भृकुटीमण्डपको अब्यवस्थित नेपाली जुत्ता–चप्पल मेला सधैंका लागि बन्द

भृकुटीमण्डपको अब्यवस्थित नेपाली जुत्ता–चप्पल मेला सधैंका लागि बन्द


काठमाडौंको भृकुटीमण्डपस्थित् सानो चौरमा अब्यवस्थित रुपमा सञ्चालन हुँदै आएको नेपाली जुत्ता चप्पल तथा फुटवेयर वस्तुहरुको ‘सेल–मेला’ आजबाट सधैंका लागि बन्द हुने भएको छ ।

विदेशी ‘जुत्ता–चप्पल’ उद्योगीहरुले गरेको पत्रकार सम्मेलनमा उत्पादन भएका जुत्ता चप्पलहरुलाई कसरी लोकप्रिय बनाउने भन्ने सम्पुर्ण उद्योगीहरुको योजनाअनुरुप अब उप्रान्त सेल–मेला नलाग्नेबारे निर्णय भएको आयोजकले जानकारी गराएको छ । कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन नेपालका अध्यक्ष श्रीकृष्ण फुयाँलले नयाँ कामको सुरुवात गर्नकै लागि यो मेलालाई बन्द गर्नुपरेको जानकारी गराएका छन ।

सामुहिक प्रतिबद्धताअनुरुप उक्त स्थानमा सञ्चालन हुँदै आएको मेलालाई बन्द गर्न आफुहरु तयार भएको उनको भनाई थियो । अहिले सञ्चालनमा रहेको उक्त मेलालाई आफ्ना तीनवटै संगठनको योजनाअनुसार आउने चूनौतीहरुको सामना गर्ने सहमतिअनुरुप यो कार्य गरिएको उनले बताए ।

व्यापारी तथा उपभोक्ताहरुको मागलाई सम्बोधन गर्दे आफुहरुले देशैभरि आफ्ना उत्पादनहरुको उपलब्धता गराउने सोचका साथमा यो निर्णय गरिएको उनले स्पष्ट पारे । देशमा धेरै उद्योग तथा कलकारखानाहरु आवश्यक रहेको बताउँदै उनले उद्योगको विकासलेमात्र समृद्धि हाँसिल गर्न सकिने धारणा राखेका थिए ।

आफ्ना उत्पादनहरु व्यापारीहरुले बिक्रि गर्न उपभोक्तासम्म बस्तुलाई पुर्याउने हो भने आफुहरुको व्यापारले थप उचाई लिने उनले आशा ब्यक्त गरे । ब्यापारीहरुले स्वदेशी ब्रान्डलाई बिक्रि बितरणमा जोड दिन आवश्यक रहेकोपनि उनको भनाई छ । त्यस्तै, कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन नेपालका निर्वतमान अध्यक्ष रविनकुमार श्रेष्ठले व्यवस्थित तरिकाबाट जुत्ता–चप्पलको व्यापार आवश्यक रहेको धारणा राखेका छन । व्यवसायीहरुले दिर्घकालिन रुपमा आफ्नो व्यवसाय बढाउनपनि स्वदेशी उत्पादनलाई माया गर्न आवश्यक रहेको जानकारी गराए ।

त्यस्तै कार्यक्रममा बोल्दै उद्योगी प्रमोद महतोले कुनैबेला भृकुटीमण्डपमा मेलाको आवश्यकता रहेपनि अब योभन्दा फरक किसिमले आफ्ना उत्पादनहरुलाई उपभोक्तासम्म पुर्याउन आवश्यक रहेको बताए । अहिले चीनबाट आयातित हुने थुप्रै जुत्ता–चप्पलहरु जसले मानव स्वास्थ्यमा प्रतिकुल असरसमेत पार्ने खालका रहेको भन्दै उनले त्यस्ता वस्तुहरुले नेपाली बजारलाई पनि असर पारिरहेको सुनाए । सस्तो लोकप्रियताले नेपाली जुत्ता उत्पादनलाई दबाउन खोजिरहेको आरोप लगाउदै उनले अबदेखि ‘सेल–मेला’ नभएर वार्षिक रुपमा प्रर्दशनी गर्न आवश्यक रहेको जनाए ।

त्यस्तै , कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन नेपालका पुर्व अध्यक्ष होमनाथ उपाध्यायले २०५९ सालमा आफूहरुको पहलमा उक्त मेलाको आयोजना सुरु गरेपनि अब समय सन्र्दभको हिसाबले बन्द गर्नुपर्ने अवस्था आएको जिकिर गरे । अहिलेसम्म आफ्ना उत्पादनलाई उपयुक्त बजारीकरणको मेसोको रुपमा हेर्ने गरिएतापनि अहिले नेपाली जुक्ता–चप्पलको बजार खस्किँदै गएको भन्दै हरेक पसलमा आफ्ना उत्पादनहरुलाई उपभोक्ताहरुले पाउने उनको दाबी छ ।

कार्यक्रममा बोल्दै शिखर शुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईले नेपाली जुत्ता नचिन्ने समयदेखि नै आफुहरुले ग्राहकको मन जित्न सफल भएको दाबी गरेका छन ।