विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका कारण आइतबार (७ जुन) सम्ममा विश्वभर चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने ६९ लाख १६ हजार २३३ जना सङ्क्रमित भएका छन् ।
जोन अकिन्स विश्वविद्यालयद्वारा उपलब्ध पछिल्लो विवरण अनुसार विश्वभर चार लाख दुई हजार ६९४ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी एक लाख नौ हजार ८०२ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ भने १९ लाख २० हजारभन्दा बढी सङ्क्रमित रहेका छन् ।
सङ्क्रमणका हिसाबले दोस्रो धेरै सङ्क्रमित ब्राजिलमा ६ लाख ७२ हजार ८४६ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ब्राजिलमा आइतबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३५ हजार ९३० पुगेको बताइएको छ ।
त्यसैगरी रूसमा चार लाख ६७ हजार ७३ र बेलायतमा दुई लाख ८६ हजार व्यक्ति सङ्क्रमित भएका छन् । बेलायतमा कोभिड–१९ सङ्क्रमित ४० हजार ५४८ व्यक्तिको मृत्यु भएको छ । अहिलेसम्म कोभिड–१९ सङ्क्रमित दोस्रो धेरै व्यक्तिको मृत्यु हुने मुलुक बेलायत भएको छ । रूसमा सङ्क्रमितको सङ्ख्या धेरै देखिए पनि मृत्यु दर अन्य ठूला देशको तुलनामा निकै कम देखिएको छ, अर्थात् पाँच हजार ८५९ व्यक्तिको मृत्यु भएको छ ।
यसैबीच कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्याका आधारमा भारत बढी प्रभावित मुलुकहरू इटाली र स्पेनभन्दा अघि आएको छ । भारतमा आइतबारसम्म दुई लाख ४७ हजार ६७८ व्यक्ति सङ्क्रमित भेटिएका छन् भने करिब १० हजार व्यक्तिको मृत्यु भएको छ ।
कोरोनाप्रभावित मुलुकहरूको सूचीमा भारत पाँचौ स्थानमा
भारत कोरोनाभाइरस प्रभावित मुलुकहरूको सूचीमा पाँचौँ स्थानमा पुगेको छ । हालसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५३ हजार ३२९ भन्दा बढी छ भने पाँच हजार ९ सय ८८ जनाको कोरोना सङ्क्रमणपछि मृत्यु भइसकेको छ ।
सबैभन्दा कम प्रभावित दक्षिण एसियाली मुलुक भुटान रहेको छ । भूटानमा आइतबारसम्म ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यहाँ हालसम्म कोरोनाका कारण कसैको निधन भएको छैन ।
दक्षिण एशियामा दोस्रो बढी प्रभावित मुलुक पाकिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या ९८ हजार ९४३ पुगेको छ भने दुई हजार दुई जनाले ज्यान गुमाएका छन् । बंगलादेशको अवस्था पनि डरलाग्दो छ ।
त्यस्तै, बङ्गलादेशमा ६५ हजार ७६९ व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ८८८ जनाको मृत्यु भएको छ । यसैगरी अफगानिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ३४२ पुगेको छ भने ३५७ जनाले ज्यान गुमाएका छन् । दक्षिण एसियामा अफगानिस्तानपछि कोरोनाबाट बढी प्रभावित मुलुकको सूचीमा नेपाल रहेको छ ।
हालसम्म नेपालमा तीन हजार ४४८ जनामा कोरोना पुष्टि भएको छ भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । यस्तै माल्दिभ्समा अहिलेसम्म एक हजार ९०१ जनामा कोरोना देखिँदा ८ जनाको मृत्यु भएको छ । श्रीलंकामा एक हजार ८१९ सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया