साग सफलताका ‘स्वघोषित’ नायक !

साग सफलताका ‘स्वघोषित’ नायक !


■ श्रीविक्रम भण्डारी

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को समापनसँगै अहिले खेलकुदका थुप्रै पदाधिकारी र कर्मचारीले आफूलाई स्वघोषित ‘नायक’को रूपमा प्रस्तुत गर्दै आएका छन् । आफूलाई स्वघोषित ‘नायक’को बिल्ला भिराउनेमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, विभागीय प्रमुख कुलबहादुर थापा र कमल खनाल अग्रपङ्क्तिमा रहेका छन् । उनीहरूले आफूलाई ‘नायक’को रूपमा प्रस्तुत गर्न गरेको हर्कत, दिएको अभिव्यक्ति र देखाएको फुर्तिफार्तीले पनि त्यो कुरालाई प्रमाणित गरेको छ । अझ राष्ट्रिय टिम तयारी समितिका निर्देशक महेन्द्र राईले सामाजिक सञ्जालमा राखेको स्टाटस हेर्दा उनी पनि ‘नायक’भन्दा कम देखिएका छैनन् । यसरी आफ्नो शरीरमा आफैँ खरानी घस्दै स्वघोषित ‘नायक’ बन्नेहरू साँच्चिकै १३औँ सागका ‘नायक’ हुन् कि ‘फुस्रे जोगी’ मात्रै, त्यो अहिले चर्चा र विश्लेषणको विषय बनेकोे छ ।

राखेपका सदस्यसचिव सिलवालले १३औँ साग आफूले गरेको भन्दै डङ्का पिट्दै आएको कसैबाट छिपेको छैन । सिलवालले विभिन्न सञ्चारमाध्यममा १३औँ सागको वास्तविक ‘नायक’ आफू भएको भनी दाबी गर्दै दिएको अन्तर्वार्तावाट पनि सोझै अनुमान लगाउन सकिन्छ । साथै विभिन्न सभा–समारोहमा सिलवालको फूर्तिफार्ती देख्दा साग उनको एकल प्रयासले भएको भान हुन्छ । के पाँच महिनाअघि मात्रै राखेपको सदस्यसचिवमा नियुक्ति भएको व्यक्तिले १३औँ सागजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्छ ? प्रश्न जति सरल छ, उत्तर पनि त्यति नै सरल छ– ‘गर्न सक्दैन भन्ने, अनि केको फुर्तिफार्ती ।’ के सिलवालले यो छोटो समयमा कुनै जादुको छडी चलाएर सागको आयोजना सम्भव बनाएका हुन् त ? कदापि होइन, यो नियमित प्रक्रिया थियो, सिलवालले अरूले चपाएको निलेका मात्र हुन्, सत्य यो हो, यसमा कसैको सायदै दुईमत होला ।

१३औँ सागको आयोजनाप्रति राज्य पहिले कछुवाको चाल थियो । जानीबुझी पनि राज्यले १३औँ सागप्रति कुनै चासो राखेको थिएन । यसका विभिन्न कारण थिए, त्यो पूर्वखेलकुदमन्त्री राजेन्द्रकुमार केसी र वर्तमान खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)लाई राम्रोसँग थाहा छ । दुई वर्षसम्म मन्त्री सुनार किन कानमा तेल हालेर बस्न बाध्य भए र सागको आयोजनाप्रति किन कुनै महत्वपूर्ण भूमिका निभाउन सकेनन् त्यसको कारण पनि उनलाई राम्रोसँग थाहा छ । तर, विडम्बना ! चाहेर पनि केही गर्न नसक्ने लाचार अवस्थामा थिए मन्त्री विश्वकर्मा । त्यसैले उनलाई सागबारे प्रश्न गर्दा एउटै उत्तर दोहो¥याउँथे, ‘जहिलेसम्म राष्ट्रिय रंगशाला ‘दशरथ रंगशाला’ पूर्ण रूपमा तयार हुँदैन तबसम्म कुनै क्रियाकलाप अगाडि बढ्दैन ।’ यो उनको बाहना मात्रै थियो किनकि उनी पनि १३औँ साग हुने कुरामा विश्वस्त थिएनन् ।

जब प्रदेश नम्बर पाँच नेपालगञ्जमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफलताका साथ सम्पन्न भयो, त्यसपछि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा १३औँ सागबारे बोलेको कुरा राज्यलाई स्मरण भयो । यतिबेला सागको आयोजनाको लागि राज्यसँग लगभग ७ महिनाको समय मात्र थियो । र पनि, तत्कालीन समयमा राखेपको सदस्यसचिव केशवकुमार विष्ट भएका कारण सरकार १३औँ सागको कुनै पनि कार्य प्रक्रियागत र विधिसम्मत तरिकाले अगाडि बढाउन चाहँदैनथ्यो । यसर्थमा विष्ट नेकपाकै भए पनि गुट फरक भएकै कारण उनको बहिर्गमनपछि मात्रै सरकार सागबारे सही निर्णय गर्ने लिनेवाला थियो । यसबीचको समयमा सागको लोगो, मस्कट र गीतको सार्वजनिक गरिए पनि सागको बारेमा अन्य कुनै महत्वपूर्र्ण कार्य अघि बढेन, यो सागको तीतो सत्य हो ।

