कोभिड-१९ बाट अमेरिकामा आगामी सेप्टेम्बरसम्ममा दुई लाखको मृत्यु हुने प्रक्षेपण

कोभिड-१९ बाट अमेरिकामा आगामी सेप्टेम्बरसम्ममा दुई लाखको मृत्यु हुने प्रक्षेपण


अमेरिकामा आगामी सेप्टेम्बरसम्ममा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या दुई लाखसम्म पुग्न सक्ने आँकलन गरिएको छ ।

हार्वर्ड ग्लोबल हेल्थ इनिसियटिभका प्रमुख आशिष झाले अमेरिकी टिभी च्यानल सिएनएनलाई दिएको अन्तरवार्तामा यदि अब सङ्क्रमणका नयाँ केस तीव्र रूपमा नआए पनि सेप्टेम्बर महिनामा अमेरिकामा मृत्यु हुने मानिसको सङ्ख्या दुई लाख पुग्ने बताएका हुन् ।

जो हपकिन्स युनिभर्सिटीको तथ्याङ्कअनुसार अमेरिकामा कोरोनासङ्क्रमित मानिसको सङ्ख्या हालसम्म २० लाखभन्दा ज्यादा पुगिसकेको छ भने एक लाख १३ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

अमेरिकाले गत बुधबारदेखि लकडाउन पनि खुकुलो तुल्याइसकेको छ । आशिष झाले यसमाथि पनि चिन्ता जनाएका छन् । कोरोना सङ्क्रमणको नयाँ मामलामाथि नियन्त्रणअघि नै अमेरिकाले लकडाउन खोल्नु गल्ती भएको उनको तर्क छ ।

उनले यो पनि भनेका छन् कि कोरोना भाइरसबाट हुन सक्ने अधिकांश मृत्युलाई परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङ, सोसल डिस्टेन्सिङ एवम् मास्कको प्रयोग जस्ता उपायहरूबाट रोक्न सम्भव थियो ।

यसैबीच प्राप्त पछिल्लो तथ्याङ्कअनुसार कोरोनाका कारण हालसम्म विश्वभर मृत्यु हुनेको सङ्ख्या ४ लाख १८ हजार नाघेको छ भने ७४ लाख ४२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् ।