केही उन्मुक्तक

केही उन्मुक्तक


■ रामेश्वर राउत मातृदास

सियोले घोचेर आकाश झर्दैन
दियोले झोसेर सूर्य मर्दैन
अविनाशी एउटा मीठो कल्पना छ मनभरि
महानतालाई बाङ्गो नजर लाउनै पर्दैन ।

(१)

हाँगा छाडेर असङ्ख्य पातहरू झरे
जरा माडेर असङ्ख्य रूखहरू मरे
यो अन्त्यहीन झर्ने र मर्ने क्रम निरन्तर रहिरहन्छ
बाँकी रहने त यही धरतीको माटो मात्रै हो भरे ।

(२)

देशको हारमा कसैको जित हुँदैन
भाषाको मारमा समाजको हित हुँदैन
देश–भाषा र वेश बचाएनौँ भने जीवनको के सार ?
जिम्दा लासहरूको कहिल्यै आस हुँदैन ।

(३)

अदम्य आँट–उत्साह र साहसलाई सलाम
पौरखी परमवीरहरूकै कारण भएनौँ हामी गुलाम
जय जय काली ! जय जय गोरख !! महामन्त्र जपौँ
सत्य–धर्म–न्याय र विवेक जगाएर पत्रुहरूलाई गलाम ।

(४)

अदम्य छ कहिल्यै हाम्रो नझुकेको शिर
हुतिहारा गतिछाडा होइनौँ परमवीर
नेपाली छौँ जति हामी एक ढिक्का बने
वैरी किल्ला धुलो पार्छौं हट्छ सारा पीर ।

(५)

– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती