वर्तमान बेथिति

वर्तमान बेथिति


■ रसिकदेव

छोराले भन्छ होमवर्क पछि टीभी र मोबाइल देऊ
छोरीको माग पढाइपछि पिज्जा र बर्गर ल्याऊ
श्रीमती भन्छिन् लौ मीठो चाहिए गहना किनिदेऊ
हाकिमले भन्छन् प्रमोशन चाहिए मेरो घर सदा धाउ !

मागपत्र घरमा घुसखोर देशमा रनभुल्ल जाउँ कहाँ
मन्दिर गएँ भगवान्लाई ढोगेँ खै भेटी भन्छन् यहाँ
अदालत पुग्छन् नदी र जङ्गल जमिनको खोजीमा
दलाल र बैंक मिली खाएछन् मालपोतको साक्षीमा !

भत्केको पुल बिग्रेका सडक दशकौँ भएछ
ठेकेदारको ब्रिफकेस हाकिमचाहिँ विदेश, हाइसञ्चो भा’को छ
सिन्डिकेट व्यापार, सिन्डिकेट उद्योग, सिन्डिकेट राजनीति
नपाए फुट्ने, भाग पाउँदा मिल्ने यहाँको कूटनीति !

सिकायौँ हामीले भगवान्लाई पनि घुस खान मन्दिरमा
बरदान र सिद्धि मिल्दैन अचेल उधारो वचनमा
जुन देशमा इज्जत धनमा हुन्छ ज्ञानीजन हेपिन्छ
कालोधन कमाउ आश्चर्य हुन्न बहादुर बनिन्छ !!