सांसदलाई १० करोड नै चाहिन्छ : डा. खड्का

सांसदलाई १० करोड नै चाहिन्छ : डा. खड्का


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा. नारायण खड्काले सांसदहरुलाई छुट्याईएको ६ करोड रुपैयाँ स्वागतयोग्य भएको भन्दै यसलाई अझै बढाएर दश करोड पुर्याउनुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘सांसदलाई पैसा दिने कुरा ठीक छ । यो गर्नुपर्छ । सांसदलाई विकाससँग जोड्नको लागि पनि यो गर्नुपर्छ ।’

अमेरिका, भारतलगायतका देशमा पनि यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भैरहेको उदाहरण दिँदै उनले यसमा कसैले विरोध गर्नुको औचित्य नभएको पनि जिकिर गरे । उनले भने,‘कसैले सस्तो लोकप्रियताको नाममा यो कार्यक्रमको विरोध गर्नुको अर्थ छैन् ।’ संघीयतालाई बलियो बनाउनको लागि पनि यो आवश्यक रहेको उनको भनाई छ ।

उनले आर्थिक क्रियाकलापको आधार कमजोर भएको स्पष्ट पारेका छन् । सामाजिक सुरक्षाको दायित्व झण्डै ७० अर्वको हाराहारीमा पुगेकोमा पनि खड्काले चिन्ता व्यक्त गरे ।
पुँजीगत खर्च ४५ प्रतिशतभन्दा बढि हुन नसकेकोमा खड्काले गुनासो पोखे । उनले भने,‘हामीले प्राप्त गरेको मन्त्रालयगत पुँजीगत खर्चको विवरण हेर्दा ४५ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ । अरुभन्दा कम खर्च अर्थ मन्त्रालयको देखिएको छ, एकदमै कम छ ।’ खड्काले सामाजिक सुरक्षाको दायित्व बढि भएको भन्दै भेनेजुएलाको जस्तै अवस्था आउनसक्ने खतरा पनि औंल्याए । पछिल्लो दश महिनामा ११ खर्बको व्यापार घाटा रहेको तथ्यांक सुनाउँदै खड्काले बजेट कार्यान्वयनमा पनि समस्या रहेको सुनाए ।

३५ अर्वभन्दा बढिको चामल आयात हुने गरेको सुनाउँदै उनले कृषिजन्य सामान त १ खर्ब हाराहारीमा आयत हुने गरेको पनि सुनाए । उनले भने,‘नेपालको अर्थतन्त्र लाहुरे खालको छ ।’