निर्धारित समयमै ‘सातौँ’ आयोजना हुने दाबी

निर्धारित समयमै ‘सातौँ’ आयोजना हुने दाबी


sportआसन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले दाबी गरेका छन् । सातौँ राष्ट्रिय खेलकुदका लागि गठित मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै उनले आगामी मङ्सिर ११ देखि १८ गतेसम्म पूर्वाञ्चलमा प्रतियोगिता आयोजना हुने तय भएको स्मरण गराए । मुलुकमा बन्द–हडतालको मौसम चले पनि खेलकुद सबैको साझा रुचिको विषय भएकाले कसैले अवरोध नगर्ने विश्वास उनले प्रकट गरे । उस्तैपरे खेललाई अन्यत्र सिफ्ट गरेर भए पनि खेलाडी छनोट गर्ने तयारीमा रहेको जानकारी पनि उनले दिए ।
सदस्यसचिव विष्टले सातौँ राष्ट्रिय खेलकुदलाई सबै हिसाबले स्वच्छ होस् भन्ने उद्देश्यले नम्र्स तयार गरी क्याबिनेटबाट पास गराएर परिषद्ले काम अगाडि बढाउन लागेको बताउँदै बैठकमा प्राप्त सबैको सुझाव र सल्लाहलाई आत्मसात् गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले पूर्वाञ्चलले प्राप्त गरेको ऐतिहासिक अवसरलाई सफल बनाउन सबैको सक्दो सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै सातौँ राष्ट्रियका दौरान खेलकुदमा इतिहास रच्नेलाई सम्मान गर्न लागिएको बताए । बैठकमा उपस्थित मूल आयोजक समितिका सदस्यहरू एवम् पूर्वाञ्चल क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदहरूले खेलकुद क्षेत्र राष्ट्रिय प्रतिष्ठाको विषयसँग जोडिएकाले सातौँलाई सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धतासहित सुझाव दिएका थिए ।