श्रमिक दिवसको दर्जन शुभकामना !

श्रमिक दिवसको दर्जन शुभकामना !


■ ई. नरोत्तम श्रेष्ठ

१) जतिपटक पखाले पनि चौलानीको रङ नीलै देखेँ मैले, सायद मेरा मजदुर अन्नदाताहरूका पसिना घोलिएको हुनुपर्छ चामलमा । मजदुर दिवसको शुभकामना !

२) रातको समयमा लालाबालासहित कुम्लो बोकेर काठमाडौ छोडि सयौँको माइल एकमुठी चिउराको भरमा भोकभोकै प्याकप्याकै आफ्नो थाकथलो लाग्दै गरेका मजदुरहरू ! कोरोना महामारीमा बिचल्लीमा परेका, भोकभोकै रन्थनिएका, बाटोमा अड्किएका, सीमामा छेकिएका, जागिर गुमाएका, विदेशमा अलपत्र परेका, भेडाबाख्रा जस्तै कोचिएका, खल्ती टकटकिएका सम्पूर्ण मजदुरहरू ! यहाँहरूलाई मजदुर दिवसको शुभकामना !!

३) भरखरै जन्मेको काखे शिशुलाई छाडेर श्रम बिक्री गर्न बाबु बिदेश जान्छन् । रेमिट्यान्सको वाकस बोकेर जब उ स्वदेश फर्कन्छ, उसको काखे शिशु श्रम बिक्री गर्न परिपक्व भइसकेको हुन्छ । देशबाट हराएकाहरूलाई कसैले खोज्दैन, बरु कालले खोज्दै खाडीमा पुग्छ । यसरी नै चलिरहन्छ चक्र । विदेशमा श्रम र पसीना बेचेर स्वदेशमा रेमिटेन्स कमाएकाहरूलाई, पराईको लागि रगत पसिना अनि सिङ्गो जीवन आहुति दिने मजदुरहरूलाई श्रमिक दिवसको शुभकामना !!

४) श्रम अतृप्त प्यास हो । प्यास तृप्त हुने वस्तु होइन, तृप्ततामा जीवनको अस्तित्व समाप्त हुन्छ, श्रम अविकल प्यासको आगो हो । आगोलाई पानी होइन तेल चाहिन्छ । रोक ! रोक !! माहुरीहरू बोकेर उडिरहेका विमानहरु ! हामी श्रमिक उत्सव मनाइरहेका छौँ । श्रमिक दिवसको शुभकामना !!

५) कमिलाको नियति भोगेर विराट नभको वैशिष्ट्यताले हैरान भएका सबै मजदुरहरूलाई मजदुर दिवसको उपलक्ष्यमा निष्ठुरी काठमाडौंको तर्फवाट शुभकामना !!

६) प्रत्यक्ष रूपमा गाँस, बास, कपासलाई नै जिन्दगीको सार्थक लक्ष ठानेका तर मुलुकको जिडिपी, आर्थिक वृद्धिदर, रेमिट्यान्स, विप्रेषण जस्ता शब्दसँग अनबिज्ञ सम्पूर्ण मजदुरहरूलाई ‘सुखी नेपाली समृद्ध नेपाल’को तर्फबाट शुभकामना !!!

७) न्याय, विकास र समानताको लागि मजदुरको झुपडीमा भीख मागेर देश र जनताको भविष्य मुठ्ठीभर कसेका गद्दी आसिनहरूको तर्फबाट दुःखी सिंहदरबारको शुभ(कामना !!

८) रोगभन्दा अगाडि त पेट नै आउने हो । धरती बन्द छ, संसार कैद छ, जीवनहरू कैदी छन्, बाटो खाली छ, गन्तव्य सुन्य छ । केवल बाटोभरी पोखिएका मजदुरहरूको रगत पसिना खुल्ला छ, भोक खुल्ला छ, वेदना खुल्ला छ, आकाश खुल्ला छ । सम्पूर्ण मजदुरहरूलाई खुल्ला आकाशको शुभकामना !!!

९) परिस्थितिका फरक–फरक स्वरूप हुन्छन् । सर्पले काँचुलीलाई बिर्सिरहेका हुन्छन् तर काँचुलीले सर्पलाई बिर्सन सक्दैनन। यहाँ जे हुन्छ त्यो देखिदैन, जे देखिन्छ त्यो हुँदैन पनि । यसरी नै चलिरहेको छ यहाँ– पानी हालेको मोहीभन्दा पनि पातलो मजदूर र मालिकको सम्बन्ध । तथापि, एक जिम्मेवार मजदूरको हैसियतले देश बनाउने जिम्मा तपाईंको । मजदुर दिवसको शुभकामना !

१०) श्रम प्यारो ठान्ने तर श्रम गर्दा निस्केको पसिना दुर्घन्धित मान्ने काठमाडौंले बन्दाबन्दीमा मजदूर भोकले छट्पटिँदा तिनिहरूकै पसिना र मिहिनेतको संचित खाना किन बाँडिचुँडि खान सकेन ? मजदूरकै श्रमले काठमाडौं बनेको कुरामा दूइ मत छैन । तर आज रोगले भन्दा भोकले रन्थनिएका क्रन्दनहरूलाई काठमाडौंले किन आश्रय दिन सकेन ? टेकेरै खिइएका लठ्ठीहरू, चप्पल खिइएर भुइँ छोएका कुर्कु्च्चाहरू, खुट्टामा उठेका फोकाहरू अनि समग्रमा काठमाडौंले पाल्न नसक्ने ‘श्रमिकहरू’लाई सिंहदरबार र बालुवाटारको चिम्लिएको आँखाबाट शुभकामना !

११) सिंहदरबार कसले बनाएको ? चन्द्र शमशेरले । धरहरा कसले बनाएको ? भीमसेन थापाले । गलत ! गलत !! गलत !!! यी सबै तिम्रा श्रम र पसिनाका उपजहरू हुन् । नपत्याय हेर त– ती भाग्य लेख्न खोजिरहेका हत्केलाहरू इँट्टाको धूलोले कोरिएको छ । नेपालको मानचित्र हेर त– धर्तीको कठोर वक्षमा सगबलाइरहेको तिम्रो जाँगर र साहस देखेर शिरको हिमाल मुस्कराइरहेको छ । धर्ती चिर्ने र आकाश च्यात्ने शक्ति संचित तिम्रा नङग्राहरूलाई श्रमिक दिवसको शुभकामना !!!

१२) अन्धकार छ त्यहाँ जहाँ आदित्य छैन
मुर्दा हो त्यो देश जहाँ श्रमको कदर छैन
मजदुर दिवसको शुभकामना !