व्यापार घाटा बढ्दैं जाँदा विदेशी मुद्रा सञ्चिति पनि घट्न थालेको छ । चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति १० खर्ब ५० अर्ब ८५ करोड रुपैयाँमा झरेको हो ।
रेमिट्यान्समा करिब २१ प्रतिशतको वृद्धि हुँदा पनि उच्च व्यापार घाटामा उच्च दरले वृद्धि हुँदा गत असारमाभन्दा अहिले विदेशी मुद्राको सञ्चिति घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंककाअनुसार पछिल्लो समय निर्यातको तुलनामा आयातमा तिब्र वृद्धि भएको छ । जसका कारण विदेशी मुद्राको सञ्चिति घट्दै गएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।
अहिले देशमा बजेटको आकार बराबरको आयात हुन्छ । तर विदेशी मुद्राको प्रमुख आम्दानीको स्रोत भनेको बैदेशिक रोजगारी रहेको छ । पर्यटन क्षेत्रबाट हुने आम्दानी तुलनात्मक रुपमा निकै कम छ ।
पछिल्लो समय व्यापार घाटा चुलिदैं जाँदा विदेशी मुद्राको सञ्चिति घट्दै गएको छ । राष्ट्र बैंकको तथ्याङक अनुसार गत वर्षको असारमसान्तमा ११ खर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा सञ्चिति रहेकोमा चैत मसान्तमा आइपुग्दा १० खर्ब ५० अर्ब ८५ करोड रुपैयाँमा झरेको छ । त्यसमध्ये ८ खर्ब ९७ अर्ब १३ करोड रुपैयाँ नेपाल राष्ट्र बैंकमा रहेको छ । अर्थविद्हरु भने रेमिट्यान्सबाट आएको रकम उत्पादनमुलक क्षेत्रमाभन्दा उपभोग्य वस्तुमा खर्च हुने प्रवृतिले आयात बढ्न गई व्यापार घाटा बढेको बताउँछन् । यसैको प्रतक्ष प्रभाव विदेशी मुद्राको सञ्चितिमा पर्दै गएको छ ।
सरकारसँग अहिले करिब ९ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति छ । चालु आर्थिक वर्षको नौ महिनासम्ममा ६ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । तर यो समयमा १० खर्ब ६१ अर्बभन्दा बढी रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । अहिले १० महिनाको तथ्यांकलाई हेर्ने हो भने बाह्य मुलुकसँगको व्यापार घाटा ११ खर्ब बढि छ ।
प्रतिक्रिया