–छविलाल बगाले
लक्ष्यअनुसारको राजस्व संकलन नभएपछि अर्थमन्त्रालय दबावमा परेको छ । दबावका बीच अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक बर्षमा अझ बढि राजस्व संकलनको महत्वकांक्षी लक्ष्य राखेका छन् । तर अर्थविद् भने राजस्व संकलनमा प्रयोग भएका उपकरणले काम नगरेको र आयातमा गिरावट आएका कारण लक्ष्य प्राप्त नभएको तर्क गर्छन् ।
चालु आर्थिक बर्षमा राजस्व संकलनमा सरकारी लक्ष्य पूरा नहुने भएको छ । वैशाख मसान्तसम्म ९ खर्ब ४५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य संघीय सरकारको थियो । तर यो लक्ष्य १ खर्ब रुपैयाँले अपुग छ । चालु आर्थिक बर्षको बजेटमार्फत अर्थमन्त्री युवराज खतिवडाले ३५ प्रतिशतको राजस्व बृद्धिदरको लक्ष्य राख्दा मुश्किलले २० प्रतिशतको वरिपरी लक्ष्य भेट्टाएका छन् । राजस्व संकलनमा असफल भएका अर्थमन्त्री खतिवडाले आगामी आर्थिक बर्षमा ९ खर्ब ८१ अर्ब १३ करोडको महत्वकांक्षी लक्ष्य राखेका छन् ।

सरकारले हचुवाको भरमा महत्वकांक्षी राजस्वको लक्ष्य लिएको प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ । उसले सरकारले पेश गरेको अनुमानित वजेटको अनुसूची १ को राजस्व अनुमानमा गम्भीर त्रुटि रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । नेपालको राजस्व प्रणाली आयातमा आधारित छ । तर चालु आर्थिक बर्षको भदौंदेखि लगातार आयात घट्दा यसको सोझो असर राजस्व संकलनमा देखिएको अर्थविद् नरबहादुर थापाको तर्क छ ।
आर्थिक वर्षको पहिलो १० महिनामा कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९३ दशमलव ५ प्रतिशत र निर्यातको हिस्सा ६ दश्मलव ५ प्रतिशत छ । आर्थिक सर्वेक्षणअनुसार २०६५÷०६६ मा कूल व्यापारमा निर्यातको अंश १९ दशमलव २ प्रतिशत थियो । उच्च आयात र न्यून निर्यातले चालु खाता घाटा र शोधनान्तर स्थितिलाई ऋणात्मक बनाउँदै लगेको छ ।
प्रतिक्रिया