धितोपत्र बजारमा आइतबार शेयरको मूल्यमा उच्च अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २२.३९ बिन्दुले वृद्धि भई एक हजार ३१४.५१ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आइतबार बजार १.७३ प्रतिशतले वृद्धि भएको हो ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.१८ बिन्दुले बढेर २८२.८५ बिन्दुमा पुगेको छ । कुल १७६ कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता शेयर रु. एक अर्ब ६७ करोड ५९ लाख ३८ हजार ८२० मूल्यमा खरिद–बिक्री भए । पछिल्लो समयमा एकै दिन डेढ अर्ब माथिको कारोबार भएको पहिलोपटक हो । बजार विस्तारसँगै कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको स्टकले जनाएको छ ।
कारोबार भएका दश उपसमूहमध्ये आज दुई उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ ९.०२ र वित्त क्षेत्र ०.६८ बिन्दुले घटेका छन् । यस्तै होटेल ९०.४, विकास बैंक ६.१, जलविद्युत ६२.५८, निर्जीवन बिमा ४६२.७९, उत्पादन ४६.३७, अन्य ५.६३, लघुवित्त ९१.०८ र जीवन बिमा ६२९.३८ बिन्दुले बढेको छ ।
जीवन बिमा, निर्जीवन बिमा र लघुवित्त कम्पनीको शेयर अस्वभाविक तवरले वृद्धि भएपछि सर्किट ब्रेक लगाउनुपरेको थियो ।
स्टकका अनुसार आइतबार नेपाल बैंकको मात्रै रु. २३ करोड १९ लाख ६० हजार ७५० बराबरको कारोबार भएको छ । छिमेकी लघुवित्त विकास बैंकको रु. नौ करोड २६ लाख ८३ हजार ४४५, प्राइम बैंक रु. सात करोड ७३ लाख ४१ हजार ५२९, नेको इन्स्योरेन्स रु. छ करोड २५ लाख ६२ हजार ४०२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार एसियन लाइफ इन्स्योरेन्स कम्पनी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर तथा आरएमडीसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले दश प्रतिशतका दरले कमाएका छन् ।
यस्तै सनराइज बैंक ४.०४, रिलायन्स फाइनान्स ३.१२, सांग्रिला डेभलपमेन्ट बैंक ३.०८ र कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीले २.९४ प्रतिशतले गुमाए ।
प्रतिक्रिया