जो बाइडेन डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार निश्चित

जो बाइडेन डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार निश्चित


अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति पदको आगामी निर्वाचनमा आफूलाई डेमोक्र्याटिक पार्टीबाट औपचारिक मनोनयन हुन आवश्यक प्रतिनिधिसंख्या (डेलिगेट्स) पुगेको घोषणा गरेका छन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा उनको प्रतिस्पर्धा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ ।

ट्वीटरबाट आफ्ना मतदाता र समर्थकलाई सम्बोधन गर्दै पूर्व उपराष्ट्रपति बाइडेनले डेमोक्र्याटिक पार्टीको मनोनयनका लागि आवश्यक एक हजार ९९१ जना प्रतिनिधि संख्या आफूलाई प्राप्त हुने सुनिश्चित भएको बताए । गत मंगलबार सम्पन्न डेमोक्र्याटिक पार्टीको चुनावमा आफूलाई पार्टीका तर्फबाट मनोनयनमा पर्न आवश्यक संख्या प्राप्त भएको बताउँदै उनले अब मुलुकको सर्वोत्तम हितका लागि राष्ट्रपति पदको औपचारिक चुनावी यात्रामा निस्कने जानकारी दिए ।

गत अप्रिलमै राष्ट्रपति पदको दौडमा रहेका अर्का प्रत्यासी भर्मन्टका सिनेटर बर्नी स्यान्डर्सले चुनावी दौड परित्याग गरेका थिए । उनले पनि जो बाइडेनलाई समर्थन गरिसकेका छन् ।

अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्योयडको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि देशव्यापी प्रदर्शन र हिंसाबीच नै डेमोक्र्याटिक पार्टीको प्राइमरी चुनाव सम्पन्न भएको थियो । फ्योयडको निधनप्रति बाइडेनले अहिले अमेरिकी इतिहासमै कठिन मोडमा उभिएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको विभाजनकारी, क्रोधी राजनीतिको कुनै जवाफ नभएको प्रतिक्रिया दिए ।

उनले भनेका छन्,’संयुक्तराज्य अमेरिका अहिले वैकल्पिक नेतृत्व खोजिरहेको छ, त्यस्तो नेतृत्व जसले हामीलाई एकताबद्ध गर्न सकोस् ।’

प्रदर्शनकारीका सम्बन्धमा बाइडेनको प्रतिक्रिया ट्रम्पको भन्दा विल्कुलै भिन्न छ । ट्रम्पले प्रदर्शन नियन्त्रणका लागि अमेरिकी नागरिक विरुद्ध नै सैनिक परिचालन गर्ने धम्की दिएका थिए ।

कोरोनाभाइरसका कारण मध्य मार्चदेखि आफूखुशी एकान्तबासमा रहेका ७७ वर्षीय बाइडेनले आफू ह्वाइट हाउसमा निर्वाचित भए ‘प्रणालीगत नश्लियवाद’मा व्यापक परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एएफपीका अनुसार बाइडेनले भनेका छन्, ‘अहिले हरेक अमेरिकी नागरिक हामीलाई समन्याय चाहिएको छ, र समान अवसर । हामीलाई मद्दत गर्ने राष्ट्रपति अहिलेको चाहना हो ।’

बाइडेनका सामुन्ने अहिले उपराष्ट्रपति छान्ने चुनौती छ । उनले यसअघि नै आफूले महिलालाई उपराष्ट्रपति पदमा मनोनयन गर्ने बताइसकेका छन् ।

क्यालिफोर्नियाकी पूर्व महान्यायाधीवक्ता ५५ वर्षीया सिनेटर कमला ह्यारिसलाई बाइडेनले उपराष्ट्रपतिमा छनौट गर्ने सम्भावना रहेको छ । जमैकाली–भारतीय मूलकी सिनेटर ह्यारीस डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको सम्भावित उम्मेदवार पनि ठानिएको थियो तर गत डिसेम्बरमा उनले उम्मेदवारी त्यागेकी थिइन् ।