नुन बेच्ने नक्कली कम्पनी !

नुन बेच्ने नक्कली कम्पनी !


मिलेनिया ग्लोबल कम्पनीको नामबाट देशभर नुनको बिक्रीवितरण गर्ने भन्दै खुल्लमखुल्ला डिलरसिपको माग गरेकोप्रति साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आपत्ति जनाएको छ । विद्यमान सरकारी ऐन कानुनविपरीत पछिल्लो समयमा सम्बन्धित सरकारी निकायबाट स्वीकृति नै नलिई भारतमा उत्पादित नुनको बिक्री वितरणका लागि भन्दै मिलेनिया ग्लोबल कम्पनीले डिलरसिपको माग गरी विज्ञापन जारी गरेर ठगी धन्दा चलाएको खुलासा भएपछि साल्ट ट्रेडिङ गम्भीर बनेको हो ।

मिलेनिया ग्लोबल कम्पनीले गैरकानुनी तवरबाट टाटा साल्ट (नुन)को बिक्रीवितरणका लागि डिलरको माग गर्नु विद्यमान कानुनविपरीत रहेको कर्पोरेसनको भनाई छ । कर्पोरेसनका अनुसार २०७३ चैत ३ गतेको मन्त्रिपरिषद् बैठकबाट भएको निर्णयअनुसार नुनजन्य सामग्रीको बिक्रीवितरण साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मात्र गर्न पाउने अनुमति दिएकाले अन्य कम्पनीबाट नुनको कारोबार गर्न मिल्दैन ।

बत्तीसपुतली काठमाडौंमा कार्यालय नै राखेर दैनिक पत्रिकामा नुन बिक्रीका लागि डिलरसिपको माग गर्दा समेत सम्बन्धित निकायबाट कुनै अनुसन्धान नहुनु अर्को रहश्यको विषय बनेको छ । भारतमा सो नुन १७ भारतीय रुपैयाँमा बिक्री हुँदै आएको छ, नेपालमा भने साल्ट ट्रेडिङले नुन प्रतिकिलो २० रुपैयाँमा बिक्री गर्ने गरेको छ । ठगी गर्ने कम्पनीले यसरी विना स्वीकृति गुणस्तरसमेत चेकजाँच नगरी नुन नेपाल भित्र्याएको बुझिएको छ ।

सम्बद्ध सरकारी निकायका अनुसार मन्त्रिपरिषद्को निर्णयले नुनको कारोबार साल्ट ट्रेडिङले मात्र गर्न पाउने अधिकार छ । नेपालमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले शक्ति, भानु र आयो नुन बिक्रीवितरण गर्दै आएको छ भने सो ब्राण्डमध्ये आयोनुन बढी खपत हुने गरेको छ । यस्तोमा चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालका छोरा उमंग अग्रवालको कथित कम्पनीले डिलरसिपका लागि भन्दै रकम संकलन गर्ने र उक्त रकम लिएर भाग्ने योजना गरेको हुनसक्ने आशङ्का व्यवसायीहरूले गरेका छन् ।