भारतमा कोरोना संक्रमण उत्कर्षमा, एकैदिन करिव दश हजार सङ्क्रमित

भारतमा कोरोना संक्रमण उत्कर्षमा, एकैदिन करिव दश हजार सङ्क्रमित


भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या बढ्दै गइरहेको छ । यतिबेला विश्वको पाँचौँ संक्रमित मुलुक बन्न पुगेको छ भारत ।

भारतका सरकारी अधिकारीहरुले आइतबार (७ जुन) सार्वजनिक गरेको विवरण अनुसार एकैदिनमा झण्डै दश हजार जना सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितहरुको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै रहेको जनाइएको छ ।

त्यसैगरी, गएको २४ घण्टामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या पनि २ सय ८७ रहेको बताइएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने विवरणमा पछिल्लो विवरणमा नै सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या दुई लाख ४६ हजार ६ सय २८ पुगेको छ ।

कुल सङ्क्रमितमध्ये एक लाख २० हजार ४०६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको, कुल मृतकको संख्या ६ हजार ९ सय २९ पुगेको र एक लाख १९ हजार २ सय ९३ जना सङ्क्रमण मुक्त भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतका सबै प्रदेशहरुमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा सङ्क्रमित भेटिएका छन्, जहाँ ८२ हजार ९ सय ६८ जना सङ्क्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै सङ्क्रमित भएको तमिलनाडु प्रदेशमा कुल ३० हजार १ सय ५२ जना सङ्क्रमित भएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म देशभरी कुल ४६ लाख ६६ हजार ३८६ जनाको कोरोना परिक्षण गरिएको जनाएको छ । तीमध्ये एक लाख ४२ हजार ६९ जनाको पछिल्लो २४ घण्टाभित्र परीक्षण गरिएको थियो ।