२०औँ घलेगाउँ महोत्सव शुरु, पर्यटकको रोजाईमा होमस्टे

२०औँ घलेगाउँ महोत्सव शुरु, पर्यटकको रोजाईमा होमस्टे


दक्षिण एशियाकै नमूना एवं नेपालकै पहिलो स्मार्ट भिलेज उन्मुख घलेगाउँमा २०औँ घलेगाउँ महोत्सव शुरु भएको छ । ‘प्राकृतिक सुन्दरता, गुरुङ कला संस्कृति र घरबास, घलेगाउँ संबृद्धिको आधार स्मार्ट भिलेज, स्थानीय लोक संस्कृति संरक्षण र प्रवद्र्वन, ग्रामीण पर्यटनको विकासको पूर्वाधार’ भन्ने नाराका साथ सोमबारदेखि घलेगाउँमा महोत्सव शुरु भएको हो ।

महोत्सवमा गुरुङ समुदायको परम्परागत गुरुङ संस्कृति, घाटु, सेर्का, सोरठी, कृष्ण चरित्र, घ्याब्रेलगायतका पौराणिक नृत्य प्रस्तुत गरिएको छ । गुरुङ चलचित्रका कलाकार मनोज गुरुङ, निस्ता गुरुङ, प्रिया गुरुङ साथै स्थानीय कलाकारले महोत्सवमा आफ्नो प्रस्तुति दिएका थिए । मनोरम प्राकृतिक दृश्यावलोकन, पौराणिक हस्तकला सामग्री प्रदर्शनी, स्थानीय कृषि उपजको प्रदर्शनी, हिमालको दृश्यावलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, गोरखा आर्मी उद्यान, सार्क भिलेज पर्यटन सङ्ग्रहालय, पौराणिक भेँडीगोठ, तिजे उत्तरकन्या मन्दिर, नमूना चियाबगान महोत्वसको मुख्य आकर्षण रहेको छ ।

घलेगाउँलाई ‘स्मार्ट भिलेज’का रूपमा चिनाउन महोत्सव
आर्थिक समृद्वि, ग्रामीण गुरुङको लोक संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्वन गर्न र घलेगाउँलाई ‘स्मार्ट भिलेज’का रूपमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँ लमजुङका अध्यक्ष तथा क्होलासोथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन घरबास कार्यक्रम
उनले भने, ‘ग्रामीण पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाई नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई हामी आफ्नो तर्फबाट कार्यान्वयन गर्न चाहन्छौँ । ग्रामीण पर्यटन र होमस्टे (घरबास)को माध्यमबाट घलेगाउँवासीको मात्र नभई सिङ्गो गाउँपालिकाको प्रचारप्रसार, विकास र समृद्विमा हामी लागेका छौँ ।’


नेपालकै पहिलो स्मार्ट भिलेजको रूपमा अघि बढ्दै

मुलुकमा विसं २०६२÷६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएलगत्तै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । त्यस्तै, विसं २०५६ बाट शुरु भएको ग्रामीण पर्यटन प्रवद्र्धनका प्रयासबाट घलेगाउँ अहिले नेपालकै पहिलो स्मार्ट भिलेजको रूपमा अघि बढेको छ ।

रातो रङ्गको छानाले आकर्षण पार्दै
घलेगाउँलाई गत पुस १० गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्मार्ट भिलेजको शुभारम्भ गरेका थिए । यसको पूर्वाधार विकासका लागि गण्डकी प्रदेश सरकार र गाउँपालिकाले केही आर्थिक सहयोग गरेका छन् । स्मार्ट भिलेजको अभियानअन्तर्गत गाउँका १२५ घरधुरीमध्ये ८० प्रतिशत घरमा पुराना छाना हटाएर नयाँ रातो रङ्गको जस्ता छाना लगाएको समितिका सचिव उमलबहादुर विकले बताए । घलेगाउँ समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको छ ।

३४ घरमा होमस्टे सञ्चालन, २० हजार पर्यटक पुगे घलेगाउँ
विसं २०५७ देखि घलेगाउँ महोत्सवको शुरुवात भएको हो । सोही वर्षबाट होमस्टे कार्यक्रमको समेत शुरुवात भयो । शुरुआतमा १२ होमस्टेबाट अघि बढेको घलेगाउँमा अहिले ३४ घरमा होमस्टे सञ्चालन गरिएकोे छ । वर्षेनी हजाराँैको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक घलेगाउँ पुग्ने गरेका छन् । यस आर्थिक वर्षको साउनदेखि वैशाख १७ गतेसम्म मात्रै आन्तरिक तथा बाह्य पर्यटक गरी २० हजार आएको सो समितिले जनाएको छ ।

सदरमुकाम बेसीशहरबाट नजिकै
बेसीशहर बजारबाट ३२ किलोमिटर ग्रामीण कच्ची सडक पार गर्दै मोटरमा करीब साढे २ घण्टामै घलेगाउँ पुग्न सकिन्छ । पैदलबाट भने पाँचदेखि छ घण्टामा पुग्न सकिन्छ । यात्राका क्रममा केही कठिन भएपनि घलेगाउँ पुगेपछि भने स्वर्गको अनुभूति हुने गरेको अधिकांश पर्यकहरु बताउँछन् ।

१६ महीनाभित्र बेसीशहर–घलेगाउँ’ सडक कालोपत्रे गर्ने मन्त्रीको घोषणा
सो अवसरमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले होमस्टे पुराना तरिकाले नचल्ने भन्दै नयाँ प्रविधि र ज्ञान आवश्यकता पर्ने बताए । मन्त्री लम्सालले भने, ‘बेँसीशहरबाट घलेगाउँ आउने ३२ किलोमिटरको कच्ची सडक आगामी १६ महीनाभित्र गण्डकी प्रदेश सरकारले कालोपत्र गर्छ ।’ पर्यटनबाट रोजगारी सिर्जना गरी आर्थिक समृद्धि हासिल गर्ने भएकाले चार हजारभन्दा बढी नयाँ फार्ममा गण्डकी सरकारले लगानी गरिरहको उनले बताए ।

१५ लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्यमा सहयोग पु¥याउँदै
गण्डकी प्रदेश सरकारको सन् २०१९ सम्म १५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको मन्त्री लम्सालले बताए । त्यस्तै प्रदेशसभा सदस्य मधु अधिकारीले होमस्टेमा पर्यटकलाई जैविक परिकार दिएर स्थानीयवासीको आयवृद्विमा टेवा पु¥याएको बताए ।