कुकुरले लखेट्दा इनारमा खसेका बेलायती नागरिकको ६ दिनपछि उद्धार

कुकुरले लखेट्दा इनारमा खसेका बेलायती नागरिकको ६ दिनपछि उद्धार


इन्डोनेसियाको बालीमा कुकुरले लखेटेर भाग्ने क्रममा इनारमा फसेका बेलायती नागरिकको ६ दिनपछि सकुशल उद्धार गरिएको छ ।

२९ वर्षीय याकोब रोवट्र्स चार मिटर गहिरो इनारका लागि खनिएको खाल्डोमा फसेको अवस्थामा देखेपछि एक एथानीय किसानले उद्धारका लागि गाउँलेलाई खबर गरेका थिए ।

गाईलाई घाँस दिन जाँदा एक विदेशीले सहयोगका लागि याचना गरेको सुनेका किसानले गाउँले र प्रहरीलाई घटनाबारे जानकारी गराएपछि रोवट्र्सको उद्धारका गर्न उद्धार टोली त्यहाँ पुगेको उद्धार टोलीका प्रमुख इण्डोनेशियाली अधिकारी गेडे दर्मादालाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

भाग्ने क्रममा खाली इनारमा खस्दा रोबट्र्सको खुट्टा भाँचिएको बताइएको छ । रोबट्र्सले इन्डोनेसियाली अधिकारीसँग गाउँबाट आएको एउटा कुकुरले भुक्दै खेद्न थालेपछि कुकुरलाई छलेर भाग्ने क्रममा इनारमा खसेको बताएका छन् ।

शनिबार इनारबाट निकाल्दा रोबट्र्स निकै थकित, दुब्लो र घाइते देखिएका साउथ कुटाको प्रहरी प्रमुख युसाक अगस्टिनस सुआईले बताएका छन् ।

रोबट्र्सलाई उद्धारपछि उपचारका लागि अस्पतालमा लगिएको छ ।