पेट्रोलियम पाइपलाइनको सुरक्षा चासो

पेट्रोलियम पाइपलाइनको सुरक्षा चासो


अबको २ महिनाभित्रै पेट्रोलियम पाइपलाइन संचालनमा आउने भएको छ । समयमा आयोजना सम्पन्न गर्न भारतले कामलाई तिब्रता पनि दिएको छ । तर
इन्डियन आयल कर्पोरेशन(आइओसी)ले भने निर्माण सम्पन्न भई संचालनमा आएपछिको सुरक्षाप्रति चासो देखाएको छ ।

आइओसी र नेपाल आयल निगमबीच गत चैत २८ र २९ गते भएको छलफलमा पाइपलाइन संचालनमा ल्याउनु पूर्व सुरक्षाको मुद्दा टुंग्याउन आग्रह गरेको हो । पाइपलाइन संचालन सम्वन्धी मोडालिटीमा छलफल हुँदा आइओसीको टोलीले सुरक्षाको विषय टुंग्याउन आग्रह गरेको निगमका प्रवक्ता बिरेन्द्र गोइतले जानकारी दिए ।

भारतमा पाइपलाइन सुरक्षा सम्वन्धी छुट्टै ऐन छ भने आइओसीले आफ्नै सुरक्षा बल पाइपलाइनको सुरक्षामा प्रयोग गर्छ । तर नेपालमा पाइपलाइन पहिलो पटक निर्माण भएको र त्यस सम्वन्धी कानुन भने छैन । तत्कालका लागि केही स्थानमा सुरक्षा पोष्ट बनाएर नेपाली सेनालाई नै गस्तीमा खटाउने गरि मन्त्रिपरिषद्मा प्रस्ताव लगिने बुझिएको छ ।

मोतिहारी(अमलेखगंज पाइपलाइन निर्माण अन्तिम चरणमा पुग्दैछ । अहिले पथलैयादेखि अमलेखगञ्जसम्मको आठ किलोमिटर क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज भएर पाइप गाड्ने काम भइरहेको छ । निगमका अनुसार जेठ अन्तिम सातामा पाइप विच्छ्याएर असार पहिलो सातासम्म परीक्षणको रुपमा पेट्रोलियम पदार्थ ल्याउने गरि काम भइरहेको छ ।