न्यूयोर्कमा प्रहरीद्वारा वृद्ध व्यक्तिमाथि दुर्व्यवहार

न्यूयोर्कमा प्रहरीद्वारा वृद्ध व्यक्तिमाथि दुर्व्यवहार


संयुक्तराज्य अमेरिकामा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युको विषयलाई लिएर देशव्यापी आन्दोलन चलिरहँदा न्यूयोर्क प्रहरीले बिहीबारको प्रदर्शनमा सहभागी एक वृद्धमाथि गरेको दुर्व्यवहारलाई लिएर प्रहरीको सर्वत्र आलोचना हुन थालेको छ ।

डब्लुएफबीओले सार्वजनिक गरेको फुटेजमा न्यूयोर्कको बुफेलो प्रहरीका अधिकृतले ७५ वर्षीय एक वृद्ध व्यक्तिलाई नियागारा स्क्वाएरमा छातीमा धकेलेर भुइँमा लडाएको देखिएको छ । ती वृद्ध व्यक्ति सडकमा उत्तानो पर्छन्, टाउको भुइँमा बजारिन्छ र कान तथा टाउकाको पछाडिबाट रगत बगेको फुटेको देखिएको छ ।

तर नियागारा स्क्वाएरमा भेला भएका प्रदर्शनकारीलाई पन्छाउने क्रममा सहभागी प्रहरीको समूह उनलाई बेवास्ता गर्दै अगाडि बढेको देखिन्छ । यो भिडियो सार्वजनिक भएसँगै प्रहरीको व्यवहारलाई लिएर चौतर्फी आलोचना हुन थालेको छ । बुफेलो प्रहरीले भने एक व्यक्ति ठेस लागेर भुइँमा लडेको भनाई सार्वजनिक गरेको छ ।

प्रहरीले उक्त घटनाको छानबिन थालिसकेको जनाएको छ । उक्त घटनामा संलग्न दुई प्रहरीलाई निलम्बन गरिएको प्रहरी आयुक्तलाई उद्धृत गर्दै एपीले जनाएको छ ।

पश्चिम न्यूयोर्कका मेयर एन्ड्रु कुमोले वृद्ध व्यक्तिमाथि भएको व्यवहारबाट आफू अत्यन्त दुःखित भएको प्रतिक्रिया दिएका छन् । न्यूयोर्कको एक अस्पतालमा उपचार गराइरहेका ती वृद्ध व्यक्तिको स्वास्थ्य अवस्था “स्थिर” रहेको बताइएको छ ।

न्यूयोर्कका गभर्नर कुमोले वृद्ध व्यक्तिमाथि दुर्व्यवहार गर्ने प्रहरी अधिकारीको निलम्बनलाई स्वीकृत गरेका छन् ।