आइजिआई विद्यार्थी बीमा पोलिसी शुभारम्भ

आइजिआई विद्यार्थी बीमा पोलिसी शुभारम्भ


आइएमई जनरल इन्स्योरेन्स आइजिआईले विद्यार्थीलाई लक्षित आइजिआई विद्यार्थी बीमा पोलिसी शुरु गरेको छ ।

कक्षा १ देखि १२ सम्म अध्यनरत विद्यार्थीहरुलाई बीमा सुरक्षा प्रदान गर्ने उदेश्यले कम्पनीले यो सेवाको आरम्भ गरेको हो । पोलिसीले आमा र बुबालाई समेत सुरक्षा दिने कम्पनीको दाबी छ ।

विद्यार्थीलाई २४सै घण्टा सुरक्षा दिने भएकोले दुर्घटनाबाट पर्न जाने आर्थिक भारबाट अभिभावक र विद्यालय मुक्त हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त श्रेष्ठले जानकारी दिए । उनका अनुसार कम्पनीका अनुसार विमित विद्यार्थीको दुर्घटनाको कारणबाट मृत्यु भएमा १० लाख रुपैयाँ तथा विद्यार्थीको आमा वा बाबु मध्ये कुनै एक जनाको हकमा बीमा अवधिभर पाँच लाख बीमांक कायम गरिएको छ ।

स्थायी पूर्ण अशक्तता भएमा, बीमित विद्यार्थीको हकमा बीमांक रकमको तीन लाख तथा विद्यार्थीको आमा वा बाबुको हकमा बीमांक रकमको शतप्रतिशत पाँच लाख रुपैयाँको जोखिम वहन गन कम्पनीका संचालक प्रतापजंग पाण्डेले बताए । उनका अनुसार अंगभंग भएमा विमित विद्यार्थीको हकमा बीमांक रकमको शतप्रतिशत एक लाख रुपैयाँसम्म तथा आमा वा बाबुको हकमा अढाई लाख रुपैयाँसम्म जोखिम बहन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अस्थायी पूर्ण अशक्तता भएमा विमित विद्यार्थीको हकमा विद्यालयको मासिक शैक्षिक शुल्क वापत प्रतिमहिना अधिकतम १० हजार रुपैयाँ नबढ्ने गरी २ महिनासम्मको शुल्क भुक्तानी गरिनेछ। कम्पनीले दुर्घटनाको कारणले औषधोपचार गर्नु परेमा विमित विद्यार्थीको हकमा बीमांक रकमको २५ हजार रुपैयाँ सम्मको औषधोपचार सुविधा कायम गरिएको जनाएको छ ।