केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा प्रतिव्यक्ति आय १०३४ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ । गत आर्थिक बर्ष २०७४/७५ मा प्रतिव्यक्ति आय १००४ अमेरिकी डलर थियो । यसबर्ष ३० अमेरिकी डलरले बढेको विभागको तथ्यांकले देखाएको हो ।
यस्तै, सो आर्थिक बर्षमा ६.८१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विभागको छ । विभागले अर्थतन्त्रको आकार आधारमूल्यमा २९ खर्ब २१ अर्ब रूपैयाँको हुने प्रक्षेपण गरेको हो । विभागका अनुसार गत आर्थिक वर्षमा ६.३ प्रतिशत र त्यसअघिको आर्थिक वर्षमा ७.७४ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको थियो । विभागले सार्वजनिक गरेको प्रक्षेपण यसअघि अन्तराष्ट्रिय मुद्रा कोषको भन्दा केही बढि हो । कोषले ६.५ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेको थियो ।
अर्थमन्त्री डा. युवराज खतिवडाको चालू आर्थिक वर्षको बजेटमार्फत ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य थियो । तर उनको त्यो लक्ष्य भने पूरा हुन सकेन् । यसअघि अर्थमन्त्रीको महत्वकांक्षी लक्ष्यलाई पूर्वअर्थमन्त्री डा. रामशरण महतले कुनैपनि हालतमा पूरा नहुने प्रतिक्रिया दिदै आएका थिए । डा. महतले यस्तो अभिब्यक्ति दिएपछि अर्थमन्त्री खतिवडाले महतलाई सफल बनाउनकै लागि भएपनि ०.१ प्रतिशत कम गरेर आर्थिक वृद्धि ७.९ प्रतिशत गरेरै छाड्ने भनेका थिए । तर शुक्रबार तथ्यांक विभागले प्रतिवेदन सार्वजनिक गर्दै चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत मात्रै हुने प्रक्षेपण ग¥यो । अर्थमन्त्री खतिवडाले बजेटको अर्धवार्षिक समीक्षा गर्दै ७ देखि ८ प्रतिशतको बीचमा आर्थिक वृद्धिदर हुने संसोधित लक्ष्य सार्वजनिक गरेका थिए । तर त्यो लक्ष्य भने पूरा हुन सकेन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्थतन्त्र टाट पल्टाएको भन्दै अर्थमन्त्री खतिवडाले श्वेतपत्र ल्याएका थिए । यस्तै, कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा ठूलो योगदान प्रदेश ३ को रहने पनि तथ्यांकमा जनाइएको छ । चालू आर्थिक वर्षमा कृषि क्षेत्रमा ५.०३ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ७.४८ प्रतिशत रहने अनुमान तथ्यांक विभागको छ ।
प्रतिक्रिया