यती एयरलाइन्सको प्रबन्ध–निर्देशकमा चन्दा

यती एयरलाइन्सको प्रबन्ध–निर्देशकमा चन्दा


निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलायन्सको प्रबन्ध–निर्देशकमा चन्दा शेर्पा नियुक्त भएकी छिन् ।

एयरलायन्सका प्रबन्ध–निर्देशक आङछिरिङ शेर्पाको निधनपछि रिक्त पदमा उनकी धर्मपत्नी चन्दालाई नयाँ जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ । आङछिरिङ शेर्पाको गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।

पर्यटन र उड्डयन क्षेत्रमा रहेको शेर्पाको अर्बको व्यवसाय कसले सम्हाल्ने भन्ने विभिन्न धारणा बाहिर आएको थियो । चन्दा यसअघि यती एडभेञ्चरकी प्रमुख रहेकी थिइन् । कम्पनीले हालै चन्दा शेर्पालाई नयाँ जिम्मेवारी दिएको यती एयरलायन्सका वरिष्ठ प्रबन्धक भीमराज राईले जानकारी दिए ।

एयरलायन्सको कार्यकारी अध्यक्षमा लाक्पा सोनाम शेर्पालाई जिम्मेवारी दिइएको छ । उनी स्वर्गीय आङछिरिङका दाइ हुन् । कम्पनीको उपप्रबन्ध निर्देशमा नोर्बुछिरिङ शेर्पा, यती समूहको कार्यकारी निर्देशकमा विजयबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृतमा उमेशचन्द्र राई र आर्थिक निर्देशकमा अनोज रिमाललाई नियुक्त गरिएको छ ।

यतीसँग हाल एटीआर ७२–५०० चार र जेटस्ट्रिम–४१ सिरिजका पाँच थान जहाज छन् । यतीकै भगिनी संस्था तारा एयरका दुईवटा डोर्नियर डिओ २२८ र चारवटा डीएचसी ६ ट्विनअटर विमानबाट नेपालका विभिन्न दुर्गम स्थानमा सेवा प्रदान गर्दै आएको छ । अबका केही दिनमा यतीको पाँचौँ एटीआर विमान भित्र्याउने तयारी गरिएको यतीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानतर्फ हेलिकोप्टरसहित २० वटा वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।