि मध्यमाञ्चलबाट २० पुरुष र १३ महिला गरी ३३ खेलाडीको छनोट हुने पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् । त्यस्तै टिममा एक प्रशिक्षक र एक व्यवस्थापक रहने व्यवस्था गरिएको छ । यस्तै, पूर्वको इटहरीमा १६ र १७ गते पूर्वाञ्चल क्षेत्रीय पौडी प्रतियोगिता र १७ र १८ गते पश्चिमको पोखरामा पश्चिमाञ्चल क्षेत्रीय पौडी प्रतियोगिता आयोजना गरिनेसमेत सङ्घले जनाएको छ ।
राष्ट्रिय प्रतियोगिताका लागि पूर्वाञ्चल र पश्चिमाञ्चलबाट १२ पुरुष, ६ महिला, एक प्रशिक्षक र एक व्यवस्थापक गरी २०–२० जना, मध्यपश्चिम र सुदूरपश्चिमबाट ६ पुरुष, चार महिला, एक प्रशिक्षक र एक व्यवस्थापक गरी १२–१२ जना खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष बज्राचार्यले बताएका छन् ।

ह्यान्डबल अध्यक्षमा गुरुङ निर्विरोध
नेपाल ह्यान्डबल सङ्घको तेस्रो अधिवेशन तथा निर्वाचनले अघिल्ला कार्यसमितिका अध्यक्ष तेजबहादुर गुरुङलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनले गुरुङको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत चयन ग-यो ।
वरिष्ठ उपाध्यक्षमा रामकृष्ण केसी, महासचिवमा सन्देशकुमार रेग्मी तथा कोषाध्यक्षामा मीठाराम अधिकारी निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा ३५ मतका साथ जय शर्मा, ३३ मतका साथ जीवन बस्नेत र ३० मतका साथ भीम केसी निर्वाचित भए । पराजित उपाध्यक्षका उम्मेदवार राकेश राईले २५ र राजुविक्रम थापाले १५ मत प्राप्त गरेका थिए । दुई सचिवका लागि तीनको उम्मेदवारी परेकोमा ३५ मत ल्याएका केशव पाठक र ३१ मत हासिल गरेका रत्नज्योति मानन्धर विजयी भए । झिनो अन्तरले पराजित सचिवका अर्का उम्मेदवार दामोदर भट्टराई (बद्री) ले ३० मत प्राप्त गरे ।
सदस्यमा रविन धौभडेल, प्रकाश सुनुवार, नरेन्द्रराज जोशी, पीताम्बर आचार्य, विनोद खुलाल, अभयकुमार बस्नेत, विराटमान बज्राचार्य र ज्ञानेन्द्र गजुरेल निर्विरोध निर्वाचित भएका थिए । दुईजनाले उम्मेवारी फिर्ता लिएपछि सदस्य पद निर्विरोध भएको नवनिर्वाचित महासचिव रेग्मीले जानकारी गराए । पोखरामा भएको साधारणसभामा केन्द्रबाट २०, विभिन्न ३० जिल्लाबाट एकजनाका दरले ३० तथा प्राविधिक समितिबाट दुई गरी जम्मा ५२ प्रतिनिधिको उपस्थिति रहेको राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत सङ्घसंस्था समन्वय शाखाका प्रशासकीय अधिकृत एवम् निर्वाचन अधिकृत ओम न्यौपानेले जनाएका छन् । यसअघि साधारणसभाको राखेप सदस्यसचिव केशवकुमार विष्टले उद्घाटन गरेका थिए ।

अन्तर्राष्ट्रिय प्रतियोगिताको आवश्यकता
नेपालको भ्रमण सकेर एसियाका लागि आईटीएफ विकास निर्देशक सुरेस मेनन फर्किएका छन् । सातौँ केसा ग्रुप÷जेटीआई जुनियर टेनिस प्रतियोगिताको समापनको अवसरमा काठमाडौं आइपुगेका मेननले पोखरामा टेनिसको अवस्थाबारे अवलोकन गरेका थिए । त्यस्तै काठमाडांैमा नेपाली खेलाडीको स्तर अवलोकन गरेका थिए । मेननले नेपालले जुनियर आईटीएफ प्रतियोगिताको आयोजना गर्नुपर्नेमा जोड दिएका थिए । ‘नेपाली खेलाडीको स्तरमा धेरै विकास भइरहेको छ । पछिल्लो समय यहाँका खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । तथापि यो नै पर्याप्त होइन । आईटीएफ प्वाइन्टका लागि प्रतियोगिताको आयोजना पनि आवश्यक छ,’ उनले भने ।
नेपाली जुयिनर खेलाडीले गत वर्ष एकदमै राम्रो प्रदर्शन गरेको बताउँदै मेननले अबको वर्ष योभन्दा राम्रो प्रदर्शनको अपेक्षा गरेका छन् । उनले भौतिक संरचनाका लागि पनि आईटीएफ सकारात्मक भएको बताए । नेपाली जुनियर खेलाडीको प्रदर्शनले आईटीएफ प्रभावित भएका कारण राष्ट्रिय सङ्घले प्रयास गरेमा थप सहयोग र अवसर पनि आईटीएफबाट प्राप्त हुने कुरामा उनले जोड दिएका छन् । उनले प्रशिक्षक र प्राविधिक जनशक्तिको विकासमा आईटीएफ सकारात्मक भएको बताए ।

