■ श्याम क्षेत्री, टोकियो (जापान)
दुई साताअघि शक्तिशाली फाक्साई ताईफुले तीनजनाको ज्यान र अर्बौंको क्षति पारेको जापानमा अर्को शक्तिशाली आँधी आउने पूर्वजानकारी गराइएको छ ।
फाक्साई आँधीजस्तै शक्तिशाली रहेको बताइएको उष्ण आँधी टपाहले आइतबार (५ असोज) देखि मियाजागी प्रिफेक्चरबाट असर पार्न शुरु गर्ने जनाइएको छ ।
भारी वर्षा र तीव्र गतिको हावासहित जापानतर्फ अघि बढिरहेको आँधीले जापानभर असर पार्ने अनुमान गरिएको छ ।
आइतबार नागासाकी, कोची, ओसाका हुँदै ताईफु आँधी टपाह आगामी सोमबार मध्य टोकियो आइपुग्नेछ । जापानको मुल भुभागभन्दा केही पर भएर जाने अनुमान जापानको मौसम एजेन्सीले गरेको छ ।
जापानको मुल भूमि नभई सी अफ जापानतर्फ केही नजिक भएर जाने भएकाले समुन्द्रतट क्षेत्रमा बढी असर पार्ने अनुमान गरिएको छ ।
टपाह ताईफु फुकुओका, सिमाने, यामागुची, हिरोसिमा, तोत्तोरी क्षेत्र हुँदै आइतबार ब्यापक असर पारेर सोमबार टोकियो क्षेत्र प्रवेश गर्नेछ ।
यस क्रममा ह्योगो, क्योतो, फुकुई, ईसिकावा, तोयामा, निगाता क्षेत्रमा वितण्डा मच्चाउने ठानिएको ताईफुले मध्य टोकियोलाई आइतबार मध्यरातबाट सोमबार मध्यरातसम्म असर पार्नेछ ।
ताईफु टपाहले सी अफ जापान क्षेत्रतर्फ बढी असर पार्ने भएकाले ताईफु यामागाता, निगाता, आओमोरी हुँदै मंगलबार होक्काइदोतर्फ बढ्ने जापानको मौसम एजेन्सी मेटोरोलोजिकल एजेन्सीले जनाएको छ ।
जापानी समाचार संस्था एनएचके टेलिभिजनले मौसम एजेन्सीलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार टपाह ताईफु शुक्रबार (३ असोज) अपरान्ह दक्षिणी टापु ओकिनावाको दक्षिणी भागबाट पश्चिमतर्फ अघि बढिरहेको जनाएको छ ।
टपाह आँधीबेहरी शनिबार ओकिनावा हुँदै उत्तर दिशातर्फ अघि बढ्ने र आइतबार क्युशु क्षेत्र प्रवेश गर्नेछ ।
ओकिनावा र दक्षिणी क्युशुमा आइतबारसम्म भारी वर्षा गराउने अनुमान गरिएको शक्तिशाली टपाह ताईफुले सोमबार मध्य टोकियो क्षेत्रको जनजीवन प्रभावित बनाउनेछ ।
प्रतिक्रिया