त्यसपछि राखेपमा सदस्यसचिव रूपमा रमेशकुमार सिलवालको नियुक्ति भयो । आफ्नो नियुक्तिसँगै उनले बोली पनि फोरे– म यहाँ पैसा कमाउन, गाडी चढ्न आएको होइन, म यहाँ १३औँ साग गर्न आएको हुँ, मलाई प्रधानमन्त्रीज्यूले सागको आयोजना गर्नकै लागि खेलकुदमा पठाएको हो, यदि गर्न नसके भने राजीनामा दिनेछु ।’ सिलवालले यस्तो भनेपछि विश्वास नगर्ने कुरै थिएन, किनकि उनले सागको लागि बजेटको चिन्ता नगर्नसमेत खुलासा गरेका थिए । प्रधानमन्त्रीको निकटको व्यक्तिले यस्तो भनेपछि नपत्याउने कुरो पनि भएन । तर, विडम्बना ! असारमा नियुक्ति पाएका सिलवालले तीन महिना स्वागत र सम्मान खानैमा बिताएपछि साग हुने कुरामा पुनः शङ्का–उपशङ्का उत्पन्न भो । यतिबेलासम्म सागका लागि सम्पूर्ण भौतिक पूर्वाधार तयार थिए । मात्र दशरथ रंगशालाको भीआईपी प्यारापिट, हिटिङ पौडीपोखरी र पोखरा रंगशालाको कार्य मात्रै अपूरो थियो । यी अपूरा पूर्वाधारलाई पूर्णता दिन कति समय लाग्यो, त्यो उद्घाटन समारोहसम्म पनि भइरहेको कार्यले प्रस्ट पार्छ । यसरी १३औँ साग भो, जसरी भो, कसरी भो नभन्नु नै उचित होला ।

यतिबेला सागका ‘नायक’हरूको विश्लेषण गर्दा प्रधानमन्त्री तथा राष्ट्रिय खेलकुदका परिषद्का संरक्षक केपी शर्मा ओलीको नामसमेत ‘नायक’को कुनै लिस्टमा अटाउँदैन । प्रधानमन्त्री ओलीले १३औँ सागको आयोजनामा राज्यको तर्फबाट ३ अर्ब ६५ करोडको बजेट उपलब्ध गराए पनि उनी ‘नायक’ हुन सकेनन् । यसर्थमा कि राष्ट्रिय महत्व र मुलुकको प्रतिष्ठा गाँसिएको विषयमा समेत ओलीको दुईतिहाइको सरकारको धाक र रवाफ देखियो । ओलीले प्रतिपक्ष पार्टीका नेतालाई पूर्ण रूपमा बाइपास गरे, उद्घाटन र समापन समारोहमा समेत बोलाउन उचित ठानेनन् । यसकारण प्रधानमन्त्री ओली ‘नायक’ बन्न सकेनन् । त्यस्तै, खेलकुदमन्त्री सुनार सागको मूल आयोजक समितिको अध्यक्ष भए पनि ‘नायक’ बन्न चुके । समयमै कार्यविधि ल्याएर विधिसम्मत रूपमा सागको आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न नसक्दा उनी ओझेलमा परे । तथापि प्रधानमन्त्री र खेलकुदमन्त्रीले सागको सफल आयोजनामा निभाएको अहम् भूमिकालाई नकार्न भने सकिँदैन ।

तर, प्रधानमन्त्री र खेलकुदमन्त्री ‘नायक’ हुन नसकेको परिप्रेक्ष्यमा राखेपका सदस्यसचिव सिलवालले भने आफूलाई १३औँ ‘साग’को स्वघोषित ‘नायक’ भएको घोषणा गरेर हाँसोको पात्र बनेका छन् । उनले आफूलाई कुन कोण र दृष्टिकोणबाट ‘नायक’ घोषणा गरेका हुन् त्यो खेलकुदकर्मीको सोचभन्दा टाढा छ । अन्यथा यो सिलवालका हनुमानहरूको सोचको उपज मात्रै हो भन्दा फरक नपर्ला । किनकि पाँच महिनाको कार्यकालमा सिलवालले जुन कार्य गरेका छन् त्यसबाट सवै परिचित छन् । उनी कामभन्दा गफ गर्न बढी रुचाउँछन् भन्ने कुरा १३औँ सागको डेटलाइन कात्तिक १५, मङ्सिर १ अनि मङ्सिर १५ गतेले प्रमाणित गर्छ । यसरी आफ्ना निकटका व्यक्तिहरूलाई काखी च्याप्दै एकलौटी रूपमा सागको हर्ताकर्ता भने सिलवाल बनेकै हुन् । यसैलाई उनले ‘नायक’को संज्ञा दिएका हुन् भने उनी महान् हुन् । अरू नायकहरूमा कुलबहादुर थापा र कमल खनालकोे चर्चा चले पनि उनीहरूलाई महेन्द्र राईले ‘नायक’ बनाएका हुन् । त्यसैले यी ‘गंगा आए गंगाराम जमुना आए जमुनाराम’ चर्चा गर्नुभन्दा नगर्नु बेस होस् ।

त्यसो भए को हुन् त १३औँ सागका ‘नायक’ ? कुरो प्रस्ट छ– १३औँ सागमा स्वर्ण, रजत र कास्य पदक जित्ने ‘खेलाडी’ हुन् । खेलाडीहरू साग हुने नहुने अन्योलताका बाबजुद पनि जसरी प्रशिक्षणमा होमिए, रगत सुकाए, पसिना बगाए र राष्ट्रलाई पदक दिलाए ती हुन् ‘असली नायक खेलाडी ।’ अर्को कुरा खेलाडीलाई पदक दिलाउन प्रशिक्षक र पदाधिकारीले जुन भूमिका निर्वाह गरे ती हुन् ‘नायक’ । जसलाई खेलाडीसँगै राज्यले पुरस्कृतसमेत गरेको छ । तर, आफूलाई ‘नायक’ भन्नेहरूको लेखाजोखा भइरहेको छ । त्यस्तै परे ती ‘नायक’हरू भोलि खलनायकमा परिणत भए अन्यथा मानिने छैन । जय होस् ।