गणतन्त्र दिवसकै दिन साङ्केतिक रुपमा खुलाइँदैछ तातोपानी नाका

गणतन्त्र दिवसकै दिन साङ्केतिक रुपमा खुलाइँदैछ तातोपानी नाका


चार बर्षदेखि बन्द तातोपानी नाका आज अर्थात जेठ १५ देखि साङ्केतिक रुपमा संचालनमा आउँदै छ । नेपाल–चीनको प्रमुख व्यापारिक उक्त नाका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र चिनियाँ अधिकारीले बुधबार औपचारिक रुपमा शुभारम्भ गर्नेे कार्यक्रम छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार तातोपानी नाकाबाट तत्कालका लागि मालबाहक ट्रकमात्र आवात–जावत हुनेछन् भने मानिसहरुलाई आवत–जावत गर्न भने तत्काल दिइने छैन ।

तर बन्द नाका खुलाउन नेपाल र चिनियाँ पक्ष दुवै तयार रहँदा सडक र अन्य पूर्बाधार भने बाधक बनेका छन् । अहिले नेपालतर्फ सुख्खा बन्दरगाहको निर्माण सकिएपनि नेपाल र चीनको सिमानामा पर्ने मितेरी पुलको निर्माण भने भइरहेको छ । यस्तै, चीनतर्फको खासा बजार र अन्य क्षेत्रको मर्मत संभारदेखि स्तरोनन्नतीको काम भइरहेको छ । प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेत सुविधा सम्पन्न डाइपोर्ट बनेकोले नाका सञ्चालनका लागि सहज हुने तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेतले जानकारी दिए ।

जसरी पनि नाका संचालन गर्नुपर्ने बाध्यता नेपाल सरकारलाई छ । बार्षिक ८ अर्बको वरिपरी राजस्व संकलन हुने तातोपानी नाका बन्द हुँदा सरकारलाई राजस्वको लक्ष्य भेट्न मुश्किल पर्ने गरेको छ । तर नाका सहज भएपछि यो तथ्यांक बढ्ने भन्सार कार्यालयको दावी छ । निरिक्षणका लागि गत शनिबार गृहमन्त्री रामबहादुर थापासँगै तातोपानी नाका पुगेका साँसद अग्नि सापकोटाले नाका संचालन र पूर्बाधार निर्माण सँगसँगै गर्ने बताए ।

नाका खुल्ने भएपछि व्यवसायीहरु पनि उत्साहित छन् । अवलोकनका लागि तातोपानी पुगेका नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालसहितको टोलीले सडक पूर्बाधार र सरकारीतर्फबाट सुरक्षाको प्रत्याभूति भए काम गर्न सहज हुने बताए । नाका सञ्चालनमा आएपछि भन्सार र व्यवसायीहरुको सीधा पहुँच हुनुपर्ने आवाज उठाउँदै आएका छन् ।

चीन सरकारले १ अर्ब २० करोड रुपैयाँ सहयोगमा लार्चामा अत्याधुनिक सुक्खा बन्दरगाहको समेत निर्माण गरिदिएको छ । जसका कारण नेपाललाई फाइदा पुगेको छ । ‘सुक्खा बन्दरगाह ५०० रोपनी क्षेत्रफलमा फैलिएको छ । यसअघि सीमापुलस्थित लिपिङबाट भन्सारको काम हुँदै आएकामा त्यहाँदेखि ६.५ किलोमिटर वर रहेको लार्चाबाट सबै काम हुने छ ।’ प्रमुख भन्सार अधिकृत बस्नेतले भने, ‘निर्माण सम्पन्न सुख्खा बन्दरगाह अन्तराष्ट्रिय स्तरको छ । बन्दरगाहमा १ सय ५८ ठूला कन्टेनर र २३ भन्दा बढी कार अट्ने गरी निर्माण गरिएको हो ।’

सुख्खा बन्दरगाहभित्र बैंक, कृषि, पशु क्वारेन्टाइन लगायतका कार्यालयहरु पनि निर्माण भएका छन् । यसअघि तातोपानी भन्सारमा हुने विचौलियाहरुको विगविगी अब कम हुने विश्वास व्यवसायीहरुले लिएका छन् । नवनिर्मित बन्दरगाहको निर्माण २०७० पुसदेखि सुरु भएपनि गरिएको थियो । ३० महिनाभित्र काम सक्ने लक्ष्य भएपनि भूकम्प र भोटेकोशी नदीको बाढीका कारण बन्दरगाह ढिलागरी निर्माण सकिएको हो ।