शेयर बजार ओरालो लाग्ने क्रम बिहीबार पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४.२१ बिन्दुले घटेर एक हजार २९४.३९ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२८ बिन्दुले घटेर २७७.८२ बिन्दुमा झरेको छ । कारोबार रकममा समेत उल्लेख्य अंकले घटेको छ । कुल १७० कम्पनीको १८ लाख तीन हजार २६ कित्ता शेयर रु. ५८ करोड ७८ लाख ५५ हजार ११३ मूल्यमा खरिद–बिक्री भए ।
कारोबार भएका दश उपसमूहमध्ये बिहीबार तीन उपसमूहको मात्रै शेयर बढेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । होटेल १३.६३, निर्जीवन बिमा ३७.५५ र उत्पादन ३८.०८ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ६.६७, विकास बैंक १०.३२, जलविद्युत ४.५०, वित्त ३, अन्य १.३४, लघुवित्त ६.९ र जीवन बिमा १८.६८ बिन्दुले घटेको छ । कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । प्रतिकित्ता रु. ३१४ मा रु. चार करोड ७२ लाख आठ हजार ५२३ मूल्यमा कारोबार भएको छ ।
यस्तै दोस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । प्रतिकित्ता रु. एक हजार तीनमा रु. दुई करोड ६६ लाख १५ हजार १३५ मा सो कम्पनीको शेयर कारोबार भयो । यस्तै शिवम् सिमेन्ट रु. दुई करोड ५२ लाख १७ हजार २८२, सिभिल बैंक रु. दुई करोड दुई लाख ६६ हजार ९९१, छिमेक लघुवित्त वित्तीय संस्था रु. एक करोड ९४ लाख ५३ हजार ७२८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार हिमालयन डिस्टिलरीका शेयरधनीले ५.२७ प्रतिशतले कमाए । यस्तै शिवम् सिमेन्ट ४.८८, युनिभर्सल पावर कम्पनी ४.०८, बोटलर्स नेपाल तराई ३.७९, प्रभु बैंकको संस्थापक शेयरधनीले ३.७७ प्रतिशतले कमाएका छन् । यस्तै युनाइटेड मोदी हाइड्रो पावर ५.०४, नबिल इक्विटी फन्ड ४.९४, एक्सेल डेभलपमेन्ट बैंक ४.७६, सिन्धु विकास बैंक ४.४१, रैराङ हाइड्रो पावरका शेयरधनीले ४.१२ प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया