नेपाली जनता राजसंस्था र हिन्दू राज्य चाहन्छन् : भरत बस्नेत

नेपाली जनता राजसंस्था र हिन्दू राज्य चाहन्छन् : भरत बस्नेत


भरत बस्नेत पर्यटन ब्यवसायी हुन् । विभिन्न ट्राभल एजेन्सीदेखि होटेल ब्यवसायमा सफल उनी मुलुकको राष्ट्रियताप्रति विशेष सचेत छन् । देशलाई पहिलो प्राथमिकतामा राखेर हेर्ने उनी मुलुकलाई समृद्ध र समावेसी बनाउनका लागि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई युवाले मनन गर्नुपर्ने बताउँछन् । वि.सं. २०५७ देखि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान र दिब्योपदेशलाई जनसमक्ष पुऱ्याउनका लागि देशब्यापी अभियानमा जुटेका भरत बस्नेतसँग पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा घटना र विचारले गरेको कुराकानी :

० राष्ट्रनिर्मातालाई मानिसहरूले सम्झिहाल्छन् नि, पृथ्वीनारायण शाहलाई अभियान नै गरेर सम्झिनुपर्ने किन ?
– हो, बिनाअभियान नै मानिसले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झिउन्, उहाँको योगदान र दिब्योपदेशलाई मनन गरुन् भन्ने मेरो चाहना हो । वि.सं. २०५७ सालमा हामीले पहिलोपल्ट यो अभियानको थालनी गर्दा पृथ्वीजयन्तीमा बिदा दिइन्थ्यो । मुलुकमा माओवादी युद्ध चलिरहेको थियो । बिदा त थियो तर बिदाले मात्र भएन, उहाँको योगदानको चर्चा हुनुपऱ्यो । उहाँ नभएका भए अहिले हामीले गौरवका साथ नेपाली भन्न पाउने थिएनौँ भन्ने कुरा सबैले मनन गर्नुपऱ्यो भनेर अभियान सुरु गरियो । सरकारी कार्यालयमा राष्ट्रपिताको फोटो राख्ने अभियान केही हदसम्म सफल पनि भयो । युद्धका बेला माओवादीले पृथ्वीनारायाण शाहको सालिक ढाले । जसले यो देशको निर्माण गऱ्यो उसैको सालिक ढाल्ने सोच लिएर हामी कहाँ पुग्छौँ ? भनेर धेरै नरमाइलो लाग्यो । तात्कालीन माओवादीले राष्ट्रनिर्माताको योगदानलाई छायामा पार्ने र बदनाम गर्ने कोशिस गरिरहेका बेला अभियान नै चलाई उहाँप्रति गरिएको अपमानलाई सम्मानमा बदल्नु आवश्यक थियो ।

० राष्ट्रनिर्माताको सम्मानमा बिदा नै किन दिनुपऱ्यो ? विभिन्न कार्यक्रम गरेर मनाए हुँदैन ?
– राष्ट्रिय बिदा राष्ट्रले गर्ने सम्मान हो । पौष २७ गतेलाई पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा बिदा दिँदै आएकोमा ०६३ सालदेखि यो बिदा कटौती गरियो । नेपाली काङ्ग्रेसले समेत माओवादीको पथ लिएर पृथ्वीजयन्ती मनाउन छोड्नु मुलुक र काङ्ग्रेस दुवैका लागि दुर्भाग्य थियो । विदासँगै राज्यस्तरबाट विभिन्न कार्यक्रम हुन्थे, ती सबै काटिए । त्यसपछि त झन् उहाँको योगदानलाई जीवन्त राख्न हामीले जनस्तरबाट थप अभियान सञ्चालन गर्नुपर्ने भयो । हुँदै–हुँदै यस्तो दिन पनि आयो कि सिंहदरबारअगाडिको पृथ्वीको शालिकमा माल्यार्पण गर्न पनि डराउनुपर्ने अवस्था थियो । यसले हाम्रो सोच कस्तो छ भन्ने कुरा स्पष्ट गर्छ । मुलुक निर्माण गर्नेको त सम्मान नहुने देशमा अरुको सम्मान के होला ? हाम्रा नेताहरूले नबुझेको कुरा के हो भने आफूले अग्रजलाई सम्मान नदिएपछि भोली आफ्नो सम्मानचाहिँ कसले गर्ला ?

० तपाईंको विचारमा नयाँपुस्ताले पृथ्वीनारायण शाहप्रति सरोकार राख्न नखोज्नुको कारण के होला ?
– नयाँ पुस्तालाई उहाँको योगदानका बारेमा हामीले जानकारी नै कहिले दियौँ ? हाम्रा कुन–कुन पाठ्यपुस्तकमा उहाँको बारेमा के पढाइहुन्छ ? कति पढाइहुन्छ ? उहाँको दिब्योपदेशको बारेमा कसले जानकारी दियो ? जब कुनै कुराको जानकारी नै हुँदैन, मानिसले सरोकार किन राख्छ ? त्यसैले हामीले नयाँ पुस्तालाई पृथ्वीनारायण शाह, उहाँको योगदान र दिब्योपदेशका बारेमा मिडियाबाट, सोसियल मिडियाबाट जानकारी दिनु आवश्यक छ । स्कुल–कलेजका पाठ्यक्रममा दिब्योपदेश राख्नुपर्छ । उहाँका कालजयी विचारलाई राज्यले फैलाउनु पर्छ । युद्धका बेला माओवादीले फैलाएको कुप्रचारलाई चिर्न हामीले अभियान सुरु गऱ्यौं, यस प्रकारको अभियानलाई अब नयाँ पुस्ताले अघि बढाउनुपर्छ ।

० पृथ्वीनारायण शाहलाई सम्झने मात्रै कि कर्तब्य पनि गर्ने ? एकीकरण बाहेक उहाँलाई सम्झनुपर्ने कुरा के छन् ?
– कर्तब्य पनि गर्ने । कर्तब्यका लागि उहाँको स्मरण त गर्नुपऱ्यो । उहाँका महान् विचारलाई अभ्यासमा ढाल्नका लागि दिब्योपदेशमा के छ ? भन्ने कुरा मानिसले सम्झन सक्नेगरी चर्चा गर्नुपऱ्यो । समावेसीकरणको नारा अहिले छ, उहाँले त त्यतिबेलै चार जात छत्तिस वर्णको साझा फुलबारी हो भनेर भन्नुभएको थियो । कुनै पनि जात तल–माथि छैन, साझा फुलबारी हो भन्नुको अर्थ यो देश सबैको बराबरी हो भनेको हो । सबै जातजातिलाई बराबरीको अर्थ के हो ? अहिले संसदमा विभिन्न जातजातिको प्रतिशत तोकेर ब्यवस्था गरिएको छ, यो पृथ्वीनारायण शाहको अवधारणा हो । मुलुकलाई सबै जातको साझा फुलबारी उहाँको अवधारणा हो । यो कर्तब्य हामीले पुरा गर्नुपर्छ, विशेषगरी राज्यसत्तामा बस्नेहरूले । न्याय बिगार्ने भनेको घुस लिने र दिनेले हो भनेर उहाँले त्यतिबेलै भन्नुभएको छ । घुस र अनियमितताकै कारण मुलुक पछाडि परेको छ । मुलुकलाई घुसमुक्त बनाउनु पनि हाम्रो कर्तब्य हो । उहाँले भाइहरूलाई उपदेश दिँदै श्रीपेच नताक्नु भन्नुभएको छ, यसको अर्थ घात नगरी राज्य चलाउ भनेको हो । एकीकरणबाहेक यी सबै सम्झनुपर्ने कुरा हुन् । छिमेकीसँग कस्तो ब्यवहार गर्नेदेखि लिएर राज्य सञ्चालनको खाका उहाँले दिब्योपदेशको रुपमा दिएर जानुभएको छ ।

० तपाईंको विचारमा पृथ्वीनारायण शाहको सच्चा सम्मान के गर्दा हुन्छ ?
– उहाँका सन्ततीलाई सँगै लिएर हिँड्नु पऱ्यो । राजसंस्थाविनाको मुलुक मियोविनाको दाईं जस्तो हुन्छ ।