लिटिल एन्जल्सलाई पौडीको उपाधि
लिटिल एन्जल्स स्कुलले प्रथम ललितपुर जिल्लाव्यापी अन्तरविद्यालय पौडी प्रतियोगिताको उपाधि जितेको छ । जम्मा एक सय ५९ अङ्कका साथ समग्रमा एलए टिम च्याम्पियन बनेको हो । ललितपुर जिल्ला पौडी सङ्घद्वारा आयोजित प्रतियोगितामा ५२ अङ्कका साथ प्रिमियर दोस्रो, ४८ अङ्कका साथ युलेन्स तेस्रो, ३८ अङ्कका साथ किस्क चौथो तथा २० अङ्कका साथ डीएभी पाँचौँ स्थानमा रहेका थिए ।
प्रतियोगिताअन्तर्गत १६ वर्षको १०० मिटर व्यक्तिगत मिड्लेको गल्र्समा एलएकी स्वीकृति घिसिङ र ब्वाइजमा एलएकै निकोन पुर्जा, आठ वर्षको २५ मिटर ब्रेस्टस्ट्रोकको गल्र्समा युलेन्सकी लाभान्या तन्डुकार र ब्वाइजमा एलएका प्रसिद्ध घले, ११ वर्षको ५० मिटर ब्रेस्टस्ट्रोकको गल्र्समा प्रिमियरकी उपासित महर्जन र ब्वाइजमा पाठशालाका तरुण भण्डारी, १४ वर्षको ५० मिटर ब्रेस्टस्ट्रोकको गल्र्समा युलेन्सकी टिसा शाक्य र ब्वाइजमा डीएभीका अनुभव सुब्बा, १६ वर्षको ५० मिटर ब्रेस्टस्ट्रोकको गल्र्समा एलएकी स्वीकृति र ब्वाइजमा एलएकै निकोन, ११ वर्षको ५० मिटर बटरफ्लाईको गल्र्समा प्रिमियरकी उपासित र ब्वाइजमा एलएका विनय राई, १४ वर्षको ५० मिटर बटरफ्लाइको गल्र्समा ब्रिटिस स्कुलकी तेन्जिङ यिगा लामा र ब्वाइजमा डीएभीका अनुभव सुब्बा तथा १६ वर्षको ५० मिटर बटरफ्लाईको गल्र्समा एलएकी स्वीकृति र ब्वाइजमा एलएका रोशन पुनले स्वर्ण जितेका थिए ।
इमाडोल पौडीपोखरीमा भएको प्रतियोगिताको आठ वर्षको २५ मिटर फ्रिस्टायलको गल्र्समा युलेन्सकी तुसिता शाक्य र ब्वाइजमा प्रिमियरका जेबिस पौडेल, १४ वर्षको १०० मिटर व्यक्तिगत मिड्लेको गल्र्समा युलेन्सकी टिसा शाक्य र ब्वाइजमा डीएभीका अनुभव, ११ वर्षको ५० मिटर ब्याकस्ट्रोकको गल्र्समा प्रिमियरकी उपासित र ब्वाइजमा एलएका स्वर्णिम श्रेष्ठ, १६ वर्षको ५० मिटर ब्याकस्ट्रोकको गल्र्समा एलएकी स्वीकृति र ब्वाइजमा एलएका निकोन, १४ वर्षको ५० मिटर ब्याकस्ट्रोकको गल्र्समा युलेन्सकी टिसा र ब्वाइजमा एलएका पावेल शाह, ११ वर्षको ५० मिटर फ्रिस्टायलको गल्र्समा प्रिमियरकी उपासित र ब्वाइजमा एलएका सुवास शाह, १६ वर्षको ५० मिटर फ्रिस्टायलको गल्र्समा एलएकी स्वीकृति र ब्वाइजमा एलएका निकोन तथा १४ वर्षको ५० मिटर फ्रिस्टायलको गल्र्समा ब्रिटिसकी तेन्जिङ यिगा र ब्वाइजमा डीएभीका अनुभवले पहिलो स्थान हात पारेका थिए ।
त्यस्तै ४ गुणा ५० मिटर मिक्स खुला फ्रिस्टायल रिलेमा किस्क पहिलो, शुभतारा दोस्रो र प्रिमियर तेस्रो भए । ४ गुणा ५० मिटर मिक्स खुला मिड्ले रिलेमा किस्क पहिलो, एलए दोस्रो र प्रिमियर तेस्रो भए । विजेतालाई सांसद एवम् राष्ट्रिय खेलकुद परिषद्का सल्लाहकार उमेशलाल श्रेष्ठ, नेपाल पौडी सङ्घका महासचिव जगतमान श्रेष्ठ, एलएका निर्देशक राजेश श्रेष्ठ, आयोजक सङ्घका अध्यक्ष मुकुन्दराज शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरेका थिए । एकदिने प्रतियोगितामा विभिन्न १७ विद्यालयका एक सय ६१ खेलाडीले सहभागिता जनाएका थिए ।