काङ्ग्रेसको नीतिमा चल्न प्रधानमन्त्रीको निर्देशन

काङ्ग्रेसको नीतिमा चल्न प्रधानमन्त्रीको निर्देशन


sushil_koiralaनेपाली काङ्ग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले खेलकुद क्षेत्र सिङ्गो राष्ट्रको एकतालाई सुदृढ र स्थापित गर्ने क्षेत्र भएको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्मा नेपाली काङ्ग्रेसको तर्फबाट सदस्यमा नियुक्त भएका पदाधिकारीहरूको सम्मानमा काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा महामन्त्री सिटौलाले यस्तो धारणा राखेका हुन् । ‘खेलकुद क्षेत्र सिङ्गो राष्ट्रको एकतालाई सुदृढ र स्थापित गर्ने क्षेत्र भएकाले अन्तर्राष्ट्रिय जगत्मा विशेष योगदान दिने खेललाई प्राथमिकतामा राखेर अगाडि बढ्नु उपयुक्त हुने सुझाव सिटौलाले दिए ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्रकुमार शेरचनले लामो समयदेखि नेपाली काङ्ग्रेसले खेलकुद मन्त्रालय नलिएको बताउँदै अब बन्ने नयाँ सरकारमा काङ्ग्रेसले खेलकुद मन्त्रालय लिनुपर्नेमा जोड दिएका थिए । उनले चाँडै नै सबै जिल्लामा खेलकुद सङ्घ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा नेपाली काङ्ग्रेस खेलकुद विभागका प्रमुख एवम् सांसद धनराज गुरुङले खेलकुदलाई अप्ठ्यारो परेको बेला आफूलाई सम्झे जुनसुकै समयमा पनि सहयोग गर्ने तयार रहेको बताए । नेपाल काङ्ग्रेसको तर्फबाट सुरेन्द्रबहादुर हमाल, शैलेश कर्माचार्य, शान्तिसिंह क्षेत्री, उपेन्द्र यादव र यामकुमारी गुरुङ (अस्मिता) गरी पाँचजना परिषद्को बोर्डमा रहेका छन् । हमाल एक वर्षअघि क्याबिनेटबाट परिषद्को सदस्यमा नियुक्त भई हाल कोषाध्यक्षको जिम्मेवारीमा छन् । बाँकी चारजना असोज ३ गते मन्त्रिपरिषद् बैठकबाट परिषद्को सदस्यमा नियुक्त भएका थिए ।
त्यस्तै नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको सिफारिसमा नेपाल सरकारद्वारा राष्ट्रिय खेलकुद परिषद्मा नियुक्त भएका कोषाध्यक्षलगायत पाँच सदस्यलाई प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्रीनिवास बालुवाटारमा स्वागत गर्नुका साथै बधाई दिएका छन् । उक्त अवसरमा प्रधानमन्त्री कोइरालाले राखेपको सदस्यमा नियुक्त भएकोमा कोषाध्यक्षसहित सदस्यहरूलाई शुभकामना व्यक्त गर्दै नेपाली काङ्ग्रेसको नीतिअनुसार खेलकुदको विकास र विस्तारमा कटिबद्ध हुन आग्रह गरेका थिए ।