मुलुकको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रबाट ‘आन्तरिक पर्यटन मेला’ शुरु गरिएको छ । गन्तव्य नेपाल ग्रुपद्वारा ‘पहिला देश, अनि विदेश’ भन्ने मूल नाराका साथ दुई दिनसम्म भृकुटीमण्डपमा चल्ने मेलाको पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले शुभारम्भ गरे ।
पूर्वप्रधानमन्त्री डा भट्टराईले सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नभएको बताए । ‘सरकारसँग सहकार्य गरेर मुलुकको विकास र समृद्धिको अभियानमा निजी क्षेत्र लाग्नुपर्छ’, उनले भने । नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले पर्यटन क्षेत्रलाई व्यवसायको क्षेत्र मात्र नबनाएर उद्योगका रुपमा विकास गर्नुपर्ने बताए । ‘सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न पर्यटन क्षेत्रको विकास गर्नु आवश्यक छ’, उनले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपाल भ्रमण वर्षलाई सफल बनाउनका लागि सरकारले विभिन्न समिति बनाएर काम गरिरहेको बताए । ग्रामीण पर्यटन विकासका लागि सरकार लागेको उनको भनाइ थियो ।
नेपाल पर्यटन वोर्ड सञ्चालक समितिका सदस्य दीपक महत, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाललगायतले नेपालको पर्यटन क्षेत्रको विकासका लागि नेपाल पर्यटन बोर्डलाई पुनर्संरचना गर्नुपर्नेमा जोड दिए । ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउने उद्देश्यका साथ आयोजना गरिएको मेलामा सबै जिल्लाबाट प्रतिनिधित्व हुने गरी १११ वटा व्यावसायिक तथा खानाका कक्षहरु रहेको गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीले जानकारी दिए । मेलामा पर्यटन क्षेत्रका सेवा प्रदायक संस्थाहरु पदयात्रा, ट्राभल्स, एयरलाइन्स, घरबास, पर्यटनसँग सम्बन्धित कलेजलगायतका प्रदर्शनी मुख्य आकर्षणका रुपमा छन् ।
प्रतिक्रिया