० राजसंस्था आउनुपर्छ भन्ने यहाँको भनाई हो ?
– मैले हेर्दा त राजसंस्था गएको छैन, भूमिका मात्रै परिवर्तन भएको हो । केही समयदेखि राजसंस्थाको भूमिका सीमित गरिएको छ । राजा वीरेन्द्रले सक्रिय राजतन्त्रलाई संवैधानिक राजतन्त्रमा आफैले बदल्नुभएको हो । बिनाक्षति आफ्नो शक्ति हस्तान्तरण कसैले गरेको छ भने त्यो हाम्रै राजसंस्थाले गरेको छ । श्री ५ वीरेन्द्र, श्री ५ ज्ञानेन्द्र दुवैले अत्यन्त कम क्षतिमा थप क्षति नहोस् भनेर शक्ति हस्तान्तरण गर्नुभयो । राजसंस्था परम्परागत शक्ति हो जसले मुलुकलाई एकताको सूत्रमा बाँधिरहन्छ । संवैधानिक राजतन्त्र यो मुलुकलाई अहिले पनि त्यतिकै आवश्यक छ जति हिजो थियो ।

एकपल्ट पशुपतिका पुजारी फेर्ने चर्चा चलेको थियो, फेर्नुहुन्थ्यो या हुँदैनथ्यो अलग कुरा हो, तर उहाँहरूले सक्नुभएन । अनि राजसंस्थाचाहिँ फाल्न सक्नुभयो होला ? जनता त के नेताले पनि हटाएका होइनन्, राजसंस्था हटाउन नेताहरू ‘निमित्त’ मात्र बनेका हुन् ।

० मुलुकमा यतिका धेरै परिवर्तन भइसक्यो । अहिले पनि राजसंस्थाको सम्भावना देख्नुहुन्छ ?
– राजतन्त्र यो मुलुकका लागि आवश्यकता हो । पार्टीका गतिविधि हेर्नुस्, कामहरू हेर्नुस्, सर्वसाधारणमा ब्यापक असन्तुष्टि छ । राजसंस्था र राजा ज्ञानेन्दप्रतिको जनताको दृष्टिकोण समान छ । हिजो पनि जनताले राजसंस्थालाई माया र सम्मान गर्थे आज पनि गर्छन् । राजसंस्थाप्रतिको सम्मानमा अलिकति पनि कमी आएको छैन । राजसंस्थाको सम्भावना नहुने भन्ने कुरै भएन । सम्भावना छ, आउनैपर्छ । म यो मुलुकमा हिन्दू धर्म र संवैधानिक राजतन्त्रको हिमायती हुँ । जनतालाई चाहना भएर पनि राजसंस्था अहिले सीमित भूमिकामा छ । यदि विश्वास लाग्दैन भने जनमत सङ्ग्रह गरेर हेरौँ, जनताले हिन्दूराज्य र राजसंस्थालाई कति मत दिँदारहेछन् थाहा भइहाल्छ । जनतमत सङ्ग्रह नगरी जनतालाई थाहै नदिई राजसंस्था र हिन्दूधर्म राज्य हटाएकोमा सर्वसाधारण दुःखी छन् । नेपाली यो मुलुकमा जनता राजसंस्था र हिन्दू राज्य चाहन्छन् ।

० राजसंस्था त नेपाली जनताले हटाएका होइनन् र ?
– जनता त के नेताले पनि हटाएका होइनन् । राजसंस्था हटाउन नेताहरू ‘निमित्त’ मात्र बनेका हुन् । घटनाक्रमलाई सम्झिउँ न, एकपल्ट पशुपतिका पुजारी फेर्ने चर्चा चलेको थियो, फेर्नुहुन्थ्यो या हुँदैनथ्यो अलग कुरा हो, तर उहाँहरूले सक्नुभएन । अनि राजसंस्थाचाहिँ फाल्न सक्नुभयो होला ? नेपाली जनताले अब सोच्ने बेला आएको छ । जनता मात्र होइन नेताले पनि वास्तविकतालाई स्वीकार गर्दै राजसंस्थाको संबैधानिक भूमिकालाई फर्काउनुपर्छ । साथै नेपाल विश्वमा एक मात्र हिन्दू राज्य थियो, यसलाई पुनः कायम गरिनुपर्छ ।