‘स्वास्थ्य शिविरबाट नागरिक-सैनिक सम्बन्ध विस्तारमा ठूलो योगदान’ : नेपाली सेना

‘स्वास्थ्य शिविरबाट नागरिक-सैनिक सम्बन्ध विस्तारमा ठूलो योगदान’ : नेपाली सेना


विभिन्न कल्याणकारी कार्यमा समेत अग्रसरता देखाउँदै आएको नेपाली सेनाले हालै मात्र तराई क्षेत्रमा पर्ने महोत्तरीमा आठ दिवसीय वृहद् स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । महोत्तरीको सोन्मा गाउँपालिकामा सञ्चालन भएको उक्त स्वास्थ्य शिविरबारे सेनाले सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

नेपाली सेनाले सो स्वास्थ्यशिविर हालसम्मकै वृहद् र सफल शिविरका रूपमा स्थापित भएको जिकिर गरेको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँचकै समस्या देखिएको उक्त क्षेत्रमा सेनाले सञ्चालन गरेको साताव्यापी निःशुल्क शल्यक्रिया शिविरबाट २१ हजारभन्दा बढी नागरिक लाभान्वित भएका जनाइएको छ ।

बताइएअनुसार उक्त शिविरमा सिन्धुली, धनुषा, महोत्तरी र सर्लाहीका जनता ठूलो सङ्ख्यामा उपचारका लागि पुगेका थिए । पुरुषको तुलनामा उपचार गर्न आउने महिलाको सङ्ख्या बढी रहेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाद्वारा संयुक्त रूपमा सञ्चालित उक्त शिविरमार्फत जुकाको औषधि वितरणदेखि पाँच किलोसम्मको ट्युमर शल्यक्रिया गरी निकाल्ने कार्यसम्म भएको थियो । एक सय ८० जनाको विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोलीले उक्त शिविरमा साना ठूला गरी ३२९ वटा सफलतापूर्वक शल्यक्रिया गरेको सेनाले जनाएको छ ।

गत मङ्सिर २७ देखि पुस ५ गतेसम्म सञ्चालित उक्त शिविरबाट लामो समयदेखि आन्द्रामा प्वाल परेका, जटिल गर्भावस्थामा रहेका, हर्निया भएका र ट्युमरका बिरामीले लाभ लिएको शिविर संयोजक सहायकरथी डा. देवेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो । सेनाले त्यस क्षेत्रका डोम र मुसहर समुदायमा जुकाको औषधि वितरण गर्नुका साथै वस्तीमा लामखुट्टे निरोधक औषधि छर्किएको थियो ।

उक्त शिविरमा उपचार गर्न आउने कतिपय बालक बिरामीमा जन्मजात मुटु प्वाल परेको तथा कुुपोषणको समस्या भेटिएको थियो । उक्त क्षेत्रका बिरामीमा महिलामा पाठेघर खस्ने समस्या देखिएको थियो भने पुरुष धेरैमा दम, पित्तथैलीको पत्थरी र हर्निया भेटिएको सहायकरथी खत्रीले बताउनुभयो ।

सञ्चारकर्मीलाई जानकारी दिँदै स्वास्थ्य मन्त्रालयका सहसचिव डा. विकास देवकोटाले भौगोलिक हिसाबले सुगम देखिए पनि शिक्षा र स्वास्थ्यलगायतका कारणले पछि रहेको प्रदेश २ का जिल्लामा स्वास्थ्यमा नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रष्ट्याउनुभयो ।

महोत्तरीको शिविरबाट नागरिक–सैनिक सम्बन्ध विस्तारमा ठूलो योगदान पुगेको ठहर गर्दै उत्साहित भएको सेनाले निकट भविष्यमै नेपालगञ्जक्षेत्रमा पनि यस्तै बृहद् स्वास्थ्य शिविर सञ्चालन गर्ने सोच बनाएको बताइएको छ ।

– राजेन्द्र पाठक