परशुराम–सकुन्तला स्मृति प्रतिष्ठानले डा. गौरीशंकरलाल दासलाई सम्मान गरेको छ । ९६ वर्षीया डा. दासलाई उहाँले मुलुकका प्रति गर्नुभएको योगदानका लागि सम्मान गरिएको हो । परशुराम, सकुन्तला स्मृति प्रतिष्ठानले शिक्षा तथा अनुसन्धानको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा श्रम तथा रोजगारमन्त्री रामेश्वर रायले संस्कारयुक्त संस्कृति र पहिचान सम्यताको प्रतीक भएको बताउनुभयो । सभ्यता र संस्कृतिको धरोहर उच्च रहने कार्य परशुराम, सकुन्तला स्मृति प्रतिष्ठानले गर्दै आएकोमा सराहना गर्नुभयो ।
कार्यक्रममा उच्चस्तरीय प्रशासन सुधार आयोगका अध्यक्ष संविधानविद् काशीराज दाहालले नियम कानूनको परम्पराभित्र पनि सभ्यता र संस्कृतिको कडीको रूपमा रहेको चर्चा गर्दै राष्ट्रप्रेम र संस्कृति प्रेमलार्ई अगाडि सार्दै प्रतिष्ठान अगाडि बढेको चर्चा गर्नुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक ९६ वर्षीय डा. गौरीशंकरलाल दासलाई सम्मान गरिएको थियो भने कमला बस्नेतलाई नगदसहित प्रतिभा सम्मान पुरस्कार दिइएको थियो । प्रतिष्ठानका संरक्षक डा. रामप्रसाद दाहालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्राज्ञ डा. दिनेशराज पन्तले पितृ महिमा पूर्वजहरूको सन्दर्भका पक्षलाई प्रकाश पार्नुभयो । साहित्यकार सन्ध्या पहाडीले प्रतिष्ठानका गतिविधिबारे जानकारी दिनुभएको थियो ।
स्मृति प्रतिष्ठानले समसामयिक विषयमा छलफल गर्ने, गराउने ऐतिहासिक चिजवस्तुहरूको अन्वेषण गर्ने, पुस्तक प्रकाशन गर्ने, जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति दिने र ख्यातिप्राप्त अग्रजहरूको सम्मान गर्ने उद्देश्य रहेको प्रतिष्ठानका कोषाध्यक्ष केशव दाहालले बताउनुभयो । समाजसेवीद्वय स्व. परशुराम र सकुन्तला काशीराज दाहाल, डा. रामप्रसाद दाहाल र केशव दाहालका मातापिता हुनुहुन्छ ।
प्रतिक्रिया