ओली-अभिव्यक्तिको लहरमा प्रतिपक्षी काङ्ग्रेस

ओली-अभिव्यक्तिको लहरमा प्रतिपक्षी काङ्ग्रेस


■ विनोद नेपाल

०७५ सालको बिदाइ गरी हामी नयाँ वर्ष ०७६ मा प्रवेश गरेका छौँ । हाम्रो सन्दर्भमा बितेको वर्ष ०७५ नयाँ परिवेशमा विशेष खालको आशा र सम्भावनाका साथ प्रारम्भ भएको थियो । तर, जे–जस्ता अपेक्षा थिए र जे–जस्ता आश्वासन बाँडिएका थिए सोअनुरूप कामकारबाही अगाडि बढ्न नसक्दा नेपाली जनतामा निराशा कायमै रह्यो । त्यसो त आफ्नो नयाँ वर्षको सन्देशमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले धेरै काम गरेको, समृद्ध नेपालको निर्माण गर्ने दिशातर्फ अग्रसर भएको र अब नेपालीका दुःखका दिन समाप्त हुने क्रममा रहेको बताए । जब कि जनताको दैनन्दिनका समस्या र आवश्यकताको सम्बोधनका दृष्टिले खासै उपलब्धि हासिल हुन नसकेको यथार्थ जनताको नफेरिएको जीवनस्तर र दैनिकीमा महसुस हुन नसकेको परिवर्तनबाट प्रस्ट हुन्छ ।

त्यसो त प्रधानमन्त्रीले आफ्नो सरकारले बेथिति–विसङ्गतिको अन्त्य गर्न, भ्रष्टाचार उन्मूलन गर्न र सुशासनको प्रत्याभूति गर्दै विकास र समृद्धिको दिशातर्फ अघि बढ्न ठोस योजना तयार गरेको र यो वर्ष आधार वर्ष भएकाले अबका दिनमा सबैले महसुस गर्ने गरी र कसैले पनि प्रश्न गर्न नसक्ने गरी परिणाममुखी ढङ्गमा काम गर्ने बताएका छन्, तर हालसम्मको शैलीले प्रधानमन्त्रीको भनाइप्रति विश्वास गर्ने आधार देखिँदैन । प्रधानमन्त्री बोल्न रुचाउने, तर काम गर्ने सम्बन्धमा खासै चासो नराख्ने खालको स्वभाव देखाएको धेरैले महसुस गरेका छन् । प्रधानमन्त्रीको सरकारका कामको प्रशंसासहितको अभिव्यक्ति आए पनि प्रमुख प्रतिपक्षीले भने प्रधानमन्त्रीको दाबीलाई गलत ठहऱ्याएको छ । प्रधानमन्त्रीले नयाँ वर्षको अवसरमा र सोही दिन अन्य कार्यक्रममा समेत अभिव्यक्त गरेका धारणाप्रति तीव्र असन्तुष्टि जनाउँदै आफ्नो प्रतिक्रिया दिएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षको कार्यकाललाई असफल वर्षको रूपमा चित्रण गरेको छ । काङ्ग्रेसले वैशाख २ गते पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सुशासन, शान्तिसुरक्षा र विकासका दृष्टिले असफल वर्षको रूपमा रहेको जनाएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आयोजना गरेको सो पत्रकार सम्मेलनमा सरकारको असफलताका आधारसमेत प्रस्तुत गरिएका छन् । सङ्घीयता कार्यान्वयनमा देखिएको विरोधाभास, संवैधानिक परिषद् र न्यायपालिकामाथिको हस्तक्षेप, भ्रष्टाचारमा शून्य सहनशीलताको घोषणा गरे पनि व्यवहारमा संरक्षण गरिएको, जघन्य अपराधमा संलग्नहरूको पहिचान गर्न नसकेको तथा प्रधानमन्त्रीबाट पटकपटक अशोभनीय खालका अभिव्यक्ति दोहोरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै सरकार मुलुकलाई सही दिशातर्फ डोऱ्याउन असफल भएको ठहर गरेको छ ।

प्रधानमन्त्रीले बोलीमा मात्र जोड दिएको, कहिले कार्यकर्तालाई अरिँगाल बन्न सुझाउने, कहिले बुद्धिजीवीलाई थला पार्नेजस्ता अभिव्यक्ति दिएका कारण विवादमा परेका प्रधानमन्त्रीले नयाँ वर्षकै दिन प्रतिपक्षी दलहरूलाई नन्दीभृंगीको संज्ञा दिई आफ्नो नकारात्मक सोच, शैली र संस्कारलाई अगाडि बढाएको टिप्पणी काङ्ग्रेस प्रवक्ताले गरेका छन् ।

यसैगरी ०७५ सालको प्रारम्भ केही नवीन आशाका साथ भएको, तर बिदाइ भने आशालाई विश्वासमा बदलेर हुन नसकेको काङ्ग्रेसको धारणा छ । गम्भीर राजनीतिक चुनौती नभएको, केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म आफ्नै पार्टीको बहुमत प्राप्त सरकार रहेको अवस्थामा दुईतिहाइ समर्थनको सरकारले छोटो समयमै थुप्रै काम गर्न सक्ने आमविश्वास भए पनि त्यसो हुन नसकेको काङ्ग्रेसको टिप्पणी छ ।

