चालु आर्थिक वर्षमा २ सय ७ मेगावाट विद्युत थपिँदै

चालु आर्थिक वर्षमा २ सय ७ मेगावाट विद्युत थपिँदै


  • छविलाल बगाले

नेपालको जलविद्युत क्षेत्रमा सरकारी चासो बढेको छ । यसैले पनि अहिले विभिन्न नदी नालाहरुमा जलविद्युत आयोजनाहरु निर्माणाधिन छन् । निजी क्षेत्र र सरकारी खर्चमा आयोजना निर्माणको काम युद्धस्तरमा अघि बढेका छन् ।

चालु आर्थिक बर्षमा २ सय ३८ मेगावाटका जलविद्युत आयोजना सम्पन्न गर्ने नेपाल विद्युत प्राधिकरणको लक्ष्य भएपनि ठेकेदार कम्पनी, प्रसारण लाइन र बैंक बाधक बनेका छन् । जसका कारण ‘प्रोजेक्सन’ गरिएकामध्ये केही आयोजनाहरु चालु आर्थिक बर्षमा नसकिने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक बर्षमा निजी र सरकारी गरी १८ वटा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गर्ने प्राधिकरणको योजना थियो । यि सबै आयोजनाको कुल जडित क्षमता २ सय ३८ मेगावाट हो ।

‘योजनामा राखिएका १८ आयोजनामध्ये १६ आयोजना निजी प्रवद्र्धकले र २ वटा सरकार आफैंले निर्माण गरेका हुन् ।’ उनले भने, ‘अहिले निजी क्षेत्रले निर्माण गरेका ५ वटा जलविद्युत आयोजना सम्पन्न भइसकेका छन् । केही आयोजनाहरु २ महिना अगावै सम्पन्न गर्नुपर्ने भएपनि ठेकेदार, प्रसारण लाइन र बैंक बाधक भएको छ ।’ उनका अनुसार चालु आर्थिक बर्षमा ८ दशमलव ८ मेगावाटको रुदी खोला ‘ए’, २२ मेगावाटको बागमती खोला, ७ दशमलव ८ मेगावाटको सुपर माई, ९० किलोवाटको सोबुवा खोला–२ र ९६० किलोवाटको विष्नु प्रिया सोलार प्लान्टको निर्माण सम्पन्न भई विद्युत उत्पादनसमेत शुरु भइसकेको छ ।

प्राधिकरणले चालु आर्थिक बर्षमा सरकारी र निजी क्षेत्र गरी कुल २ सय ७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । उर्जा मन्त्रालयले चालु आर्थिक बर्षमा एक हजार मेगावाटको लक्ष्य राख्दा प्राधिकरणले भने २ सय ३८ मेगावाटको लक्ष्य राखेको थियो । मन्त्रालयले आगामी तीन बर्षमा ३ हजार, पाँच बर्षमा ५ हजार र १० बर्षमा १५ हजारको लक्ष्य बनाइरहँदा पहिलो बर्षमै लक्ष्य असफल भएको हो ।

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक बर्षमा सम्पन्न गर्ने गरी विभिन्न नदी बेसीनमा निर्माणाधिन ११ आयोजनालाई प्राथमिकतामा राखेको छ । प्राधिकरणले १०० किलोवाट क्षमताको मिदिम खोला, ३ दशमलव ३३ मेगावाटको कपडी गढ, ८ मेगावाटको अपर नौगाढ, दशमलव ९० मेगावाटको इवा खोला, २० मेगावाटको लोअर मोदी, २१ दशमलव ६० मेगावाटको तल्लो हेवा खोला, २५ मेगावाटको कावेली बि–वान, ५ मेगावाटको पिखुवा खोला, ९ सय ५७ किलोवाटको तल्लो छोटे खोला, ६० मेगावाटको माथिल्लो त्रिशुली थ्रि–ए र १४ मेगावाटको कुलेखानी तेस्रोलाई प्राथमिकताभित्र राखेको छ । यि आयोजनामध्ये अधिकांशको प्रगति ९५ प्रतिशतमाथि छ ।

प्राधिकरणले आगामी आर्थिक बर्ष २०७६/७७ मा ४ सय ५६ मेगावाटको अपर तामाकोसीसहित १ हजार १ सय ५० मेगावाट विद्यु्त उत्पादनको लक्ष्य राखेको छ । जलविद्युत आयोजना निर्माणमा निजी क्षेत्र सरकारभन्दा अघि भएपनि निजी क्षेत्रलाई गर्ने व्यवहार भने उस्तै छ । जसका कारण आयोजना निर्माणमा केही ढिलाई भइरहेको छ ।