गजराज ट्रष्टद्वारा टोखा भगवती क्लबलाई खेल-पोशाक

गजराज ट्रष्टद्वारा टोखा भगवती क्लबलाई खेल-पोशाक


टोखास्थित गजराज जोशी ट्रष्टले बी डिभिजन क्लब टोखा भगवती क्लबलाई खेल–पोशाक प्रदान गरेको छ ।

चक्रपथस्थित हेडलाईन स्पोर्टस् क्याफे एण्ड बारमा ट्रष्टका अध्यक्ष एवम् क्लबका सल्लाहकार समाजसेवी मनिष राज जोशीले बी डिभिजन क्लबका २० खेलाडी, प्रशिक्षक र ब्यवस्थापकलाई २ लाख ५० हजार रकम बराबरको एडिडास र लिनिङका खेल पोशाक वितरण गरेका हुन् ।

गत वर्ष दोश्रो स्थान प्राप्त गरेको टोखा भगवती क्लबले यस सिजनमा १ जित र १ हार ब्यहोरेको छ । भगवती क्लबका खेलाडीहरुलाई हौशला प्रदान गर्न आयोजना गरिएको कार्यक्रममा खेलाडीहरुलाई उक्त पोशाक वितरण गरिएको हो ।

खेलाडीहरुलाई उत्साहित गर्दै अध्यक्ष जोशीले खेलाडीहरुले उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्नु पर्ने र क्लबले बी डिभिजन प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्न सकेमा खेलाडी, प्रशिक्षक र ब्यवस्थापकका लागि ठूलै प्याकेज प्रदान गर्ने बताए ।

कार्यक्रममा काठमाण्डौ जिल्ला खेलकुद बिकास समितिका पूर्व उपाध्यक्ष दामोदर भट्टराई बद्रीले खेलाडीहरूलाई प्रतिस्पर्धा जित्न हौसला प्रदान गर्दै प्रतिस्पर्धा जित्नु मात्र नभई खेलाडीहरूको भविष्यको पनि निर्णय हुने बताए ।