काङ्ग्रेसले सङ्घीयता कार्यान्वयनको सवालमा अधिकार बाँडफाँड, राज्यका तहगत संरचनाहरूको निर्माण र हस्तान्तरण, कर्मचारी समायोजन र उचित बजेट प्रबन्ध गर्नसमेत सरकारले नसकेको बताएको छ । यसैगरी सबै प्रदेशहरूको नामाकरण र राजधानीको टुङ्गो लगाउन नसक्नुलाई पनि कमजोरीको रूपमा औँल्याइएको छ । गएको वर्ष शक्तिको विकेन्द्रीकरणको मान्यता तथा सङ्घीयताको सिद्धान्तविपरीत एकातिर राज्यका महत्वपूर्ण अङ्गहरूलाई केन्द्रीकृत गरिएको तथा अर्कोतिर राष्ट्रिय सुरक्षा परिषद्लाई संविधानले प्रत्याभूत गरेको सेना परिचालन सिफारिसको अधिकार हनन गर्ने विधेयक ल्याएर सरकारले परिषद्लाई प्रधानमन्त्रीको लाचार छाया बनाउने दुस्प्रयास गरेको भन्दै शक्ति विकेन्द्रीकरण र सङ्घीयता कार्यान्वयनको सन्दर्भमा ०७५ साल असफल भएको काङ्ग्रेसको तर्क छ । काङ्ग्रेसले संवैधानिक परिषद् र न्यायपालिकालाई कार्यपालिकाको लाचार छाया बनाउने प्रयत्न गरेको, सरकारको अपरिपक्व र अदूरदर्शी शैलीका कारण अन्तर्राष्ट्रिय जगतमा मुलुकको छविमा प्रतिकूल प्रभाव परेको टिप्पणी पनि गरेको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति पनि काङ्ग्रेसले गम्भीर आपत्ति जनाएको छ । प्रधानमन्त्री ओलीले काङ्ग्रेसलगायतका प्रतिपक्षी दलले आन्दोलन गर्ने घोषणा गरेकोमा सोप्रति असन्तुष्टि व्यक्त गर्दै उनीहरूलाई ‘नन्दीभृंगी’को संज्ञा दिएका थिए । काङ्ग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘संस्कारहीन’ एवम् ‘अशोभनीय’ भन्दै प्रधानमन्त्रीलाई जथाभावी अभिव्यक्ति नदिन चेतावनी पनि दिएको छ । प्रधानमन्त्रीले बोलीमा मात्र जोड दिएको, कहिले कार्यकर्तालाई अरिँगाल बन्न सुझाउने, कहिले बुद्धिजीवीलाई थला पार्नेजस्ता अभिव्यक्ति दिएका कारण विवादमा परेका प्रधानमन्त्रीले नयाँ वर्षकै दिन प्रतिपक्षी दलहरूलाई नन्दीभृंगीको संज्ञा दिई आफ्नो नकारात्मक सोच, शैली र संस्कारलाई अगाडि बढाएको टिप्पणी पनि काङ्ग्रेस प्रवक्ताले गरेका छन् ।

अन्त्यमा, वास्तवमै भन्नुपर्दा बितेको वर्ष उत्साहपूर्ण वातावरणमा प्रारम्भ भएको थियो । तर, कुरा धेरै र काम थोरै भएका कारण आर्थिक–सामाजिक रूपान्तरण तथा जनजीविकाको मुद्दामा देखिने र महसुस हुने केही भएन । शक्तिशाली सरकार अपेक्षा गरेअनुरूप सफल देखिएन । राजनीतिक दलहरूबीचको सम्बन्ध होस् चाहे जनताका आकाङ्क्षाको सम्बोधन उसले आफूलाई जिम्मेवार देखाउन सकेन । परिणाममुखी नभई प्रचारमुखी देखियो । तामझामपूर्ण रूपका घोषणा गरिएका कार्यक्रमहरूको हविगत टिठलाग्दो देखियो । सरकारले प्रतिपक्षीमाथि असहिष्णुता देखायो र प्रतिपक्षको पटकपटक अपमान र उपेक्षा गऱ्यो ।

आशा देखाउने महत्वाकाङ्क्षी योजनाहरू ल्याए पनि अधिकारहरू केन्द्रीकृत गर्ने, विभिन्न संवेदनशील निकायहरूलाई प्रधानमन्त्रीको मातहत ल्याउनुले सरकारको नियतप्रति नै आशङ्का बढेको छ । मुलुकको धरातलीय यथार्थलाई हेक्का राख्दै सबै किसिमको दम्भ त्यागी सहमति र सहकार्यको भावनाका साथ अगाडि बढ्ने प्रयास गरेमा नेपालीको आगामी वर्ष अवश्यै सुखद हुने अन्यथा मुलुकमा नयाँ खालको द्वन्द्व सिर्जना हुन सक्ने भएकाले यसतर्फ प्रधानमन्त्री ओलीको विशेष ध्यानाकर्षण हुनु जरुरी छ ।