आजदेखि नीति तथा कार्यक्रममा छलफल, सत्तारुढ र प्रतिपक्ष दुबैको असन्तुष्टि

आजदेखि नीति तथा कार्यक्रममा छलफल, सत्तारुढ र प्रतिपक्ष दुबैको असन्तुष्टि


शुक्रबार संघीय संसदमा पेस भएका सरकारको बार्षिक नीति तथा कार्यक्रममा आज आइतबारदेखि छलफल शुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि सत्तारुढ र प्रतिपक्ष दुबै दलका साँसदहरुले असन्तुष्टि जनाएका हुन् ।

संसदमा पेस भएको कार्यक्रममा शनिबार संशोधनका लागि समय दिइएको थियो । संसद सचिवालयकाअनुसार अहिलेसम्म प्रमुख प्रतिपक्ष दलसहित ३ दलका ६ वटा संशोधन दर्ता भएका छन् ।

सरकारले चालु वर्षको कार्यक्रम समीक्षासहित पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका केन्द्रमा केही नयाँ कार्यक्रम सामेल गरेर शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रममा पेस गरिएका केही तथ्याङ्क तथा भाषाका विषयलाई लिएर सत्तारुढ दलभित्रै चर्को आलोचना भइरहेको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत नीति तथा कार्यक्रमको बचाउँ गर्दै कोकोहोलो नमच्चाउन सबैमा आग्रह गरेका छन् । उनले यसो भनिरहँदा उनकै साँसदहरुले बिरोध गर्दै आइरहेका छन् ।