मेलम्ची खानेपानी आयोजनाको निर्माण ठप्प

मेलम्ची खानेपानी आयोजनाको निर्माण ठप्प


  • छविलाल बगाले

मेलम्चीको पानी काठमाडौंसम्म ल्याउन राखिएको भाका पटक–पटक सरेको छ । पछिल्लो खानेपानी मन्त्री बिना मगरले राखेको भाका पनि पूरा भएन । बरु, ठेकेदार कम्पनी सीएमसी नै आयोजनाबाट बाहिरियो । त्यसयता आयोजनाको काम ठप्प छ । ठेक्का लिएको इटालियन कम्पनी सीएमसी काम छोडेर बाहिरिएपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं आइपुग्न अझैं कम्तिमा डेढ वर्ष लाग्ने भएको छ ।

करिब ५ वर्षसम्म काम गरेको सीएमसी बाहिरिएसँगै अहिले आयोजना निर्माण ठप्प रहेको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार भूकम्प र नाकाबन्दीका कारण ब्यहोरेको क्षति दावी गर्दा सरकारले नदिएपछि सीएमसीले ठेक्का सम्झौता नै तोडेको थियो । मेलम्ची खानेपानी विकास समिति बाँकी काम गराउन नयाँ ठेकेदार चयन गर्ने प्रक्रियामा छ ।

मेलम्ची आयोजनामा बाँकी रहेका मुख्य काम

– मेलम्ची खोलामा बाँध र इन्टेक निर्माण
– तीन स्थानमा निर्माण गरिएका अडिट टनेलमा गेट जडान
– मुख्य सुरुङको ‘फिनिसिङ’
– सुरुङभित्र पानी बगाउने
– सुन्दरीजल–पानी प्रशोधन केन्द्रको भागमा पाइप जडान
– टनेल ‘मनिटरिङ सिस्टम’ जडान
– काठमाडौंभित्र जडान गरिएका संरचनाको परीक्षण

ायोजनामा गर्नुपर्ने महत्वपूर्ण काम बाँकी रहँदा सरकारी अधिकारी भने ठेक्का लागेको ६ देखि ९ महिनामा बाँकी काम सकिने दावी गर्छन । तर, अहिलेसम्म नयाँ ठेकेदार चयन गरिएको छैन् । नयाँ ठेक्का लाग्न पनि कम्तिमा ३ महिना लाग्छ । आयोजना चाँडै सक्न समिति ‘प्याकेजिङ’मा काम गराउने योजनामा समिति रहेको पन्तको भनाई छ ।

आर्थिक वर्ष २०५५/०५६ मा सुरु गरिएको आयोजना २७ अर्ब खर्चिएर सन् २०१३ मै सक्ने लक्ष्य थियो । तर, पटक पटक भाका सारिँदा अहिलेसम्म २६ अर्ब खर्च भइसकेको छ । बाँकी कामको समेत खर्च जोड्दा आयोजनामा झण्डै ३२ अर्ब खर्च हुने छ । भाकासँगै व्ययभार थपिँदा काठमाडौंबासीको मेलम्चीको पानी पिउने आकांक्षा पनि क्रमशः टाढिदै छ ।