पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन–प्रतिदिन बढिरहेको भए पनि त्यहाँको सरकारले आगामी सोमबार (८ जुन) देखि लकडाउन खोल्ने भएको छ ।
प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रूपमा नै लकडाउनलाई खुकुलो बनाउने बताएका पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका हुन् ।
प्रधानमन्त्री खानले देशको अर्थतन्त्रलाई बचाउन लकडाउनलाई लामो समयसम्म जारी नराख्ने तर्क गर्दै लामो समयसम्म लकडाउन गरी राख्दा मध्यमवर्गीय तथा श्रमजीवी वर्गको अवस्था नाजुक बन्ने तथा देशको अर्थतन्त्रमा नराम्रो प्रभाव पर्ने धारणा राखे ।
पाकिस्तानका अधिकांश शहरहरूका साथै देशका प्रमुख केन्द्र तथा बजार–पसलहरू पनि खुल्ने जानकारी प्रधानमन्त्री खानले दिएका छन् ।
पाकिस्तानमा पछिल्लो समयमा ४ हजार ७३४ जना संक्रमित थपिएको शनिबार बिहान जानकारी दिइएको छ । पछिल्लो समयमा थपिएका संक्रमितसहित पाकिस्तानमा संक्रमितको संख्या ९३ हजारभन्दा बढी पुगेको छ ।
हालसम्म पाकिस्तानमा भाइरसबाट १९३५ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया