नेपाली अर्थतन्त्रलाई राम्रोसँग केलाउन सक्ने ५ कार्यकारी निर्देशकहरुले अवकाश पाउने भएका छन् । पाँचै कार्यकारी निर्देशकहरुले जेठ २५ गतेदेखि राष्ट्र बैंकबाट अनिवार्य रुपमा अवकाश पाउँदैछन् । राष्ट्र बैंकमा कार्यरत १७ कार्यकारी निर्देशकहरुमध्ये खारिएका ५ कार्यकारी निर्देशकले अनिवार्य अवकाश पाउन लागेको एक कर्मचारीले बताए ।
उनकाअनुसार निकै खारिएका र अर्थतन्त्रलाई राम्रोसँग केलाउन सक्ने ब्यक्तिका रुपमा कहलिएका कार्यकारी निर्देशकहरु नरबहादुर थापा, नारायण पौडेल, जनक अधिकारी, भीष्मराज ढुंगाना र झलक शर्मा यही बैशाख २५ गतेदेखि बिदामा बस्दैछन् । राष्ट्र बैंकमा अनिवार्य अवकाशको १ महिना अघिदेखि विदामा बस्ने चलन छ ।
थापा राष्ट्र ऋण व्यवस्थापन, पौडेल बैक तथा वित्तीय संस्था नियमन, अधिकारी लघुवित्त, ढुंगाना विदेशी विनिमय व्यवस्थापन र शर्मा बैंकिङ कार्यालय विभागका कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् । केन्द्रीय बैंकको कर्मचारी सेवा नियमावली २०६८ ले अन्य कर्मचारीका हकमा ३० वर्षे सेवा अवधि वा ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउने व्यवस्था गरे पनि कार्यकारी निर्देशकका लागि भने ७ वर्ष निरन्तर सो पदमा रहेको व्यक्तिले समेत अनिवार्य अवकाश पाउने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुरुप उनिहरुले अवकाश पाउन लागेका हुन् ।
राष्ट्र बैंककै कर्मचारीहरुका अनुसार ५ कार्यकारी निर्देशकले अवकाश पाउने भएपछि अन्य निर्देशकहरु कामू बन्ने दौडधुपमा छन् । तर अहिले कार्यकारी निर्देशक पाउन त्यति सजिलो भने छैन । अहिले कार्यकारी निर्देशक बन्न अर्थमन्त्री डा. युवराज खतिवडाको आशीर्वाद आवश्यक पर्छ । त्यसैले कार्यकारी निर्देशकको लाइनमा रहेकाहरु खतिवडाको शरणमा पुग्न थालेको कर्मचारीहरु बताउँछन् ।
प्रतिक्रिया