सिद्धार्थनगरमा इ-रिक्सा व्यवस्थापन गर्न व्यवसायीको माग

सिद्धार्थनगरमा इ-रिक्सा व्यवस्थापन गर्न व्यवसायीको माग


 

  • पुनहरि बेलवासे, भैरहवा

सिद्धार्थनगर नगरपालिकामा इ-रिक्सा अव्यवस्थित रुपमा भित्रीएको र व्यवसायीले रिक्सा बेचेर आम्दानी गरे तापनि नगरलाई आवश्यक भन्दा बढी रिक्सा हुँदा आम्दानी नहुने र नगरको सुन्दरतालाई समेत असर पर्ने भएकोले व्यवस्थापन गर्न ध्यान दिनुपर्ने व्यवसायीले माग गरेका छन् । सिद्धार्थनगरमा आवश्यक भन्दा बढी रिक्सा भित्रँदा समेत नगरपालिकाले कुनै आचारसंहिता नबनाएको र मनपरी ढङ्गबाट रिक्सा बिक्री वितरण भइरहेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताए ।

इ-रिक्सालाई सहयोग तथा सेवा गर्नु नेतृत्वकर्ता दायित्व रहेको भन्दै प्रदेश सरकारमा लाइसेन्स दिने, रुट प्रमिट दिने अधिकार हाल मात्रै आएकोले व्यवस्थापन तथा सहयोग गर्न आफू सधै तत्पर रहेको प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेले बताए । भैरहवा तथा आसपासका क्षेत्रमा जतिबेला पनि इ रिक्सा चालकलाई समस्या परेमा फोन गरेमा समाधानका लागि तत्पर रहेको प्रदेशसभा सदस्य पाण्डेको भनाई थियो ।

इ-रिक्सा चालकहरुले लाइसेन्सको व्यवस्था मिलाउन सिद्धार्थनगर पालिकाले पहल गर्नुपर्ने बताइरहेका बेला नगरप्रमुख हरिप्रसाद अधिकारीले नगरपालिकासँग अधिकार नरहेको बताउँदै नगरपालिकामा जम्मा ५० ओटा मात्रै इ-रिक्सा दर्ता भएको र नगरमा चल्ने इ-रिक्साले मनपरी भाडा लिने गरेको गुनासो गरे ।

इ-रिक्सा व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष हरिबहादुर नेपालीले चाहिँ धुलोधुवाँ र प्रदुषणरहित वातावरणमैत्री इ-रिक्साले सिद्धार्थनगर पालिकाको सुन्दरतालाई माथि उठाएको र जनसाधारणलाई छिटो–छरितो सेवा प्रवाह गरिरहेको दाबी गरे । उनले भने– ‘यस सेवाबाट श्रम स्वरोजगारको जिपिकोपार्जनको आधार पाएका छन् । तर वर्तमान समयमा आवश्यकता भन्दा बढि ई–रिक्सा सिद्धार्थनगरपालिकाले थेग्ने भन्दा बढि बाहिरीक्षेत्रबाट प्रवेश गरी संचालन भइरहेको हुँदा दैनिक समस्याहरु उत्पन्न भएका छन् । जसका कारण सवारी दुर्घटनामा समेत वृद्धि भइरहेको छ । ई–रिक्सा व्यवस्थापन गर्नुपर्ने समयमा थप ई–रिक्सा भित्रिएकाले यस नगरको सुन्दरता र सुरक्षामा प्रभावित तुल्याउने भएकाले यस नगरपालिकाभित्र गुडेका ई–रिक्साहरु छिटो भन्दा छिटो व्यवस्थिापन गर्नको लागि नगरपालिकाले पहल गर्नुपर्छ ।’

सिद्धार्थनगर नगरपालिकामा अहिले करिब एक हजार इ-रिक्सा तथा अटो रिक्सा रहेका छन् ।

मानिसको अनुहार हेरेर इ-रिक्सा चालकहरुले भाडा लिने कार्य नगर्नको लागि नेपाल ट्रेडयुनियन काङ्ग्रेसका राम गरुङले बताए । मजदुरहरुको हकहित र संरक्षण गर्नका लागि अखिल नेपाल ट्रेड युनियन महासंघ प्रतिबद्ध रहेको अध्यक्ष दुर्गा मरासिनीले बताउँदै व्यवसायीलाई समस्या परे सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भीष्म न्यौपाने, उद्योग व्यापार संगठनका महासचिव अनिल ज्ञवाली, सिद्धार्थ सार्वजनिक यातायात प्रालिका सञ्चालक सियारम यादव, इरिक्सा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लालमणि भण्डारी लगायतले बोल्दै इ-रिक्सा व्यवस्थापन गर्नमा नगरपालिकाले पहल गर्नुपर्ने बताए । इ-रिक्सा किनेर सञ्चालन गर्दा नेपालमै स्वरोजगार बन्दै गएको अवस्थामा नगरमा पार्किङ्को समस्या भएको इ-रिक्सा व्यवसायी संघ सिद्धार्थनगरका उपाध्यक्ष बरुण समशेरले बताउँदै इ रिक्सा सिद्धार्थनगरलाई आवश्यक भन्दा बढी भित्रिएको अवस्थामा नगरपालिकाले नै रोक्नका लागि पहल गर्नुपर्ने बताए ।