इरानमा पनि कोरोनाको कहर ! १२ को मृत्यु

इरानमा पनि कोरोनाको कहर ! १२ को मृत्यु


नोभेल कोरोना भाइरस (कोभिड—१९) का कारण इरानमा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । इरानको स्वास्थ्य तथा चिकित्सा शिक्षामन्त्री सइद नमकीले मृत्यु हुनेको सङ्ख्या बढेर १२ पुगेको सोमबार (२४ फेब्रुअरी) पुष्टि गरेका हुन् ।

उनले अरु ४७ जनामा पनि यसको सङ्क्रमण देखिएको जानकारी दिएका इरानी समाचार संस्थाले जनाएको छ ।

उनले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न इरानसँग पर्याप्त श्रोतसाधन रहेको दावी पनि गरेका छन् । तर आम नागरिकले सतर्कता नअपनाएकोले फैलिने र मृत्यु हुनेको सङ्ख्या बढ्दै गइरहेको सरकारी अधिकारीको भनाइ छ ।

सार्वजनिक कार्यक्रम तथा भेला, खेलकुदका कार्यक्रमलगायतमा सहभागी हुन सर्वसाधारणले नछाडेकाले अपेक्षित सुधार हुन नसकेको उनीहरुले बताएका छन् ।

इरानमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको हल्ला भने गलत भएको इरानी सरकारले दाबी गरेको छ । असत्य हल्लाको पछि लागेर त्रसित नहुन, तर थप सङ्क्रमण फैलिन नदिनका लागि उच्च सतर्कता भने अपनाउन सरकारी अधिकारीको आग्रह रहेको छ ।

यसैबीच, इरानको छिमेकी मुलुक इराकमा पनि कोरोना भाइरसको महामारी प्रवेश गरेको सिन्ह्वाले जनाएको छ । बताइएअनुसार अहिलेसम्म कुनै सङ्क्रमित नभेटिएकोमा अहिले दुई जनामा सङ्क्रमण पुष्टि भएको इराकी स्वास्थ्य अधिकारीको भनाई छ ।

उनीहरुले सोमबार नै पहिलो सङ्क्रमित भेटिएको पुष्टि गरेका थिए भने अर्का सङ्क्रमित पनि सोमबार नै भेटिएको जानकारी दिएका छन् ।