मुलुकभित्रै रोजगारी पाउने अवस्थाको सिर्जना गर्नुपर्छ : पूर्व राज्यमन्त्री गुरुङ

मुलुकभित्रै रोजगारी पाउने अवस्थाको सिर्जना गर्नुपर्छ : पूर्व राज्यमन्त्री गुरुङ


पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मुलुकभित्रै सबै नागरिकले सम्मानपूर्वक रोजगारी पाउने अवस्थाको सिर्जना गर्नुपर्ने बताएका छन् । १३०औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक सन्देश दिदैं पूर्व राज्यमन्त्री गुरुङले देश विदेशमा रहेका श्रमिकलाई शुभकामना ब्यक्त गरेका छन् । उनले मुलुकमा सबै नागरिकलाई रोजगारको ब्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले कामलाई सम्मान गर्नुपर्ने बानीको विकास गर्न आवश्यक रहेको बताउँदै श्रम दिवसले रोजगारदाता र श्रमिक सबैमा थप हौसला प्रदान गर्नेमा विश्वास लिएका छन् । सरकारले श्रमको सम्मानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाएकोले श्रमिकका आर्थिक एवं सामाजिक हक अधिकार सुनिश्चित गराउन बल पुग्ने बताएका छन् ।

आफ्नो सन्‍देशमा उनले भनेका छन्, ‘अन्तराष्ट्रिय श्रमिक दिवसले श्रमिक कामदारको लागि विशेष महत्व राख्दै आएको भए पनि आजको परिवर्तित वातावरणमा श्रमिक र रोजगारदाता सबैका लागि यो दिवस उत्तिकै महत्वपूर्ण हुन गएको छ ।’ उनले मजदुर र उद्योगीहरुको सहकार्यबाट औद्योगिक प्रवर्द्धनमा सहयोग पुगेको बताएका छन् ।