‘सफलताका लागि जीवनको लक्ष्य निर्धारण गर्नुपर्छ’ : उद्योगपति चौधरी

‘सफलताका लागि जीवनको लक्ष्य निर्धारण गर्नुपर्छ’ : उद्योगपति चौधरी


उद्योगपति एवं सांसद विनोद चौधरीले विश्वविद्यालयबाट विदाई हुनु अगाडि नै आफ्नो भविष्यको गन्तव्य तय गर्न विद्यार्थीलाई सुझाव दिएका छन् । उनले आईतबार त्रिभूवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागका करिब सात सय विद्यार्थीलाई सम्बोधन गर्दै सफलताका लागि जीवनको लक्ष्य निर्धारण गर्न विद्यार्थीहरूलाई सुझाव दिएका हुन् ।

आजको विश्व ३० बर्षभन्दा कम उमेरका युवाका लागि सबैभन्दा महत्वपूर्ण रहेको भन्दै उद्योगी चौधरीले सूचना प्रविधिका क्षेत्रमा भएको उपलब्धी हासिल युवाहरुको देन रहेको बताए । उनले सफलताका लागि थ्रि एस अर्थात स्किल, स्केल र स्पिडको आवश्यकता पर्ने बताए । ‘तपाईँहरूको विश्वविद्यालयको अध्ययन त्यहि स्किल हासिल गर्नका लागि हुनुपर्छ । यहाँ प्राप्त गरेको स्किललाई वृहत स्केलमा कार्यानवयनमा ल्याउन सक्दा मात्रै सफल हुन सकिन्छ ।’ उनले भने, ‘आजको दुनियाँ रफ्तारमा दौडिरहेको छ । तपाईको स्पिडमा दुनियाँ हिड्ने छैन त्यसैले तपाईले दुनियाँको स्पिडमा हिड्न सक्नुपर्छ ।’

चौधरी ग्रुपका अध्यक्ष समेत रहेका चौधरीले नेपाली युवाका तीनवटा सफलताका स्टोरी पाइला टेक्नोलोजी, फुडमारियो र नेपाली धोवीको बारेमा जानकारी दिदै यस्तै सिर्जनशिल अवधारणाले नेपाली युवाहरूले सफलता हासिल गर्ने बताए ।