पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित भएका एक सयभन्दा बढी व्यक्तिको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको छ । गत मार्च महिनादेखि जारी आंशिक लकडाउनको अवधिमा भएको मृत्युको यो संख्या सबैभन्दा ठूलो रहेको पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
मंगलबार (९ जुन) सम्ममा पाकिस्तानमा कोरोना भाइरसबाट एक लाख ८ हजार ३१६ जना संक्रमित भएका छन् भने कूल मृत्यु हुनेको संख्या दुई हजार १७२ पुगेको छ ।
स्वास्थ्य विज्ञ एवं विपक्षी राजनीतिज्ञहरुले निरन्तर आलोचना गरे पनि प्रधानमन्त्री इमरान खानले लकडाउनका प्रतिबन्धहरु निरन्तर खुकुलो बनाएका छन् । पूर्ण लकडाउनबाट मुलुकको अर्थतन्त्र धरासायी हुने बताउँदै उनले यसबाट २२ करोड पाकिस्तानी जनताको जीवनयापनमा ठूलो संकट आउने चेतावनी दिएका एपीले जनाएको छ ।
पाकिस्तानमा गरिबीको स्तर करिब ३० प्रतिशत छ, अर्थात् उनीहरुको दैनिक आय १.९० डलरभन्दा कम छ । पाकिस्तानमा सामाजिक दूरी कायम गर्ने तथा मास्क लगाउनुपर्ने नियम भए पनि धेरैले यसलाई बेवास्ता गरिरहेका छन् ।
कोरोनाबाट विश्वमा ४ लाख ८ हजार ९७५ बढीको मृत्यु
कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ८ हजार ९७५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७२ लाख १० हजार १९६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
नेपाली समयानुसार मंगलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३५ लाख ५० हजार ५५९ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख ५० हजार ६६२ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ७८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख २६ हजार ५९७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १३ हजार ६१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ११ लाख ७६ हजार ५८४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५१ हजार ३३७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ७ हजार ३०१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३६ हजार ७७१ जनाको मृत्यु भएको छ ।
युरोपमा २१ लाख १८ हजार २१६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७९ हजार ५६८ को मृत्यु भएको छ । एसियामा १३ लाख ९९ हजार ४०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३५ हजार ७७० जनाको मृत्यु भएको छ ।
अफ्रिकामा १ लाख ९९ हजार ७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार ३९० जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया