अण्डाको मूल्यमा गिरावट आएपछि सङ्घको कार्यालयमा तालाबन्दी

अण्डाको मूल्यमा गिरावट आएपछि सङ्घको कार्यालयमा तालाबन्दी


अण्डा उत्पादक किसानले नेपाल अण्डा उत्पादक सङ्घको नारायणगढमा रहेको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । अण्डाको मूल्यमा अस्वाभाविक गिरावट आएकोे भन्दै पछिल्लो चरणको आन्दोलनस्वरुप उनीहरुले तालाबन्दी गरेका हुन् ।

उनीहरुले अण्डा उत्पादक सङ्घको कार्यालयमा तोडफोडसमेत गरेका छन् । विचौलियाको साँठगाँठमा उत्पादक सङ्घपछि लागेको आरोप लगाउँदै किसान आन्दोलनमा छन् । अण्डाको लागत मूल्य पनि नउठ्ने भएपछि आन्दोलनको विकल्प नभएको उनीहरुको भनाइ छ ।

कृषकले नारायणगढको लायन्स चोकबाट पुल्चोक हँुदै सङ्घको केन्द्रीय कार्यालयसम्म विरोध ¥याली निकालेका थिए । अझै पनि आफ्नो मागको सुनुवाइ नभए चरणबद्ध सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छ । पश्चिम चितवन अण्डा उत्पादक किसान समूहको आयोजनामा कृषकले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । यसअघि उनीहरुले सरोकारवाला निकायमा ध्यानाकर्षण गरिसकेका छन् ।

समूहका अध्यक्ष राजकुमार श्रेष्ठले नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित जनप्रतिनिधिलाई सो विषयमा ध्यानाकर्षण गरिएको बताए । उनले विचौलीयाको चलखेल रोकेर किसानको लागत मूल्य उठ्ने गरी मूल्य निर्धारण गर्नुपर्ने बताए । सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले हाल अण्डाको लागत मूल्य प्रतिगोटा रु १० पर्ने भए पनि ६ रुपैयाँ ६६ पैसामा समेत बिक्री गर्न कठिन भएको बताए । कृषक मर्कामा परेको स्वीकार गर्दै उनले सङ्घ माग बढाएर मूल्य कसरी बढाउन सकिन्छ भन्ने विषयमा नियमित लागिपरेको बताए । सङ्घको टोलीले भारतीय सीमा क्षेत्रको बजारमा समेत पुगेर अण्डाको अवस्थाका बारेमा अध्ययन गरेको थियो ।

गत महीना देशका केही शहरमा कुखुरा र चरामा बर्डफ्लु देखिएपछि अण्डाको माग घटेको छ । खपत नभएर उत्पादित अण्डा नबिकेपछि सङ्घले कृषकको फार्मबाट अण्डाको बिक्री मूल्य रु २०० कायम गरेको थियो । मूल्य कम भएको भन्दै कृषक आन्दोलित भएका हुन् ।